आदर्श गाउँपालिकाको स्व-मुल्याङ्कन प्रमाणमा कैलारीको पत्र समावेश – Nepal Press

आदर्श गाउँपालिकाको स्व-मुल्याङ्कन प्रमाणमा कैलारीको पत्र समावेश

डोटी । स्थानीय तहको संस्थागत स्व–मुल्याङ्कन (लिजा) मा डोटीको आदर्श गाउँपालिकाले कैलालीको कैलारी गाउँपालिकाको पत्र पेश गरेको भेटिएको छ । लिजामा पूरा गरिएका शर्तहरु पुष्टि गर्न विद्युतीय पोर्टलमा कागजातहरु पेश गर्नु पर्ने व्यवस्था छ । आदर्श गाउँपालिकाले पेश गरेका कागजातहरुमा एउटा कैलारी गाउँपालिकाको कार्यालयको प्रति परेको छ ।

लिजाका १० वटा विषय क्षेत्रमध्ये तेश्रो विषय क्षेत्र वार्षिक बजेट तथा योजना व्यवस्थापनका शर्त नं. ३.२.४ का लागि उक्त पत्र पेश गरिएको पाइएको हो । उक्त शर्तमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २५ अनुसार गैरसरकारी संस्थाहरुले गाउँसभा÷नगरसभाबाट वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गराई कार्यान्वयन गरेको खुल्ने प्रमाण माग गरिएको छ ।

सो प्रमाणको ठाउँमा कैलारी गाउँपालिकाले गत साउन ३ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई वार्षिक प्रगति प्रतिवेदन पठाइएको व्यहोराको पत्रको प्रति पेश गरिएको छ । सो पत्र आदर्श गाउँपालिकाका प्रशासकीय अधिकृत षडानन्द ओझाले पुस २२ गते पेश गरेको देखिएको छ । यो पत्रको उक्त सूचकसँग कुनै सम्बन्ध रहेको देखिदैन ।

आदर्श गाउँपालिकाले धेरै शर्तहरुमा मागेअनुसारको डकुमेण्ट पेश नगरी असम्बन्धित डकुमेण्ट पेश गरेको पाइएको स्थानीय तहका एक कर्मचारी बताउँछन् । ‘सुदूरपश्चिममै उत्कृष्ट अंक ल्याएको भनेपछि मैले पनि त्यहाँबाट केही सिक्न सक्छु भनेर हेरेँ’, नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘तर चर्चामा आउनकै लागि मात्रै अंक दाबी गरेको देखियो ।’ उनले एउटै कागज धेरै ठाउँमा पेश गरिएको समेत दाबी गरे ।

आदर्शमा टोल विकास संस्था गठनै नभएको, सुदूरपश्चिमका कुनै पनि स्थानीय तहहरुले अन्य स्थानीय तहसँग सहकार्य गरी साझा योजना बनाउन नसकेको अवस्थामा यति राम्रो अंक आउन नसक्ने स्थानीय तहमा कार्यरत एक अर्का अधिकृत बताउँछन् ।

उनले भने, ‘दाबी गर्नकै लागि त जति गरेपनि भयो तर स्व-मुल्याङ्कन भनेपछि आफुले आफुलाई मुल्याङ्कन गर्नु हो, कसैसँग प्रतिस्पर्धा गर्नु होइन ।’ आदर्शले पेश गरेका धेरै प्रमाणहरु नमिलेको उनको दाबी छ ।

प्रमाण कागजहरु अपलोड गर्ने क्रममा भुलवश उक्त पत्र पेश भएको हुन सक्ने बताउँछन् गाउँपालिकाका प्रशासकीय अधिकृत ओझा । ‘त्यस्तो त नहुनु पर्ने हो, कतै भुलवश भएको होला’, उनले भने, ‘अर्कै फाइल पेश गर्नु पर्ने बेलामा अर्कै फाइल परेको हुन् सक्छ ।’

एउटै कागज पटक पटक पेश गरिएको विषयमा ओझा भन्छन्, ‘त्यसो भएको छैन, कतिपय प्रमाण कागज धैरै शर्तसँग सम्बन्धित हुन्छन्, त्यस्तो अवस्थामा दोहोरिएर पेश हुने नै भयो, अन्यथा अनावश्यक डकुमेण्ट पेश गरिएको छैन ।’

आर्थिक वर्ष ०७९/०८० को संस्थागत स्व–मुल्याङ्कनमा आदर्श गाउँपालिकाले ९५.५ प्रतिशत अंक दाबी गरेको छ । उक्त दाबीअनुसार आदर्श सुदूरपश्चिममै उतकृष्ट बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर