रवि लामिछानेसित किन असन्तुष्ट छन् जीबी राई ? – Nepal Press

रवि लामिछानेसित किन असन्तुष्ट छन् जीबी राई ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीसम्बन्धी विवादले कतिसम्म दुःख देला ? अहिले अलिकति शान्ति छ । तर, जीबी राई सार्वजनिक भएपछि वा पक्राउ परेपछि अर्को ट्विस्ट आउन सक्ने जानकार बताउँछन् ।

यसको पूर्वाभास रविले पाइसकेका छन् भन्ने कुरा उनको पछिल्लो पत्रकार सम्मेलनमा उनी आफैंले प्रकट गरेका छन् । गृहमन्त्रीले आफ्नोविरुद्ध बयान दिन जीबीमाथि दबाब बढाइरहेको र कतिपय सन्दर्भमा उनलाई होस्टाइल बनाएर आफूविरुद्ध बोल्न लगाउने आशंकासमेत उनको देखिन्छ ।

रविले कम्तीमा पाँच वर्ष ढुक्कले काम गर्ने भनेपछि जीबीले ग्यालेक्सी टीभीमा ठूलो लगानी खन्याएका थिए । तर, प्रतिबद्धताविपरीत रवि एक वर्षमै बाहिरिएको जीबी पक्षको गुनासो लामो समयदेखि प्रकट भइरहेको छ । रविकै नाममा भर परेर लगानी गरेको करोडौं रुपैयाँ जोखिममा प¥यो । यद्यपि, त्यसबेला जीबी बेखुशी थिएनन् ।

जीबीले रविलाई निःशुल्क दिएको टीभीको शेयर रविले निःशुल्क नै फिर्ता गर्न तयार भएका थिए । साथै, रवि राजनीतिमा गएर पावरमा पुगे भने आफूलाई पनि कहीँ न कहीँ फलिफाप हुनसक्ने आशा जीबीमा थियो । रवि उपप्रधान तथा गृहमन्त्री बन्दा जीबी उत्साहित हुँदै खादा लगाउन पुगेका थिए । तर, उनले सोचेजस्तो भएन । रविले पावरको दुरुपयोग गर्ने सम्भावना पनि थिएन ।

नागरिकताका विषयमा मुद्दा परेपछि रविको गृहमन्त्री पद एक महिना नपुग्दै खोसियो । रविसँगै जीबी पनि जिल्ल परे । रवि चुनाव जितेर फेरि सांसद त बने । तर, उनीबाट जीबीले अपेक्षित सहयोग पाउने सम्भावना थिएन । फेरि एउटा सांसदले त्यस्तो के नै गर्न सक्थ्यो र !

जीबीले आफूमाथि सहकारी ठगीको मुद्दा परेपछि रविले आफ्नो पक्षमा बोलिदिने पनि आशा राखेका थिए । तर, रविले पीडितको पक्षमा बोलेकाले उनी रविसँग थप निराश बनेको निकटस्थको भनाइ छ । जीबीले यसरी ठूलो ठगी गरेकोबारे रवि जानकार पनि थिएनन् र यसरी उनको व्यवहार लथालिंग भइसकेको भन्ने आभास पनि थिएन ।

रविले छोडेसँगै जीबीको ग्यालेक्सी टीभी पनि ओरालो लागेर क्रमशः संकटमा धकेलिइरहेको थियो । अहिले लगभग बन्द जस्तो अवस्थामा छ टेलिभिजन । तर, कर्मचारीलाई बिदा गरिएको छैन । अहिले पनि १२२ जना पत्रकार तथा कर्मचारी सो टीभीमा आवद्ध छन् । उनीहरुलाई १० महिनाको तलब पाउन बाँकी छ ।

बीचमा जीबीले टेलिभिजनमा नयाँ लगानीकर्ता ल्याउने तयारी गरेका थिए । टेलिभिजनमा धेरै लगानी भएकाले जो पायो उसले आँट गर्ने अवस्था थिएन । लगानीकर्ता खोज्न जीबीले आफ्ना सहकारीका साझेदारहरुलाई पनि सबैतिरबाट लगाएका थिए ।

नेपथ्यबाटै उनले सबै चाँजोपाँजो मिलाएर सम्झौताको चरणमा पुगेको दाबीसमेत उनीहरुको छ । तर, जब रविलाई सहकारीमा जोडेर राजनीतिक प्रतिशोध लिन मिडिया वार सुरु भयो, त्यसको प्रहार जीबीमाथि पर्‍यो । कान्तिपुरले दिनदिनै जीबीको फोटो राखेर हेडलाइन बनाएपछि त झनै ग्यालेक्सीमा आउन लागेका लगानीकर्ता ब्याक भएको गुनासो उनीहरुको छ ।

पत्रकार र कर्मचारीलाई लगानीकर्ता आउने भनेर केही समय थुम्थुम्याइएको थियो । तर, अहिले त्यसमा पनि पूर्णविराम लागेपछि कर्मचारीहरु आन्दोलनको तयारीमा छन् । थुप्रै पत्रकार र कर्मचारीले अन्य संस्थामा जागिर खान पनि थालेका छन् । तर, ग्यालेक्सीमा पनि हाजिर गरिरहेका छन् ।

जीबीमाथि प्रहरीले रेडकर्नर नोटिस जारी गराएको छ । तर, उनी कहाँ छन् भन्ने पत्तो छैन । उनी केही समय अघिसम्म नेपालमै थिए । देश बाहिर गएको कुनै भरपर्दो सूचना पनि सरकारसित छैन । कतिपयले जीबी गृहमन्त्री नारायणकाजीको सम्पर्कमा रहेको र रविविरुद्ध बोले सहुलियत दिने आश्वासनसमेत बाँडिएको आशंका गरेका छन् ।

यस्तोमा जीबीले अब के गर्लान् भन्नेमा रवि लामिछानेको ठूलो चासो छ । उनले प्रहरीसामु आत्मसमर्पण गर्नसक्ने सम्भावना पनि छ । त्यसो गरेको खण्डमा उनले आफूविरुद्ध बयान दिनसक्ने चिन्तामा रवि पर्नु स्वाभाविक नै हो । यो सम्भावनालाई नकार्न पनि सकिन्न । रविले कान्तिपुरसँग भिड्न खोज्दा आफू थप अप्ठेरोमा परेको जीबीको बुझाइ छ ।

जीबी निकट स्रोतका अनुसार उनले रविसँग आफ्नो लेनदेन छिनोफानो भइनसकेको बताउने गरेका छन् । रवि र जीबी मिलेर ग्यालेक्सी टीभी सुरु गरेपछि रविकी पत्नी निकिता पौडेलले सञ्चालन गरिरहेको गोपीकृष्ण एफएमलाई पनि ग्यालेक्सीमै मर्ज गरिएको थियो । सो एफएम जीबीले एक करोड रुपैयाँमा खरिद गरेको बताइएको छ ।

रविले ग्यालेक्सी छोडेसँगै निकिताले पनि एफएम फिर्ता लैजाने सम्झौता गरेकी छन् । स्रोतका अनुसार पहिले जति रकममा खरिद गरिएको थियो, त्यति नै रकम दिएर उनले फिर्ता लैजाने सम्झौता भएको हो । सम्झौता भए पनि सबै रकम भुक्तानी भइनसकेको जीबी निकट स्रोतको भनाइ छ । रविले भने ग्यालेक्सी टीभी छोडेसँगै सबै हिसाब राफसाफ भइसकेको बताउँदै आएका छन् ।

स्रोतका अनुसार सहकारीसम्बन्धी मुद्दामा रवि पनि मुछिऊन् भन्ने जीबी चाहन्छन् । यसैको प्रयासस्वरुप उनले रविका केही कागजात मिडियालाई उपलब्ध गराइरहेको आशंका पनि गरिएको छ । रवि मुछिए भने मुद्दा फेस गर्न आफूलाई सहज हुने जीबीले सोचेका छन् । तर, मिडियाबाजी गरेर सहकारी प्रकरणमा रविलाई बदनाम गर्न सकिए पनि विद्यमान कानून र ऐनले यस प्रकरणमा रविलाई दोषी प्रमाणित गर्ने आधार देखिन्न । किनकि उनी सहकारीका सञ्चालक होइनन् र ऋण नलिएर नतिरेका खराब ऋणी पनि होइनन् ।

यता सत्तारुढ दलका नेताहरु पनि रविप्रति सकारात्मक छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पनि रविलाई कसरी ठेगान लगाउन सकिन्छ भन्ने चेष्टामा छन् । रविले यो गठबन्धन बदलेर आफू सत्तामा जाने दाउ हेरिरहेको उनीहरुको बुझाइ छ । गृहमन्त्री श्रेष्ठ र रविबीच त आपसी दुश्मनी जस्तै अवस्था बनिरहेको छ ।

यो सबै परिस्थितिका कारण रविका लागि आगामी राजनीतिक यात्रा काँडाहरुमाथि हिँडेरै पार गर्नुपर्ने अवस्था देखिन्छ । यद्यपि, उनी जनताले आफूलाई जस्तो स्थितिमा पनि साथ दिने आशामा छन् र अर्को आमचुनाव कुरिरहेका छन् । किनकि उपचुनावअघि पनि उनीविरुद्ध मिडिया फायर खुलेकै थियो । तर, रविले पहिलेको भन्दा ठूलो मतान्तरमा जितेर आफूलाई पुष्टि गरेका थिए ।


प्रतिक्रिया

One thought on “रवि लामिछानेसित किन असन्तुष्ट छन् जीबी राई ?

  1. “बताइएको छ”, “बुझाइ छ” आदि मिश्रित मन गडन्ते कथा |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर