कीर्ते नागरिकताबाट दुईवटा बैंक खाता, चेक बाउन्सपछि खुल्यो अपराध – Nepal Press

कीर्ते नागरिकताबाट दुईवटा बैंक खाता, चेक बाउन्सपछि खुल्यो अपराध

काठमाडौं । एक व्यक्तिले कीर्ते नागरिकताबाटै दुईवटा बैंकमा खाता खोलेको खुलेको छ । कामना विकास बैंक र सांग्रिला विकास बैंकमा एउटै व्यक्तिले फरक फरक नागरिकता पेश गरेर खाता खोलेका हुन् ।

मकवानपुरको बागमती गाउँपालिका-२ घर भई हाल काठमाडौंको सिनामंगल बस्दै आएका विनोद पौडेलले कन्चनपुर जिल्लाबाट जारी भएको देखाइएका दुईवटा नागरिकता पेश गरेर ती बैंकमा खाता खोलेका हुन् ।

प्रहरीका अनुसार २०६६ चैत १७ गते जारी मिति राखिएको नागरिकतामा आफ्नो नाम विनय पौडेल र बाबुको नाम रामनाथ पौडेल राखिएको थियो भने २०६३ चैत ५ गते जारी मिति राखिएको अर्को नागरिकतामा आफ्नो नाम विनय पौडेल र बाबुको नाम रवीन्द्रप्रसाद पौडेल राखेको नागरिकता पेश गरेर बैंकमा खाता खोलेका थिए ।

ती बैंकबाट जारी भएका बाउन्स भएपछि प्रहरीदेखि बैंकसम्मले कीर्ते नागरिकताबारे चाल पाएका हुन् ।

यसरी खुल्यो रहस्य

प्रहरीका अनुसार विनोदले कामना विकास बैंकको ५ लाखको चेक निशान्त आचार्यलाई काटेका थिए । सांग्रिला विकास बैंकको २ लाखको चेक निशान्त आचार्य र २ लाख ३४ हजारको चेक हरिचचन्द्र कुमाललाई काटेका थिए ।

तर बैंकमा मौज्दात नभएको पाइएपछि निशान्तले बाउन्स गरेर काठमाडौं प्रहरी परिसरमा उजुरी दिए । परिसरले २ लाखको चेक बाउन्सको आवश्यक अनुसन्धानका लागि गौशाला प्रहरी वृत्तलाई पठायो । गौशालाले विनोदलाई पक्राउ गरेर विनय पौडेल नाममा चेक काट्ने व्यक्ति आफै भएको स्विकार गरेपछि प्रहरीले उनका एकभन्दा बढी नागरिकताबारे चाल पाएको थियो ।

त्यसबारे सम्बन्धित जिल्ला प्रशासनसँग बुझ्दा त्यस्तो नागरिकता जारी नभएको जवाफ पाएपछि प्रहरी झस्किएको थियो । प्रहरी अनुसन्धानमा निशान्तले त्यतिबेला ४ लाख रुपैयाँ मात्र लिएर विनोदसँगको केस मिलाएका थिए ।

विनोदले नागरिकता बनाइदिएको भन्दै पोलेपछि निशान्त पनि पक्राउ

प्रहरीले यो प्रकरणमा निशान्तलाई पनि पक्राउ गर्यो । विनोदले आफुलाई दुवै नागरिकता निशान्तले बनाइदिएको बताएपछि प्रहरीले काभ्रेको पनौतीका आचार्यलाई पनि पक्राउ गरेको छ । विनोदका अनुसार उनी १४ वर्ष नयाँ बानेश्वरको एक सहकारीमा काम गरेर पछिल्लो समय व्यवशायतर्फ हात हालिरहेका थिए। त्यहीक्रममा आचार्यसँग उनको भेट भएको थियो ।

आचार्यकै सल्लाहमा विभिन्न बैंकमा खाता खोल्ने र ऋण लिएर चेक दिने कुरा भएको विनोदले बयानमा उल्लेख गरेका छन् । उनले आफुले फोटो दिएपछि निशान्तले दुईवटा नागरिकता ल्याएर थमाएको दावी गरेका छन् ।

निशान्तले बागबजारस्थित पसलमा ती नागरिकता बनाएको र पछि निशान्त र हरिचन्द्रसँग लिएको ऋण तिर्न आफूले ती बैंकको चेक दिएको उनको भनाइ छ । यता आफ्नै कारणले कीर्ते नागरिकताबारे खुलेको कारण विनोदले आफूविरुद्ध आरोप लगाएको आचार्यले दाबी गरेका छन् ।

निशान्तले आफू ९ वर्षदेखि सिनामंगलमा बिजुली पसल सन्चालन गरिरहेको उल्लेख गरेका छन् । ३ वर्षअघि विनोदसँग चिनजान भएको र पछिल्लो समय उनी चामलको व्यवशाय सुरु गर्न लागेको तथा सहकारीमा लगानी गर्नेबारे आफुसँग कुराकानी पनि गर्ने गरेको बताएका छन् ।

२०८० असारमा उनले चामल ल्याउनकै लागि २ लाख रुपैयाँ ऋण दिएको उल्लेख गरेका छन् । त्यतिबेला विनय पौडेल आफ्नो दाजु हो भनेर विनोदले उनको नामको चेक दिएको आचार्यको भनाइ छ । पछि फेरि २ लाख रुपैयाँ ऋण मागेपछि आफुले दिएको बयानमा उल्लेख गरेका छन् । तर विनय पौडेल भन्ने मान्छे फेला नपरेपछि र खातामा प्रयोग भएको नम्बर पनि अर्कै व्यक्तिको परेपछि आफु ठगिएको महसुस गरेको आचार्यको भनाइ छ ।

आचार्य र पौडेल दुवैविरुद्ध लिखत सम्बन्धी कसूर गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर