हट एयर बेलुनलाई ९ हजार फिटमाथि उड्ने अनुमति, विमानस्थलको टावर फ्रिक्वेन्शीबाट मनिटरिङ हुने – Nepal Press

हट एयर बेलुनलाई ९ हजार फिटमाथि उड्ने अनुमति, विमानस्थलको टावर फ्रिक्वेन्शीबाट मनिटरिङ हुने

काठमाडौं । हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ ।

यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपासको दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो देख्न पाउने बेलुन नेपालका अध्यक्ष विक्रम बाडे बताए ।

पोखराको लौरुकदेखि चंखपुर क्षेत्रमा पोखरा अन्तराष्ट्रिय विमानस्थलको टावर फ्रिक्वेन्शी निरन्तर मनिटरिङ गरी उडान गर्न नेपाल सरकार, मन्त्रीस्तरको निर्णय अनुसार अनुमति प्रदान गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटीसी अधिकृत मुकेशले डंगोलले बताए ।

उडान स्थलको प्राविधिक जाँच र हाल उडानमा रहेको बेलुनको उत्पादक कम्पनीको फ्लाइट म्यानुअल समेतको अध्ययनपछि अनुमति प्राप्त गरेको बाडेले बताए ।

तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो हट एयर बेलुन । नेपालमा पोखरामा मात्रै सञ्चालित हट एयर बेलुन साहसिक पर्यटनका पारखीको आकर्षण बनेको छ ।

बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’ भित्र पङ्खाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ । तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्दछन् ।

आधा घन्टा उडानको नेपाली पर्यटकले ९५०० सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । ३ देखि ९ वर्षका बालबालिकाहरूका लागि प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क कायम गरिएको छ ।

भारतीय तथा सार्क मुलुकका नागरिक र अन्य देशका नागरिकका लागि फरक शुल्क रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर