लुम्बिनीको विकास रोक्ने गिरोह सल्बलाएको डा. ल्हारक्यालको आरोप, जग्गा लिज सम्झौता नभएको प्रष्टीकरण – Nepal Press

लुम्बिनीको विकास रोक्ने गिरोह सल्बलाएको डा. ल्हारक्यालको आरोप, जग्गा लिज सम्झौता नभएको प्रष्टीकरण

लुम्बिनी विकास कोषका उपाध्यक्ष लामा भन्छन्-४८ वर्षदेखि वृहत्तर लुम्बिनी विकास रोक्ने गिरोह चरित्रहत्याको खेतीमा छ, फेक न्युजको कारखानामा निर्मित प्रायोजित पटकथालाई समाचार बनाइयो

काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले वृहत्तर लुम्बिनीको विकास रोक्न लामो समयदेखि क्रियाशील गिरोह फेक न्युजको कारखाना सञ्चालन गरेर आफ्नो चरित्र हत्यामा उत्रिएको आरोप लगाएका छन् ।

भगवान् गौतम बुद्धको अस्थुधातु समाधिस्थल उत्खनन् तथा बौद्ध स्तुप निर्माणका लागि विभिन्न अन्तर्राष्ट्रिय बौद्ध समुदायसँग लुम्बिनी विकास कोषले सहकार्यका लागि आह्वान गरिरहेका बेला उक्त गिरोहले अफवाह फैलाउन खोजेको उनले बताएका छन् ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष लामाले वृहत्तर लुम्बिनीको विकासमा अवरोध गर्ने परम्परागत शक्ति र व्यक्तिहरुको चलखेल र उनीहरुको फेक न्युजको कारखानाबाट निर्मित प्रायोजित कथनलाई समाचारको रुप दिइएको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘लुम्बिनीको विकासमा निजी स्वार्थ सबै त्यागेर तलब भत्तासमेत नलिई काम गरिरहेको व्यक्तिमाथि प्रतिशोधपूर्ण ढंगबाट आरोप लगाउनेहरूलाई उक्त आरोप पुष्टि गर्न चुनौती दिन चाहान्छु । बुद्धमार्ग मेरो जीवन पद्धति हो र बुद्ध जन्मस्थलको विकास तथा यसको अन्तर्राष्ट्रियकरण गर्नु मेरो एकमात्र मन्त्र हो । वृहत्तर लुम्बिनीको विकासका लागि नेपालको संविधान, कानून र प्रचलित अभ्यासभित्र रहेर सम्बन्धित निकाय तथा संस्थाहरूको अनुमति लिएरमात्र हरेक काम सञ्चालन हुनेछन् । कुनै पनि निर्णय पारदर्शी र राज्यका सबै निकायको अनुमति लिएरमात्र हुने कुरा म पुनः प्रष्ट पार्न चाहन्छु ।’

जसरी १२० बिघा जग्गा ९९ सय वर्षका लागि निजी कम्पनीलाई लिजमा दिन लागिएको भनेर गरिएको प्रचार नियोजित रहेको भन्दै आफू लुम्बिनी विकास कोषको कार्यकारी नेतृत्वमा आएपछि यससम्बन्धी कुनै निर्णय वा सम्झौता नभएको प्रष्ट उनले प्रष्ट पारेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘पहिलो कुरा लुम्बिनी विकास कोषसँग त्यति जमिन छैन र सर्वसाधारणको अधिग्रहण गर्ने विषय कोषको क्षेत्राधिकारभित्र पर्दैन । म कोषको उपाध्यक्ष नियुक्त भएर आउनुभन्दा केही महिना अघि नै संघीय सरकारका विभिन्न मन्त्रालयमा पत्राचार भएको विषयलाई मसँग जोडेर प्रचार गर्नुले पनि गलत नियत र प्रतिशोधी भावना झल्किन्छ । म आएपछि यसबारे कुनै प्रक्रिया अघि बढेको छैन ।’

मोक्ष फाउन्डेसन र प्रमिस्ड ल्याण्डबीचको सम्झौताबारे कोष जिम्मेवार नहुने भन्दै उनले कोषले आफ्नो नभएको जग्गा अरु कसैलाई लिजमा दिन नसक्ने बताएका छन् । लामाले आफ्नो नियुक्तिभन्दा पहिले नै स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको विषयको जिम्मेवार आफू नहुने र आफ्नो पालामा कुनै सम्झौता नभएको बताएका छन् ।

उनले व्यक्तिको जग्गा अधिग्रहणको अधिकार कोषलाई नभएकोर कोषसँग व्यक्तिलाई मुआब्जा दिएर जग्गा अधिग्रहण गर्ने पैसा पनि नभएको प्रष्ट पारेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘सरकारसँग पैसा नभएर ४८ वर्षदेखि लुम्बिनी गुरुयोजना सफल भएको छैन । राममग्राम तिलौराकोट लगायत धेरै ठाउँमा गुरुयोजना बनाउनुपर्नेछ । त्यसका लागि हामीले अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्न खोज्दा विवाद सिर्जना गर्ने र सयौं वर्षसम्म वृहत्तर लुम्बिनीको विकास हुन नदिने योजनाबद्ध षड्यन्त्रको पछिल्लो कडी यस्ताखाले समाचार हुन् ।’

लुम्बिनी विकास कोषमा आफ्नो नियुक्ति रोक्ने सबै प्रयास असफल भएपछि प्रतिशोधपूर्ण ढंगले प्रचारबाजी भएको उनले आरोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर