संवाद यात्रारत गगनलाई सर्वसाधारणको प्रश्न- नूनतेल ल्याउँदा पनि कहिलेसम्म कुटाइ खानुपर्ने ? – Nepal Press

संवाद यात्रारत गगनलाई सर्वसाधारणको प्रश्न- नूनतेल ल्याउँदा पनि कहिलेसम्म कुटाइ खानुपर्ने ?

विराटनगर । जिल्ला-जिल्लामा नेताहरू खटाएर नेपाली कांग्रेसले आजबाट ‘समुदायमा कांग्रेस अभियान’ थालेको छ । वडा तहसम्म पार्टीको संगठन विस्तार र सुदृढीकरण गर्न कांग्रेसले आजबाठ अभियान सुरु गरे पनि महामन्त्री गगन थापा भने माघ १३ गते नै संवाद यात्रामा निस्किएका थिए ।

पूर्वी जिल्ला झापाबाट सुरु भएको उनको संवाद यात्रा कञ्चनपुरमा माघ २६ गते टुङ्गिनेछ । कांग्रेसको आधार क्षेत्र मानिएको तराई-मधेशमा पछिल्ला निर्वाचनहरूमा पार्टीले पराजय भोगेपछि महामन्त्री थापा हुलाकी मार्ग हुँदै संवाद यात्रा गरिरहेका छन् ।

माघ १३ गते झापाको मेची पुलबाट संवाद यात्रा सुरु गरेर झापा गाउँपालिका आइपुगेका थापालाई स्थानीयले हात्ती आतांक रोक्न सरकारले ध्यान नदिएको गुनासो गरे ।

‘जङ्गली हात्तीले बसिखान दिएन । जाऔं भने कहाँ जाऔं, नजाऔं भने भएभरको अन्नपात हात्तीकै भयो’, भारतीय सीमावर्ती झापा बजारमा भएको कार्यक्रममा सहभागी नेत्रप्रसाद पौडेलले गुनासो पोखे, ‘सीमामा प्रहरीले दिने गरेको दुःख झन् भनिसाध्य छैन । पारिबाट एकदुई किलो दाल, चिनी ल्याउँदा पनि प्रहरीको आँखा हामीमाथि पर्छन् । कुटपिट र यातना भोग्नुपर्छ । महामन्त्रीज्यू, एक किलो चिनीका लागि हामीले कहिलेसम्म कुटाइ खानुपर्ने ?’

महामन्त्री थापा झापाको कञ्चनश्री, झापा बजार, कुञ्जीवारी, खजुरगाछी हुँदै मोरङको रंगेलीमा आएर बास बसेका थिए ।

रंगेलीमा रहेको धर्मशालामा बास बसेपछि १४ गते बिहान थापाको नेतृत्वको टोली मोरङको कटारी गाउँपालिका पुग्यो । कटारी गाउँपालिकाका निवर्तमान अध्यक्ष रामकुमार कामतको घरमा थापालाई भेट्ने कार्यक्रम मिलाइएको थियो । बिहान ११ बजे थापा कामतको आँगनमा आउनुअगावै उनलाई भेट्न कांग्रेस कार्यकर्ता भेला भएका थिए ।

उनलाई भेट्न र आफ्ना कुरा राख्न आएकामध्ये एक थिए, दिगमलाल कामत । उनले चुनावमा गठबन्धन गरेको विषयमा महामन्त्री थापासमक्ष आक्रोश पोखे ।

उनले भने चुनावमा अन्य दलसँग गठबन्धन गरेका कारण कांग्रेसलाई घाटा भएको बताए ।

‘कांग्रेस गाउँमा जिउँदैछ महामन्त्रीज्यू, यही सन्देश लिएर जानुहोस्’, कामतले भने, ‘कांग्रेस सुधार गर्न गाउँ हैन, केन्द्र सुध्रिनुपर्छ ।’

त्यस्तै अर्की एक कार्यकर्ता आक्रोशितले आक्रोशित हुँदै भनिन्, ‘माइक हमारा दिया ! (माइक समात्दै) गठबन्धन किन ? कांग्रेस मरिसक्यो भनेर हो ? यहाँ त कांग्रेस जिउँदै छ ।’

कांग्रेसले अन्य पार्टीसँग गठबन्धन गरेर चुनावमा गएकाले पार्टी मरिसके जस्तो भएको उनले बताइन् ।

उनले थपिन्, ‘मेरा श्रीमान् गठबन्धनका कारण अर्कै पार्टीमा लागे । म भने २० वर्षदेखि यही पार्टीमा छु । फर्किएर जाँदा पार्टी जिउँदै भएको सन्देश लिएर जानुस् ।’

कटारीमा भएको कार्यक्रममा अधिकांश सहभागीले कांग्रेसले चुनावमा गठबन्धन गर्न नहुने सुझाव महामन्त्री थापालाई दिए । सहभागीहरुले गठबन्धनले कांग्रेस हारेको र अन्य पार्टीले जितेको बताए ।

उनीहरूले चुनाव जितेर गएका आफ्नै पार्टीका पालिका प्रमुखले नमस्कारसम्म फर्काउन छाडेको भन्दै कांग्रेस सुध्रनुपर्नेमा जोड दिए । कार्यकर्ताहरूले गुनासो र प्रश्न राखिरहँदा थापा भने डायरीमा उनहरुको सुझाव टिपिरहेका थिए ।

माघ १४ गते नै विराटनगरमा ३ भन्दा बढी कार्यक्रममा महामन्त्री थापा सहभागी भएका थिए । उनी आइतबार विराटनगरस्थित गुराँस पुस्तकालय पुगेका थिए । उक्त पुस्तकालय बीपी कोइरालाको योजनाअनुसार कांग्रेस कार्यकर्ताले स्थापना गरेका थिए ।

पुस्तकालयमा भएको अन्तरक्रियामा सहभागी अधिकांशले पार्टीको आन्तरिक लोकतन्त्रको विषयमा आवाज उठाएका थिए । संक्षिप्त सम्बोधन गर्दै थापाले यति धेरै परिवर्तन भयो, तर जनताको जीवनस्तर माथि उकास्न नसकेकोमा चिन्ता व्यक्त गरे ।

विराटनगरपछि सुनसरी छिरेका थापालाई हरिनगरमा भएको कार्यक्रममा स्थानीयले भारतीय सीमाबाट दैनिक अत्यावश्यक सामग्री ल्याउँदा प्रहरीले दुःख दिने गरेको सुनाए ।

स्थानीय नुनु अन्सारीले छोटी भन्सार हुँदा राजस्व सङ्कलन भइरहेको तर अहिले राजस्व समेत गुमिरहेको कथा सुनाए ।

‘हामी भारतीय बजारमा आश्रित नभइ जीवन चल्दैन । खाने र लाउने सामान बोकेर आउँदा हामीले कष्ट भोगिरहेका छौं’, उनले भने, ‘यो क्षेत्र कृषिमा आधारित हो । मल, बीउ उता (भारत)बाट ल्याउनुपर्छ । मल, बीउ लिएर आउँदासमेत हामीले कुटाइ खाइरहेका छौं ।’
कांग्रेस हरिनगर गाउँपालिकाका सभापतिसमेत रहेका अन्सारीले जनताको जीवनसँग जोडिएको विषय सम्बोधन गर्न कांग्रेस लाग्नुपर्ने बताए ।

सुनसरीमा केरा खेती गर्ने किसानसँग समेत महामन्त्री थापाले संवाद गरेका छन् । संवादका क्रममा किसानहरूले भारतबाट आउने कृषि सामग्रीका कारण आफूहरूको उत्पादनले बजार नपाएको गुनासो गरे ।

‘भारतमा किसानहरूलाई मल र बीउमा अनुदान दिइन्छ । हाम्रातिर मल र बीउ नै पाइँदैन । अनुदान पाएका भारतीय किसानले सस्तोमा उत्पादन बेच्दा हामीहरूको लागत खर्चसमेत उठ्दैन’, सुनसरीका नजमुल अन्सारीले भने, ‘सरकारले हाम्रो कुरा सुनेन । मरीमरी हामी खेती गर्छौं । बेच्ने बेलामा मूल्य पाउँदैनौं । यो कहिलेसम्म चलिरहन्छ ?’

महामन्त्री थापाको संवाद यात्रा सुनसरीपछि सप्तरी र सिराहा हुँदै धनुषा पुगेको छ । उनको यात्रामा जिल्ला-जिल्लामा रहेका केन्द्रीय नेताहरूले साथ दिएका छन् ।

उनले दिनको एउटा संवाद कांग्रेस कार्यकर्ताहरूसँग गर्ने गरेका छन् । अरू संवाद भने सर्वसाधारणसँग भएका छन् ।

‘रातको १० बजेसम्म हामी सर्वसाधारणका कुरा सुनिरहेका छौं । जनताका समस्या के रहेछन् ? ती समस्यालाई सम्बोधन कसरी गर्ने भनेर पार्टीको कार्यक्रमअनुसार संवाद यात्रामा निस्किएका हौं’, महामन्त्री थापाले भने, ‘हामीले अभियानको क्रममा यात्रा गर्ने घोषणापछि सबै जनाले ‘कम सुनाउने, बढी सुन्ने गर्नुपर्छ है’ भनेर सुझाव दिनुभएको छ ।’

यात्राका क्रममा भन्सारको समस्या धेरैले सुनाएको उनले बताए ।

‘दैनिक उपभोग्य सामग्री ल्याउँदासमेत समस्या भएको कुरा जनताले सुनाउनु भएको छ । यस विषयलाई कसरी सम्बोधन गर्ने भन्नेबारे हामी संवाद सकिएपछि निष्कर्ष निकालेर कार्यान्वयन गर्छौं’, महामन्त्री थापाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर