हात्ती नियन्त्रण गर्न इटहरी उपमहानगरले पर्खाल लगाउँदै – Nepal Press

हात्ती नियन्त्रण गर्न इटहरी उपमहानगरले पर्खाल लगाउँदै

विराटनगर । मंसिरको पहिलो हप्ता भारतबाट नेपाल छिरेका जङ्गली हात्ती अहिले पनि फर्किएका छैनन् । जङ्गली हात्ती भारततर्फ नफर्किँदा कोशी प्रदेशका सुनसरी मोरङ र झापामा विभिन्न स्थानमा धन जनको क्षति भइरहेको छ । गत मंसिर १३ गते इटहरी २ का रबिन खड्काको हात्ती आक्रमणबाट ज्यान गयो । त्यसको केही दिन पछि मोरङको सुन्दर हरैचामा अर्का एक जनालाई हात्तीले आक्रमण गरेर ज्यान लियो ।

कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयका अनुसार मंसिर यता मात्रै कोशी प्रदेशमा हात्तीले ६ जनाको ज्यान लिइसकेको छ । किसानले लगाएको अन्नबालीमा हात्तीले पुर्याएको क्षतिको विवरण नै सङ्कलन भइसकेको छैन ।

जङ्गली हात्तीका कारण अहिले इटहरीमा मात्र नभई कोशी प्रदेशका झापा,मोरङ र सुनसरीमा हात्ती आतङ्क छ । हात्तीले आतङ्क मच्चाउन थालेपछि इटहरी उप महानगरले भने हात्ती नियन्त्रणका लागि पर्खाल लगाउने काम सुरु गरेको छ । उपमहानगरले तत्काल हात्तीको आक्रमणबाट जोगाउन साइरन जडान,लाइट व्यवस्थापन गरी सबैभन्दा बढी हात्ती प्रभावित इटहरी वडा नम्बर २ नं वडा पूर्व ६ फिट अग्लो पर्खाल बनाउने कार्य सुरु गरेको छ ।

हात्ती निमन्त्रणका लागि ६ फिट अग्लो पर्खाल लगाउन थालिएको मेयर हेमकर्ण पौडेलले बताए । उनका अनुसार इटहरी–धरान सडक खण्डको तरहरास्थित पानीपियादेखि इटहरी २ प्रवेश गर्ने हात्ती चोकसम्म क्षेत्रीय कृषि अनुसन्धान निर्देशनालयको जमिनमा पर्ने क्षेत्रमा ६ फिट अग्लो पर्खाल सुरु गरिएको हो ।

यसै गरी हात्ती चोक पूर्व सेरा खोलासम्मको क्षेत्रमा उपमहानगरपालिकाको सहयोगमा खाडल खन्ने काम समेत धमाधम भइरहेको छ । यस अघि नै उपमहानगरपालिकाले हात्ती प्रभावित क्षेत्रमा हात्ती भगाउन साइरन जडान र बत्ती जडान गर्ने काम भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *