गृहमन्त्रीको आक्रोश- अपराध गर्ने उद्योगीलाई कारबाही गर्न खोज्दा वक्तव्यबाजी सुरू हुन्छ, दबाब दिन्छन् – Nepal Press

गृहमन्त्रीको आक्रोश- अपराध गर्ने उद्योगीलाई कारबाही गर्न खोज्दा वक्तव्यबाजी सुरू हुन्छ, दबाब दिन्छन्

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको पक्षमा रहेकाले कसैको दबाबमा नपर्ने प्रष्ट्याएका छन् । पोखरामा सुरू गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै नेता, कर्मचारी उद्योगी जो भएपछि गल्ती गर्नेलाई सरकारले कारबाही गर्ने प्रतिवद्धता जनाए ।

श्रेष्ठले भने, ‘लुटमा संलग्न भएको कोही राजनीतिक पृष्ठभूमि भएको मान्छे समात्यो भने नेताहरू कराउन थाल्छन्- हाम्रो पार्टी र गठबन्धन हो, प्रतिपक्षको हो भनेर त्यसरी अब चल्दैन । कर्मचारीले गल्ती गर्दा कारबाही गर्‍यो भने कर्मचारी संगठन बोल्न थाल्छन् ।’

निजी क्षेत्रको सहयोगविना नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउन नसकिँने बताउँदै गल्ती गर्ने उद्योगीलाई पक्राउ गर्दा व्यक्तव्यबाजी गर्नुको अर्थ नभएको उनको भनाइ छ ।

बिहीबार गृहमन्त्री श्रेष्ठको निर्देशनमा काठमाडौंको बाँसबारीमा सरकारी जग्गा हडपेको आरोपमा सीआईबीले अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । चौधरी कांग्रेस सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका भाइ हुन् ।

त्यही प्रसंग लक्षित गर्दै गृहमन्त्रीले भने, ‘उद्योगी व्यवसायी पनि अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरू हुन्छ, दबाब सुरू हुन्छ । उद्योग व्यवसायीलाई यसो गर्न भएन नि ! हामीले कर तिरेका छौं, अर्थतन्त्र धानेका छौं भन्छन् । हामीले भनेकै छौं त निजी क्षेत्रको सहयोगविना नेपालको अर्थतन्त्रलाई सकरात्मक दिशामा लैजान सकिन्न । तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न ।’

उनले दबाब, हस्तक्षेपको प्रक्रिया भइरहे देशलाई फेर्न नसकिने उल्लेख गर्दै राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका सबैलाई संविधान, ऐन कार्यन्वयन गर्न, लोकतन्त्रको प्रत्याभूति दिन र आफ्नो कर्तव्य निर्वाह दृढतापूर्वक उभिन निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर