रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट – Nepal Press

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी जवानमाथि कुटपिट हुँदा दुई जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको हो ।

बाँफिकोट गाउँपालिका–३ स्यार्पुमा ड्युटीमा रहेका प्रहरीमाथि आइतबार बेलुका ७ बजेको समयमा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रहरी जवानलाई कुटपिट गर्ने बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई बाँफिकोट गाउँपालिका-३ का २७ वर्षीय गोविन्द विक, वडा नम्बर-४ का २२ वर्षीय लक्ष्मण विक, २० वर्षीय सञ्जु खड्का लगायत अन्य १२/१३ जनाको समूह रहेको प्रहरी निरीक्षक खड्काले बताए ।

उनीहरूले सामान्य विवादका कारण कुटपिट गरेको उनको भनाइ छ । घटनास्थलमा पुगेर सम्झाई-बुझाई गर्न खोज्दा उल्टै प्रहरीमाथि ढुङ्गामुडा प्रहार गरेको निरीक्षक खड्काले बताए ।

कुटपिटबाट घाइते भएका प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ । अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीमाथि कुटपिट गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको निरीक्षक खड्काले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *