सवारी दुर्घटनाको डरलाग्दो आँकडा- ६ महिनामा एक हजारभन्दा बढीको मृत्यु – Nepal Press

सवारी दुर्घटनाको डरलाग्दो आँकडा- ६ महिनामा एक हजारभन्दा बढीको मृत्यु

४५ प्रतिशत सवारी दुर्घटना काठमाडौं उपत्यकामा

काठमाडौं । पछिल्लो ६ महिनाको अवधिमा मात्रै देशभरमा सवारी दुर्घटनामा परेर मात्रै एक हजार भन्दा बढीको मृत्यु भएको छ । चालू आर्थिक वर्ष २०८०–०८१ को गत साउनदेखि पुस मसान्तसम्म देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर एक हजार १३७ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयलले जनाएको हो ।

तीमध्ये ८५४ जना पुरूष, २०९ जना महिला, ५० जना बालक र २४ जना बालिका रहेका छन् । साथै ती दुर्घटनामा परी १६ हजार ३३५ जना घाइते भएका नेपाल प्रहरीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) भिमप्रसाद ढकालले जानकारी दिए । उनकमा अनुसार घाइतेमध्ये ३ हजार २१३ जना गम्भीर र १३ हजार १२२ जना सामान्य घाइते भएका थिए । सडक विस्तार, कतिपय स्थानमा सडक मर्मत र गाडी थपिदै गईरहेको अवस्थाले गर्दा दुर्घटना निम्त्याउने गरेको प्रवक्ता ढकालले बताए ।

प्रहरी प्रधान कार्यालयका अनुसार यसै अवधिमा देशभर १२ हजार ८५६ वटा सवारी दुर्घटना भएका थिए । जसमध्ये काठमाडौं उपत्यकामा सबैभन्दा बढी पाँच हजार ८६५ वटा, मधेश प्रदेशमा ३ हजार १९० वटा, कोशी प्रदेशमा एक हजार ६३९ वटा सवारी दुर्घटना भएका छन् । यस्तै बागमती प्रदेशमा ७०६ वटा, लुम्बिनी प्रदेशमा ६०६ वटा, कर्णाली प्रदेशमा ४९५ वटा, गण्डकी प्रदेशमा १९५ वटा र सुदूरपश्चिम प्रदेशमा १६० वटा सवारी दुर्घटना भएका छन् ।

जम्मा दुर्घटनाको ५४ प्रतिशत दुर्घटना मोटरसाइकल, दोस्रोमा जिप तथा कार

सबैभन्दा बढी ११ हजार ४० वटा मोटरसाइकल, ४ हजार ६२५ वटा जिप तथा कार, एक हजार ४९६ वटा बस, ८७४ वटा ट्रक तथा ट्याङकर, ७९९ वटा शारीरिक शक्तिले चल्ने, ७४१ वटा टेम्पो दुर्घटनामा परेका थिए । यस्तै ३२४ वटा ट्याक्टर, २९४ वटा माइक्रोबस, २१३ वटा टिपर, ३५ वटा डोजर, लोडर तथा स्काभेटर र ५८ वटा अन्य गरी जम्मा २० हजार ४१९ वटा सवारी साधन दुर्घटनामा परेका थिए । दुर्घटनामा १० हजार ३५३ वटा सवारी साधन क्षति भएका छन् । तथ्याङ्क विश्लेषण गर्दा सबै भन्दा बढी दुर्घटना काठमाडौं उपत्यकामा र सबै भन्दा कम सुदूरपश्चिम प्रदेशमा भएका थिए भने सबै भन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् ।

तीव्र गतीमा गुड्ने सवारी साधन बढी दुर्घटना

दुर्घटनामा पर्नेमा विविध कारण भए पनि तीव्र गतीमा गुड्ने सवारी साधन बढी दुर्घटनामा परेको प्रहरी प्रवक्ता डीआईजीपी ढकालले बताए । उनका अनुसार यसै अवधिमा तीव्र गतिको कारण ५ हजार ६४० वटा, बाटो काट्दा यात्रुको कारण ७५६ वटा, मापसे ६९४ वटा, ट्राफिक नियम उल्लंघन ५७४ वटा, सवारी चालक अनुमतिपत्र प्राप्त नभएका ४६० वटा, ओभरटेक ३५३ वटा लगायत रहेका छन् । ओभरलोड, ब्रेकफेल, मोबाइल फोन प्रयोग, यान्त्रिक गडबडी, झुण्डीएर यात्रा जस्ता प्रमुख कारणलेसमेत सवारी दुर्घटना भएका प्रवक्ता ढकालले बताए । साथै जीर्ण सडक, कच्ची सडक, उकालो ओरालो, साघुँरो सडक, हुस्सु कुहिरो, बाढि पहिरो र चौपायको कारणसमेत दुर्घटना हुने गरेको छ ।

सबैभन्दा बढी दुर्घटना दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म

यसै अवधिमा बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म ३ हजार ४७ वटा, दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म ४ हजार ९५९ वटा, साँझ ६ बजेदेखि राति १२ बजेसम्म ४ हजार २६१ वटा र राति १२ बजेदेखि बिहान ६ बजेसम्म ५८१ वटा दुर्घटना भएका छन् । आठ वटा दुर्घटनाको समय खुल्न नसकेको जनाइएको छ । दुर्घटना बढी हुने समयमा ट्राफिक चेकिङको संख्या थप गरिने गरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले भने, ‘दुर्घटनाबाट हुने क्षति गम्भीर छ । यसको न्यूनीकरणको लागि ट्राफिक प्रहरीले बढी दुर्घटना हुने स्थानमा चेकिङ बढाउने र सचेतनामूलक चिन्ह राख्ने लगायतका काम निरन्तर रूपमा गरिरहेको छ ।’

प्रहरी प्रवक्ता डीआईजीपी ढकालले भने, ‘नेपाल प्रहरीले ट्राफिक चेकिङलाई तीव्र बनाउने, सवारी नियम पालना गराउन सचेतनामूलक कार्यक्रम संचालन गर्ने, नियम उल्लंघन गर्ने सवारी चालकलाई कारवाही तथा जरिवाना गर्ने गरेको छ । दुर्घटनाबाट हुने जनधनको क्षतिबाट गम्भीर असर पर्छ । त्यसैले दुर्घटना न्यूनिकरणको लागि नेपाल प्रहरीले कडाईका साथ ट्राफिक व्यवस्थापनमा जोड दिँदै आएको छ ।’ यसले ट्राफिक सम्बन्धी सचेतना जनमानसमा पु¥याउन र दुर्घटनाबाट बच्न मद्दत पुगेको उनले बताए ।

दुर्घटना न्यूनिकरण गर्ने सम्बन्धमा चालिएका कदमबारे प्रहरी प्रवक्ता डीआईजीपी ढकालले भने, ‘डिजिटल प्रविधि, सीसीटीभी, ट्राफिक लाईट, मापसे चेकिङ लगायतका प्रविधि थप गर्ने विषयमा हाम्रो चासो छ । जसले अझै राम्रो किसिमले दुर्घटना नियन्त्रण गर्न सकिन्छ । सरोकारवाला सबै निकायले आ–आफ्नो जिम्मेवारी पूर्णरूपमा ईमानदार भई काम गरेमा दुर्घटनामा कमी ल्याउन सहज हुने हाम्रो अपेक्षा छ ।’

देशभर सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो धनजनको क्षति हुने गरेको छ । तीव्र गति, ओभरटेक लगायतका कारण हुने त्यस्ता दुर्घटनाबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न, सुरक्षित र सहजीकरण गर्न नेपाल प्रहरी चौबिसै घण्टा खटिदै आएको उसको दाबी छ । चेतनामूलक कार्यक्रम, चेकिङ लगायत सडक व्यवस्थापनसँग सम्बन्धित सबै निकायसँग समन्वयको साथै कानून बमोजिम गर्नुपर्ने सबै काम प्रहरीले गरिरहेको जनाएको छ । नेपाल प्रहरीको सक्रियताको कारण दुर्घटना संख्या घट्दै गएको र ट्राफिक नियम उल्लंघन गर्ने क्रम कम भएको पनि प्रहरीको दाबी छ । यसलाई अझै न्यूनिकरण गर्दै धनजनको क्षति हुनबाट जोगाउन सरोकारवाला सबै निकाय जिम्मेवार हुन आवश्यक रहेकोमा प्रहरीले जोड दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *