प्रदेशलाई माघ १७ गते प्रहरीको सङ्गठन संरचना हस्तान्तरण हुने कोशीका मुख्यमन्त्रीको दाबी – Nepal Press

प्रदेशलाई माघ १७ गते प्रहरीको सङ्गठन संरचना हस्तान्तरण हुने कोशीका मुख्यमन्त्रीको दाबी

विराटनगर । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले प्रहरीको सङ्गठन संरचना माघ १७ गते निर्णय गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने वचन दिएको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।

मुख्यमन्त्री कार्की प्रहरी समायोजनका विषयमा कुरा गर्न प्रहरी प्रधान कार्यालय पुगेका थिए । उक्त भेटमा महानिरीक्षक कुँवरले प्रहरी सङ्गठनको संरचना तयारी अवस्थामा रहेकाले माघ १७ गते हस्तान्तरण हुने बताएको मुख्यमन्त्री कार्कीले दाबी गरे ।

‘प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको र आउँदो १७ गते प्रहरी सङ्गठन संरचना हस्तान्तरण गर्ने तयारी छ’, मुख्यमन्त्री कार्कीले नेपाल प्रेससँग भने, ‘प्रहरी समायोजनको बाँकी काम प्रक्रियागत रूपमा हुने भएकाले तत्काल सङ्गठन संरचना हस्तान्तरणको तयारी गरिएको हो ।’

संविधान प्रदत्त शान्ति सुरक्षाको अधिकार प्रदेशले प्राप्त गरी संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको उनको भनाइ छ ।

सङ्घीय सरकारले प्रहरी समायोजन, कानून निर्माणलगायतका प्रक्रिया पूरा गर्न ढिलाइ गरेकाले सङ्घीयताको पूर्ण कार्यान्वयन हुन नसकिरहेको अवस्थामा सङ्घीय सांसद तथा मन्त्रीहरूले प्रदेशले काम गर्न नसकेको भन्दै विरोध गरिरहेका छन् ।

सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरूको काठमाडौंमा सम्पन्न भेलाले पनि तत्काल प्रहरी समायोजनका लागि सङ्घीय सरकारलाई ध्यानाकर्षण गराएको थियो ।

यसअघि बागमती प्रदेशको हेटौंडामा भएको सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको भेलाले पनि तत्काल प्रहरी समायोजनलगायतका प्रक्रिया अघि बढाएर संविधान कार्यान्वयनमा समन्वय र सङ्घर्ष गर्ने निर्णय गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर