रचनालाई प्रश्न- अचेल टिकटक कसरी चलाउनुहुन्छ ? – Nepal Press

रचनालाई प्रश्न- अचेल टिकटक कसरी चलाउनुहुन्छ ?

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल टिकटकमाथि नेपालमा सरकारले प्रतिवन्ध लगाएको छ । प्रतिवन्धविरुद्धको मुद्दामा अदालतले फैसला सुनाएको छैन । तर, खाने मुखलाई जुँगाले छेक्दैन भने झैं प्रयोगकर्ताहरु विभिन्न उपाय अपनाएर टिकटक चलाइरहेका छन् ।

अहिले पनि नेपालका टिकटक प्रयोगकर्ताहरुको कमी छैन । थुप्रै चर्चित कलाकारहरु पनि पहिले झैं टिकटकमा सक्रिय नै छन् । उनीहरुमध्येकी एक हुन् अहिलेकी सक्रिय गायिका रचना रिमाल । उनी नयाँ-नयाँ भिडियो बनाएर पोस्ट गरिरहेकी हुन्छिन् ।

यतिबेला रचना मेला-महोत्सव र स्टेज कार्यक्रमहरुमा व्यस्त छिन् । उनका नयाँ गीतहरु पनि रेकर्डिङ भइरहेका छन् । आफ्ना नयाँ गीतहरुबारे उनी बेलामौकामा टिकटकमार्फत दर्शकहरुलाई जानकारी गराइरहेकी हुन्छिन् ।

एपमाथि प्रतिबन्ध भइसकेपछि पनि टिकटक कसरी चलाइरहनुभएको छ भन्ने प्रश्नको उत्तर दिँदै रिमाल भन्छिन्, ‘पहिला जस्तो सक्रिय भएर त चलाएकी छैन । कसरी हो अझै पनि कतै कुनै वाइफाइहरुमा भने चलिरहेको हुन्छ । कुनै कुनै कार्यक्रमहरुमा बसिञ्जेल नै टिकटक चल्छ । त्यस्तै बेला जहाँ संयोग मिल्छ त्यहींबाट आफ्नो गीतको प्रचार टिकटकमार्फत गर्छु ।’

भीपीएन प्रयोग गरेर भने टिकटक नचलाएको रिमालले बताइन् ।

‘टिकटक ब्याण्ड भएपछि केही साथीहरुले भीपीएनबाट चलाउन मिल्छ भन्नुभएको थियो । त्यो समय चलाइरहने बानी परेको थियो, त्यसैले चलाउने कोसिस गरें पनि । तर, भीपीएन गैरकानूनी हो भन्ने थाहा भएपछि चलाउन मन लागेन’, उनी भन्छिन् ।

टिकटक ढुक्कले चलाउन नपाउँदा उनलाई कत्तिको गाह्रो परेको छ त ?

रचना भन्छिन्, ‘मलाई त्यस्तो टिकटक चलाउनै पर्छ भन्ने छैन । ब्यान्ड भएपछि मैले लगभग चलाउनै छाडेकी थिएँ । तर, अरुले पनि चलाएको देखेपछि चाहिँ कहिलेकाहीँ चलाउँजस्तो लाग्यो । जतिखेरै टिकटक चलाइराख्ने अनि लाइभ नै बस्ने गरेको छैन । पहिला जस्तो टिकटक चल्दैन पनि ।

म प्रायः कार्यक्रमहरुमै व्यस्त हुन्छु अहिले । विभिन्न ठाउँ हिँडिराख्नुपर्छ । आफ्नो गीतहरुको क्लिप्सहरु काटेर तयार पारेर राखिरहेकी हुन्छु । जहाँको वाइफाइमा चल्छ त्यहाँबाट आफ्नो गीतको क्लिप्स् हाल्छु । त्यति हो ।’

टिकटक प्रतिबन्ध भएपछि चलाउन छाडेकाले पहिला जस्तो खासै वास्ता नलाग्ने रचनाको अनुभव छ ।

‘कुनै कुरा चलाइरहँदा मात्र त्यसमा के भयो होला भन्ने कौतुहल जाग्दो रहेछ, अनि चलाउन मनलाग्दो रहेछ’, उनी सुनाउँछिन्, ‘हाम्रो लागि दर्शक नै सबथोक हुन् । तर, अहिले सबैकोमा टिकटक चल्दैन । दर्शकले नै हेर्न नमिलेपछि हामीले मात्र चलाएर के काम ? त्यसैले अनेक उपाय लगाएर आफूले पनि खासै चलाउन मन लाग्दैन ।’

नेपालमा टिकटक ब्याण्ड भए तापनि अरु ठाउँका दर्शकहरुलाई जानकारी गराउन बेलामौकामा क्लिप्सहरु हाल्ने गरेको रचना बताउँछिन् ।

उनी भन्छिन्, ‘सबै ठाउँमा प्रतिबन्ध लगाइएको छैन । त्यसैले नेपाल बाहिर बसिरहनु भएका मलाई मन पराउनु हुने दर्शक र मेरा शुभचिन्तकहरुलाई मेरो नयाँ गीतबारे जानकारी होस् भनेर पायक परेको ठाउँमा वा भनौं जहाँ चल्छ त्यहाँबाट क्लिप्सहरु शेयर गर्दिन्छु ।’

टिकटक कुनै समय कलाकार र गायक-गायिकाहरुको लागि प्रोमोसनको एउटा राम्रो प्लेटफर्म थियो । टिकटकमा भाइरल भएकै आधारमा गीतको भ्युज बढ्थ्यो । सर्जकहरु पनि युट्युबभन्दा अघि टिकटकमा क्लिप काटेर हाल्न हतारिन्थे । तर, टिकटक प्रतिबन्ध भएपछि भने गीतहरु पहिला जस्तो भाइरल र हिट हुने माहोल केही कम भएको छ । यस विषयमा रचनाले पनि केही समर्थन जनाउँछिन् ।

उनी भन्छिन्, ‘टिकटक पहिला सबैको लागि निःशुल्क गीत प्रोमोसन गर्ने मुख्य सहारा जस्तै थियो । तर, टिकटक नहुँदा गीत नै नचल्ने भन्ने चाहिँ हैन । राम्रा गीतहरु टिकटकविनै पनि चल्छन् । अस्ति भर्खर मेरो ‘भन साइला २’ गीत राम्रो गयो । त्यो गीतलाई दर्शकले आफैं मन पराइदिनुभएको हो । टिकटक नहुँदा पनि गीतहरु चलेकै हुन् । पहिलाका कति गीतहरु अहिले पनि सदावहार छन् । टिकटक आउनु अगाडिका गीतहरु अहिले पनि मान्छेको मुखमुखमा छन् । बीचमा टिकटकले केही ट्रयाक परिवर्तन गरिदिएको मात्र हो । राम्रा गीतहरु चल्न कुनै माध्यम नै चाहिँदैन ।’

‘अहिले अलिकति भएको बेफाइदा के हो भने पहिला गीत एउटा लाइनकै भरमा पनि भाइरल हु्न्थे । जसका कारण सबैलाई गीतबारे थाहा हुन्थ्यो । गीत भाइरल हुनासाथ त्यसमा हजारौं भिडिओ बनाइन्थे । धेरै पटक सुन्ने भएकाले मान्छेलाई गीतको थोरै टुक्का भए पनि मुखमै याद हुन्थ्यो । टिकटक बन्द भएपछि पहिलाको जस्तो गीत हिट वा भाइरल हुने प्रकिया अलि कम भएको छ । अहिले कुन गीत बजारमा आएको छ भन्ने नै प्रायः मान्छेलाई थाहा हुन्न । पहिला फुर्सदको समयमा टिकटक एकछिन खोल्दा पनि रमाइलो हुन्थ्यो । कुनै गीत भाइरल भएको छ भने अगाडि नै देखाउँथ्यो । त्यसैले मान्छेले थाहा पाउँथे । अहिले व्यस्त समयमा मान्छेहरु युट्युब खोलेर बजारमा कुन कुन गीत आएछ भनेर खोजेर बस्दैनन् । त्यसैले बजारमा अहिले कुन गीत आयो भन्ने दर्शकले प्रायः थाहै पाउँदैनन् ।’

टिकटक बन्द भएपछि मेला-महोत्सवमा गायक-गायिकाको डिमाण्ड बढेको महसुस रचनाले गरेकी छन् । उनी दिनमा दुई वटा कार्यक्रमसमेत भ्याउँछिन् ।

‘पोहोर म यतिखेर कार्यक्रमको लागि जापान र क्यानडातिर थिएँ । पहिलाको भन्दा यसपालि अलि व्यस्तै छु । विशेषतः यो मंसिरदेखि प्रायः दिनमा एउटा कार्यक्रम गरिन्छ । तर, कहिलेकाहीँ दिनमा दुइटा कार्यक्रम पनि भ्याउँछु । नजिक-नजिकै भएको बेला समयको ग्याप केही लामो भयो भने दुइटा भ्याइन्छ’, उनले सुनाइन् ।

टिकटकमा लाइभ बसेको कत्तिको मिस गर्नुहुन्छ भन्ने प्रश्नमा हाँस्दै रचना जवाफ दिन्छिन्, ‘अलिअलि । म पहिला टिकटक ब्याण्ड नहुँदा पनि लामो समय त लाइभ बसिनँ । पैसा कमाउँछु भनेर बसेको पनि हैन । दर्शकसँग अन्तरक्रिया हुन्थ्यो । रमाइलो लाग्थ्यो । सुरुसुरुमा केही समय बसें । पछि भने खासै बस्न भ्याइनँ । काममै व्यस्त हाेइन्थ्यो । गीतको प्रोमोसन गर्नमात्रै बसियो । आफ्ना गीतहरु आउँदा दर्शकलाई जानकारी दिन बस्थें ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *