पशुपतिनाथको आरती कपीराइटबारे छानबिन समिति गठन – Nepal Press

पशुपतिनाथको आरती कपीराइटबारे छानबिन समिति गठन

काठमाडौं । पशुपतिनाथमा दैनिक हुने सन्ध्या आरतीको बुढासुब्बालाई दिइएको कपीराइट छानबिनका लागि अध्ययन समिति बनाइएको छ । पर्यटनमन्त्री सुदन किरातीको अध्यक्षतामा मन्त्रालयमा बसेको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकले कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

समितिको सदस्यमा काठमाडौं महानगरका प्रतिनिधि र कोषका सदस्यहरू छन् । उक्त समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय सीमा तोकिएको छ ।

‘धेरै विवादित बनेकोले त्यो सम्झौता खारेज नै हुन्छ । समिति बनाएर प्रक्रियासम्बन्धी अध्ययन पनि गरौं भन्ने छ’, स्रोतले बतायो ।

पशुपतिनाथ मन्दिरभित्र दैनिक हुने सन्ध्या आरतीलाई डिजिटल माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने विषयमा ६ महिना अगाडि भएको सम्झौता केही दिनअघि एकाएक चर्चामा आएको थियो ।

बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्यूवमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपीराइट ऐन अन्तरगत कारबाही हुने सूचनापछि धार्मिक स्थलको व्यापारीकरण गरिएको भन्दै आलोचना भएको थियो ।

कोषले उक्त सूचनामा गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिसमेत निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *