शहीदहरुलाई फूलमालामा मात्रै सीमित राख्नु हुँदैन : मुख्यमन्त्री शर्मा – Nepal Press

शहीदहरुलाई फूलमालामा मात्रै सीमित राख्नु हुँदैन : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शहीदहरूलाई फूलमालामा मात्रै सीमित गर्न नहुने बताएका छन् ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आयोजित शहीदहरूलाई पुष्पगुच्छा अर्पण कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले शहीदहरुलाई फूलमालामा मात्रै सीमित गर्दा सहिदप्रतिको सच्चा सम्मान नहुने बताएका हुन् ।

शहीदहरूको बलिदानबाट नेपाली जनताले १०४ वर्षीय निरङ्कुशता २०५ वर्षीय एकात्मक राज्य व्यवस्था परिवर्तन भएको स्मरण गर्दै शहीदहरूको उच्च बलिदानबाट नेपाली जनता स्वतन्त्र भएको जिकिर गरे ।

देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशता विरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्नुहुने महान् शहीदहरूको सम्मान गर्दा केही विरोधीहरूले अहिले व्यवस्था र शहीदहरू प्रति अपमानित हुने गरी आन्दोलनबाट प्राप्त भएको स्वतन्त्रताको धज्जी उडाउने गरेकाले यसका विरुद्ध सबै नागरिक चनाखो हुन आग्रह गरे ।

नेपाली जनताको स्वतन्त्रताको निम्ति राणाकाल शुरु हुनु पूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकाल विरुद्धका चरणबद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, दश वर्षे जनयुद्ध, मधेश आन्दोलन लगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत प्राप्त उपलब्धिको रक्षा गर्न सके मात्र शहीदहरू प्रति उच्च सम्मान हुने बताए ।

केही लोभी पापीहरूले आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नदिने, सुशासन र देशलाई समृद्ध लैजाने महान् कार्य सञ्चालन गर्दा त्यस प्रति दुष्प्रचार गर्ने गरेकाले सुशासन सामाजिक न्याय र आर्थिक समृद्धि गर्न सबै एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनु पर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर