आफ्नै सांसदले ठेक्का लिएर सडक अलपत्र पारेपछि रामेछाप चिसापानीका स्थानीय आन्दोलित – Nepal Press

आफ्नै सांसदले ठेक्का लिएर सडक अलपत्र पारेपछि रामेछाप चिसापानीका स्थानीय आन्दोलित

रामेछाप । आफैंले चुनाव जिताएका सांसदले विकास आयोजना अलपत्र पारेपछि सास्तीमा परेका रामेछापका जनताले ठेकेदारसमेत रहेका सांसदलाई अल्टिमेटम दिएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक सरोकार तथा संघर्ष समिति चिसापानीले सांसद समेत रहेका ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) लाई १० बुँदे ध्यानाकर्षण गराएको हो ।

रामेछाप सदरमुकाम जोड्ने मन्थली-चिसापानी सडक निर्माणका लागि तीन वर्षअघि नै ठेक्का लगाइएको थियो । डेढ वर्षभित्र निर्माण गरिसक्ने समयसीमा तोकिएको ठेक्का तीन वर्ष बितिसक्दा पनि सडक कालोपत्र नभएपछि स्थानीय आन्दोलित भएका हुन् ।

ठेक्का सम्झौतामा उल्लेखित सात किलोमिटरमध्ये अहिलेसम्म जम्मा २ किलोमिटरमात्रै कालोपत्रे भएको सरोकार समितिले जनाएको छ । सो सडकको ठेक्का सांसद कान्छारामकै निर्माण कम्पनीले पाएको थियो । उनी रामेछापमा गठबन्धनबाट निर्वाचित कांग्रेस सांसद हुन् ।

सांसदको जिम्मेवारी काममा ढिलासुस्ती भए जनताको पक्षबाट खबरदारी गर्ने हो । तर, उनैले ठेक्का लिएर काम अलपत्र पारेपछि जनता उनलाई खबरदारी गर्न बाध्य भएको रास्वपा नेतासमेत रहेका चिसापानीका नरेश श्रेष्ठले बताए ।

उनले भने, ‘कान्छाराम माननीयले ठेक्का लिएका सडक अलपत्र छन् । चिसापानीमा अरु ठेकेदारले लिएका विद्यालय भवन, स्वास्थ्य चौकीलगायतका संरचना पनि अस्तव्यस्त र अपूरा छन्, उक्त आयोजना पूरा गर्न अन्य ठेकेदारलाई दबाब दिन सांसद तामाङसमक्ष स्थानीयले आग्रह गर्दा उनले चासो दिएका छैनन् । उनी आफैंले ठेक्का अलपत्र पारेका छन् ।’

सरोकार समितिले सात दिनभित्र निर्माण सुरू नगरे ठेकदार र तालुकदार निकायविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको संघर्ष समितिका संयोजक प्रकाश श्रेष्ठले बताए । सडक अलपत्र छाडेर सांसद तामाङले जनताको स्वास्थ्यसँग खेलवाड गरिरहेको स्थानीय सुभास श्रेष्ठले बताए ।

श्रेष्ठले भने,‘धोएर सुकाउन राखेको लुगा धुलो नटकटकाइ लगाउनै सकिँदैन । माननीयज्यूले नै सडक निर्माणको काम अलपत्र पारेर हामीलाई दुःख दिइरहनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीलाई चिसापानीसँग जोड्ने मुख्य सडक तीन वर्षदेखि अलपत्र र लथालिंग अवस्थामा छ । हिउँदमा धुलोले स्थानीयलाई हैरान पार्छ भने वर्षामा हिलो भएर हिँडिसाध्य हुँदैन ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २०७६/०७७ मा पक्की सडक निर्माणका लागि टेन्डर आह्वान हुँदा एमएस कान्छाराम कन्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । जसका सञ्चालक सांसद तामाङ हुन् ।

तामाङको निर्माण कम्पनीले २०७७ असार २७ गते भ्याटसहित १९ करोड १ हजार ४ सय ५० रूपैयाँमा ठक्का लिएको थियो । निर्माणको काम ८० प्रतिशत पूरा भएको देखाउँदै कम्पनीले १५ करोड ३२ लाख ७६ हजार ६ सय ८७ रुपैयाँ भुक्तानी लिइसकेको छ ।

काम भने जम्मा दुई किलोमिटर मात्रै भएको छ । तामाङले नक्कली प्रगति प्रतिवेदन देखाएर भुक्तानी लिएको संघर्ष समितिका संयोजक श्रेष्ठले बताए ।

सडक निर्माणका लागि पटक-पटक ताकेदा गर्दा पनि सुनुवाइ नभएपछि स्थानीय आन्दोलित हुनुपरेको स्थानीय रवीन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार मन्थली नगरपालिका-८ को वडा कार्यालयको अग्रसरतामा २०७९ पुस ६ गते निर्माण व्यवसायी र स्थानीयबीच भौतिक पूर्वाधार कार्यालय रामेछापमा बैठक बसेको थियो ।

बैठकमा २०७९ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने सहमति भएको थियो । तर, सहमति भएको पनि १० महिना बित्दा पनि निर्माण कम्पनीले काम सुरू नगरेपछि आन्दोलित हुनुपरेको स्थानीय घनश्याम श्रेष्ठले बता ए।

गत मंसिर १५ गते व्यवसायीले सडक निर्माण तुरुन्त थाल्ने लिखित सम्झौता पनि गरेका थिए। त्यो सम्झौता भएको दुई महिना बितिसक्दा पनि सांसदले काम थालेका छैनन् ।

भौतिक पूर्वाधार विकास कार्यालय प्रमुख वीरेन्द्र बज्राचार्यले निर्माण व्यवसायीले समयमा नै काम नगर्दा जनताले समस्या भोग्नु परिरहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर