सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता फेरिएको संसदले सरकारलाई गरायो जानकारी  – Nepal Press

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता फेरिएको संसदले सरकारलाई गरायो जानकारी 

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले माओवादी संसदीय नेता हेरफेरको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गराएको छ ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माओवादी संसदीय दलको नेता मानबहादुर धामी रहेको जानकारी गराएका छन् ।

उनले माओवादी संसदीय दलका नेता खगराज भट्टलाई हटाइएर उक्त जिम्मेवारीमा धामीलाई चयन गरिएको मुख्यमन्त्री कार्यालयलाई जानकारी गराएका हुन् ।

शुक्रबार भट्टलाई हटाएर धामीलाई दलको नेता बनाउँदा ६ जना प्रदेशसभा सदस्यले निर्णयमा हस्ताक्षर गरेका थिए । ११ जना प्रदेशसभा सदस्य रहेको माओवादी केन्द्र सुदूरपश्चिममा एक जना सभामुख छन् ।

मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट सरल, गीतादेवी माल, लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णय गरेको बैठकमा खगराज भट्ट, झपट साउद, रमेश धामी र जनकी देवी कुँवर उपस्थित थिएनन् ।

बहुमत प्रदेशसभा सदस्यहरूले गरेको निर्णयले अहिले पार्टीभित्र तरंग पैदा भएको छ । प्रदेश पार्टीले उक्त निर्णय सच्चाउन निर्देशन दिएको छ । बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेश पदाधिकारीको बैठकलाई नै अवैधानिकको संज्ञा दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर