चितवन कांग्रेसको विवाद छताछुल्ल- सभापति खनाल तानाशाही भएको मिलनबाबुको आरोप – Nepal Press

चितवन कांग्रेसको विवाद छताछुल्ल- सभापति खनाल तानाशाही भएको मिलनबाबुको आरोप

चितवन । स्थानीय र संघीय निर्वाचनदेखि नै नेपाली कांग्रेस चितवनमा आन्तरिकरूपमा बढेको आरोपप्रत्यारोप पुन: छताछुल्ल भएको छ ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका निकटतम प्रतिद्वन्द्वी मिलनबाबु श्रेष्ठले विज्ञप्ति नै निकालेर सभापति खनाललाई तानशाहको आरोप लगाएपछि विवाद सतहमा आएको हो ।

देशभर गठबन्धन सरकार भएको अवस्थामा जिल्लाका सहकारी, विद्यालय व्यवस्थापन समिति, उद्योग वाणिज्य संघको निर्वाचनलगायतमा राजेश्वर खनालले एकलौटी निर्णय गर्ने गरेको श्रेष्ठ पक्षधरको आरोप छ ।

विज्ञप्तिमार्फत श्रेष्ठले स्थानीय तहमा गठबन्धनको विरोध गरेको, पार्टीलाई संस्थागतभन्दा पनि एकलौटी सञ्चालन गरेको आरोप लगाएका छन् ।

नेपाल प्रेससँगको कुराकानीमा पनि श्रेष्ठले भने, ‘राजेश्वरले पार्टीलाई घर चलाएको झैँ गरेका छन् । आफ्ना आसेपासेलाई मनलाग्दी मनोनीत गर्ने, गठबन्धनलाई नसघाउने गरेका छन् ।’

चितवनमा अहिले कुनै पनि ठूला राजनीतिक दलका तर्फबाट प्रत्यक्षमा निर्वाचित प्रतिनिधिसभा सदस्य छैनन् । समानुपातिकतर्फ पनि कांग्रेसको मत पाँचौ स्थानमा थियो ।

जिल्लामा गठबन्धन भए पनि पार्टी सभापति खनालले गठबन्धनको विरोध गरेका कारण पार्टी पाँचौँ स्थानमा खुम्चिनुपरेको समेत उनीहरूको आरोप छ । खनाल शेखर कोइरालानिकट हुन् भने श्रेष्ठ केन्द्रीय सभापति शेरबहादुर देउवानिकट हुन् । देउवानिकट समूह पार्टी जिल्ला कमिटीमा आधाजसो भए पनि कहिल्यै सुनुवाइ नहुने उनीहरूको गुनासो छ ।

जिल्ला कार्यसमितिमा २० जना सदस्य मनोनीत गर्न पाउने भए पनि त्यसमा समेत एकलौटी गरेको उनीहरूको आरोप छ । एक वर्षअघि पनि श्रेष्ठले सभापति खनालविरुद्ध विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्ति पनि पार्टी सदस्यमा दुवै पक्षका बराबरी मनोनीत गर्ने सहमति भए पनि पालना नगरेको श्रेष्ठले बताए ।

तर, सभापति खनाल भने आफूले मनोमानी नगरेको बताउँछन् । उनले एक महिनाअघि युरोप भ्रमणमा जानुअघि श्रेष्ठसँग आफ्नो कुराकानी भएको र फर्किएपछि पनि राम्रो कुराकानी भएको बताए ।

‘कुराकानीमा उहाँले मसँग कुनै असन्तुष्टि राख्नुभएको छैन । त्यसैले विज्ञप्तिको विषय मैले जान्ने कुरा भएन’, खनालले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर