चौधरी घरानामाथिको धरपकडप्रति अर्थमन्त्री असन्तुष्ट, लगानी सम्मेलन प्रभावित हुने चिन्ता – Nepal Press

चौधरी घरानामाथिको धरपकडप्रति अर्थमन्त्री असन्तुष्ट, लगानी सम्मेलन प्रभावित हुने चिन्ता

अरुण चौधरी पक्राउसँगै लगानी सम्मेलनमा भारतको अदानी र अम्बानी ग्रुपको सहभागिता अनिश्चित भएको दाबी

काठमाडौं । उद्योगपति अरुणकुमार चौधरीलाई करिब ४० वर्षअघिको निजीकरणसम्बन्धी अनुसन्धानमा पक्राउ गरिएकोमा सरकारभित्रै असन्तुष्टि बढेको छ । लगानी सम्मेलनको मुखैमा प्रतिष्ठित व्यापारिक घरानामाथि गृहमन्त्रालयले सीआइबीमार्फत धरपकड गरेको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आपत्ति जनाएका छन् ।

महतले गृहमन्त्रीसँग समेत असन्तुष्टि पोखेको र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको निकट स्रोतले जनाएको छ । डा. महतले कांग्रेस सांसदसमेत रहेका अरुण चौधरीका दाजु विनोद चौधरीसँग पनि उनको परिवारका सदस्यमाथि भएको धरपकडबाट आफू दुःखी भएको बताएका छन् ।

महतले औपचारिकरूपमा चौधरीको धरपकडबारे बोल्न चाहेका छैनन् । आजै कांग्रेस संसदीय दलको बैठकमा यसबारेमा छलफल हुने भएको छ । केही सांसदले योजनाबद्धरूपमा भएका धरपकडबारे दलको बैठकमा कुरा उठाउने तयारी गरिरहेको बुझिएको छ ।

आजको बैठकमा विनोद चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको निजीकरणदेखिका सबै प्रक्रियाहरूको बारेमा जानकारी गराउने र आफूहरूमाथि योजनाबद्धरूपमा हमला गरेको विषयमा दलका नेता शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने भएका छन् ।

स्रोतकाअनुसार लगानी सम्मेलनको मुखैमा देशको प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घरानामाथि सरकारले धरपकड गर्दा वातावरण बिग्रने भन्दै अर्थमन्त्री महतले चिन्ता व्यक्त गरेका छन् । चौधरी ग्रुपसँगै मिलेर कतिपय विदेशी लगानीकर्ताले लगानी सम्मेलनमा सहभागी भई नेपालको पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउने तयारीमा थिए ।

अरुण चौधरीको धरपकडपछि भारतको प्रतिष्ठित व्यापारिक घरानाका गौतम अदानी र अम्बानी समूहको सहभागिता लगानी सम्मेलनमा अनिश्चित भएको सीजी स्रोतले जनाएको छ । उनीहरूले नेपालको नागरिक उड्डयन क्षेत्रमा समेत लगानी गर्ने चासो राखेका थिए ।

अर्थमन्त्रीको टीमका एक सदस्यले भने ‘अरुण चौधरी आफैं दुई ठूला तारे होटल निर्माण गरिरहेका छन् । ५/७ अर्बका लगानीमा काम गरिरहेका छन् । उनी भागेर जाने व्यक्ति पनि होइनन् । ४० वर्षअघिका केसमा अहिले अनुसन्धान गर्दा बोलाएर बयान लिएको भए पनि हुने कुरामा धरपकड गरेर उनीहरूको बदनाम गर्ने र राजनीतिक स्टन्ट देखाउने काम भएको छ, यसले बन्दै गएको लगानीको वातावरण बिग्रने चिन्ता भयो ।’

अर्थमन्त्रीलाई असफल बनाउने डिजाइनअनुसार गृहमन्त्रालयबाट पटकपटक खेलाँची भइरहेको आरोप उनीहरूको छ ।


प्रतिक्रिया

2 thoughts on “चौधरी घरानामाथिको धरपकडप्रति अर्थमन्त्री असन्तुष्ट, लगानी सम्मेलन प्रभावित हुने चिन्ता

  1. सरकारी जग्गा चोर्नेलाई पक्रिदा भाँडिने लगानी सम्मेलन कस्तो ? यी काँग्रेसहरू देश लुटाहा हुन् । यिनको ध्यान बै कसरी देश लुटने भन्नेमा मात्र छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *