मापसे र लापसे नियन्त्रणमा सक्रिय नेपाल प्रहरी, ६ महिनामा साढे ३९ हजार कारबाहीमा – Nepal Press

मापसे र लापसे नियन्त्रणमा सक्रिय नेपाल प्रहरी, ६ महिनामा साढे ३९ हजार कारबाहीमा

काठमाडौं उपत्यकामा मात्रै मापसे र लापसे गरी सवारी चलाउने करिब ५० प्रतिशत

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) र लागू पदार्थ सेवन (लापसे) नियन्त्रणमा सक्रियता देखाएको छ । प्रहरीले पछिल्लो ६ महिनामा मात्रै मापसे र लापसे गर्ने ३९ हजार ५१४ जनालाई कारवाही गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८०–०८१ को गत साउनदेखि पुस महिनासम्म मापसेगरी सवारी चलाउने ३९ हजार २७२ जना र लापसेगरी सवारी चलाउने दुई सय ४२ जनालाई कारवाही गरेको छ ।

मापसेबाट गरिएको कारवाहीबाट कुल तीन करोड ९९ लाख ६९ हजार रूपैयाँ राजश्व संकलन भएको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) भिमप्रसाद ढकालले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन तथा दुर्घटना न्यूनिकरण गर्न मापसे तथा लापसे चेकिङ प्राथमिकतामा राखिएको छ ।

चालकले मापसे गरी सवारी साधन चलाएको पत्ता लगाउन मापसे चेकिङ गर्ने गरिएको प्रवक्ता ढकालले बताए । लहै लहैमा लागेर घर भन्दा टाढाको दूरीमा गई मापसे गर्ने र सवारी साधन चलाएर हिँड्ने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको प्रहरीको तथ्याङ्कले देखादैँ आएको छ । सिसिटिभिको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दै गएको प्रहरीको अध्ययनले देखाउछ ।

यस्तो प्रवृत्तिलाई निरूत्साहित र मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले विभिन्न समयमा विविध नीति लागू गरी सफल कार्यान्वयन गर्दै प्रभावकारी रूपमा काम गर्दै आएको प्रहरी प्रवक्ता ढकालको भनाई छ । उनका अनुसार नेपाल प्रहरीले अवलम्बन गरेका नीतिबारे प्रष्ट पार्दै प्रवक्ता ढकालले भने, ‘दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउनको लागि प्रत्येक चालकले सही हालतमा सवारी साधन चलाउनुपर्छ । यो कुरालाई स्थानीय स्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक हुन्छ ।’

काठमाडौं उपत्यकामा मात्रै मापसे र लापसे गरेर सवारी चलाउने करिव ५० प्रतिशत

चालू आर्थिक वर्षको ६ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा मात्रै करिव ५० प्रतिशत नजिक रहेको छ । प्रहरीको तथ्यांक अनुसार देशभरमा मापसे र लापसे गरेर सवारी साधन चलाएर कारवाही परेकामध्ये ४७ प्रतिशत अर्थात १८ हजार ६२७ जना काठमाडौं उपत्यकाका मात्रै रहेका छन् ।

यस अवधिमा कारवाहीमा पर्नेबाट काठमाडौं उपत्यकामा एक करोड ८६ लाख २७ हजार रूपैयाँ जरिवाना गराइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनले भने, ‘काठमाडौं उपत्यकाका धैरै ठाउँमा सवारी साधन चेकिङ गर्ने, लापसे सेवनमा मुद्दा चलाउने गरेको कारण चालक सजग र सचेत भई जनधनको क्षतिमा कमी आएको छ । यसलाई निरन्तरता दिँदै सडक सुरक्षा र दुर्घटना न्यूनिकरणको लागि विषेश जोड दिँदै आएका छौं ।’

यस्तै दोस्रोमा गण्डकी प्रदेशमा आठ हजार ९२३ जना, लुम्बिनी प्रदेशमा दुई हजार ७७३ जना, कोशी प्रदेशमा दुई हजार ५२४ जना, सुदूरपश्चिम प्रदेशमा दुई हजार ४२ जना, मधेश प्रदेशमा दुई हजार २१ जना, कर्णाली प्रदेशमा एक हजार २६४ जना र बागमती प्रदेशमा सबैभन्दा कम एक हजार ९८ जना कारवाहीमा परेका छन् । मापसे गरी सवारी चलाउने मात्र नभएर मापसे गरी बाटोमा जथाभावी हिँड्नेको कारण पनि सवारी साधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको प्रहरीको अध्ययनले देखाएको छ ।

प्रहरीका अनुसार गण्डकी प्रदेशमा ९५ लाख ६८ हजार, लुम्बिनी प्रदेशमा २७ लाख ७३ हजार, कोशी प्रदेशमा २५ लाख ३९ हजार पाँच सय, मधेश प्रदेशमा २० लाख ४२ हजार पाँच सय, सुदूरपश्चिम प्रदेशमा २० लाख ४२ हजार, बागमती प्रदेशमा ११ लाख १७ हजार, कर्णाली प्रदेशमा १२ लाख ६० हजार रूपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी यसै अवधिमा लापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा ८१ जना, कोशी प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ८८ जना, लुम्बिनी प्रदेशमा २० जना र सुदूरपश्चिम प्रदेशमा २५ जना कारवाहीमा परेका छन् । मधेश, बागमती र कर्णाली प्रदेशमा कारवाही संख्या शून्य छ ।

मापसे चेकिङका लागि सीमित जनशक्ति र सिसिटिभि क्यामराको न्यून पहुँच रहेको र ब्रेथलाइजर लगायतका साधनस्रोत पर्याप्त नभएको प्रहरीले जनाएको छ । यस बाहेक चेकजाँचमा नेपाल प्रहरीको सक्रियता कायम रहेको प्रहरी प्रवक्ता ढकालको दाबी छ । नियमित चेकिङको साथै चाडपर्वको बेला जुनसुकै समयमा चेकजाँच हुने गरेको उनले बताए ।

मापसे चेकिङलाई थप प्रभावकारी बनाउने सम्बन्धमा डीआईजीपी ढकालले भने, ‘मापसे लापसे नगरेर सवारी साधन चलाउने कार्यको लागि प्रहरी र नागरिक एक आपसमा सहकार्य र समन्वय गरी आगाडि बढ्नु आवश्यक छ । यही कुरालाई मनन गरेर सरोकारवाला सबैसँग समन्वय र सहकार्य गरेर हामी अगाडि बढेका छौं । हाम्रो मुख्य ध्यान भनेको दुर्घटनाबाट धनजनको क्षति नहोस् भन्ने नै हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर