संसदको महासचिवमा सिफारिस पाण्डेको नागरिकता विवादमा गृहले दियो ‘क्लिन चीट’ विवरण – Nepal Press

संसदको महासचिवमा सिफारिस पाण्डेको नागरिकता विवादमा गृहले दियो ‘क्लिन चीट’ विवरण

काठमाडाैं । संघीय संसद सचिवालयका कार्यवाहक महासचिव पदम प्रसाद पाण्डेको नागरिकता विवादमा गृह मन्त्रालयले पाण्डेलाई ‘क्लिन चीट’ हुने कागजात र विस्तृत विवरण राज्य व्यवस्था समितिलाई पठाएको छ ।

संसद सचिवालयको महासचिवमा सिफारिस भएपछि पाण्डेले उमेर घटाएर नागरिकता बनाएको भन्दै उनको नियुक्ति रोक्न राष्ट्रपतिसमक्ष दबाब परेको थियो । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले डा.भरत गौतमको राजीनामापछि महासचिव नियुक्तिका लागि पाण्डेको नाम राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

राष्ट्रपतिले निर्णय गर्नुअघि नै उनको दुईभन्दा बढी नागरिकता रहेको र किर्ते गरेर जागिर खाएको प्रचार भएपछि यकिन नभएसम्म नियुक्ति रोकिएको थियो । यसबीचमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग पाण्डेको नागरिकता र राहदानीसम्बन्धी यकिन विवरण माग गरेको थियो ।

गृह मन्त्रालयले यही माघ ९ गते समितिलाई पठाएको विवरण नेपाल प्रेसलाई प्राप्त भएको छ । उक्त विवरणमा पाण्डेले २०४६ साल असार २८ गते लिएको पहिलो नागरिकतामा जन्म मिति २०२६ असोज १५ गते रहेको उल्लेख छ ।

उनको शैक्षिक प्रमाणपत्रमा पनि सोही जन्म मिति रहेको गृहले जनाएको छ । यसबीचमा २०६२ माघ २८ गते पाल्पा जिल्ला प्रशासन कार्यालयको सम्पुर्ण अभिलेखहरु जलेर नष्ट भएको प्रसंग समेत मन्त्रालयको पत्रमा उल्लेख छ ।माओवादीले तानसेन सदरमुकाममा आक्रमण गर्दा जिल्ला प्रशासन कार्यालय ध्वस्त भएको थियो ।

यसबीचमा पाण्डेले २०६६ असोज ८ गते काकाको सनाखतको आधारमा जन्म मिति सिफारिस लिएको र त्यसबखत २०३२ पुस २६ मिति राखेर नागरिकता प्राप्त गरेको उल्लेख छ । तर उनले २०७५ फागुन ३० मा २०४६ मै जारी भएको तर हराएको नागरिकता फेला परेको भन्दै भुलवश जन्म मिति फरक पर्न गएको र २०६६ मा जारी भएको नागरिकता प्रमाणपत्र रद्द गर्न निवेदन दिएको गृहले जनाएको छ ।

उनका निवेदनको आधारमा २०७६ असोज २३ मा उनको पहिलेकै नागरिकता कायम भई २०६६ मा फरक जन्म मिति कायम भएर जारी गरिएको नागरिकता प्रमुख जिल्ला अधिकारीको निर्णयअनुसार रद्द गरिएको गृह मन्त्रालयले प्रष्ट पारेको छ ।

उनको पछिल्लो नागरिकता रद्द गर्ने निर्णय के कसरी भयो भन्ने आधार समेत गृह मन्त्रालयको पत्रमा उल्लेख छ । नागरिकता ऐन, नियमावली र कार्यविधि निर्देशिकाबमोजिम रद्द भएको नागरिकता पाण्डेले त्यसबीचमा कहिँ प्रयोग गरी कुनै फाइदा नलिएको समेत गृह मन्त्रालयले पुष्टि गरेको छ ।

पाण्डेको सुरु नागरिकता नै कायम रहेको भन्दै गृह मन्त्रालयले उनले नागरिकता ऐनबमोजिम कसूरजन्य कार्य नगरेको जनाएको छ । राहदानीको सम्बन्धमा भने परराष्ट्र मन्त्रालयबाट विवरण लिन समेत गृह मन्त्रालयले आग्रह गरेको छ ।


प्रतिक्रिया

One thought on “संसदको महासचिवमा सिफारिस पाण्डेको नागरिकता विवादमा गृहले दियो ‘क्लिन चीट’ विवरण

  1. कान्तिपुर कांग्रेस र राष्ट्रपति तिमीहरू झेला मात्र गर्न जानेका हौ हुन त comfortable government का अनुयायी न परेउ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर