राप्रपा विवादः राजेन्द्र लिङदेन गरम, लोहनी-मिश्र नरम – Nepal Press

राप्रपा विवादः राजेन्द्र लिङदेन गरम, लोहनी-मिश्र नरम

लिङदेनको आरोपमा मिश्रले भने- हो मैले राप्रपा बुझेको छैन, बुझ्न प्रयासरत छु

काठमाडौं । कोशी प्रदेशमा सभामुख पद लिने निर्णयसँग राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रमा उत्पन्न भएको आन्तरिक विवाद यत्तिकै मत्थर भएको छ । अध्यक्ष राजेन्द्र लिङदेन आक्रामकरूपमा प्रस्तुत हुँदा असन्तुष्ट नेताहरू रक्षात्मक देखिएका छन् ।

राप्रपाको कोशी प्रदेश कमिटीले सभामुख खाने निर्णयलगत्तै पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले निर्देशन समितिको वैठक राखेका थिए । डा. लोहनी अध्यक्ष रहेको निर्देशन समितिमा पार्टीका उपाध्यक्ष, महामन्त्रीहरू पनि छन्, तर यो समिति सेरेमोनियल मात्र हो । पार्टीलाई सल्लाह-सुझाव दिने बाहेक यो समितिसँग कुनै पनि कार्यकारी अधिकार हुँदैन । यो नाममात्रको निर्देशन कमिटी हो ।

निर्देशन समितिको वैठकमा अध्यक्ष लिङदेन निकट नेताहरू उपस्थित थिएनन् । बैठकले कोशीमा सभामुख पद स्वीकार गर्ने प्रदेश कमिटीको निर्णयलाई गलत ठहर गर्‍यो । बैठकपछि डा. लोहनीले एक विज्ञप्ति जारी गर्दै सभामुख पदको उम्मेदवारी फिर्ता लिन पार्टी नेतृत्वलार्ई निर्देशन दिए । तर, त्यतिबेलासम्म कोशीमा राप्रपाका अम्बरबहादुर विष्ट सभामुखमा निर्विरोध निर्वाचित भइसकेका थिए । लोहनीको विज्ञप्ति सामाजिक सञ्जाल र सञ्चारमाध्यममै सिमित भयो ।

कोशीमा सभामुख चुनाव हुँदा अध्यक्ष लिङदेन मलेसियामा थिए । प्रदेश कमिटीले उनकै योजना र निर्देशनअनुसार सभामुख स्वीकार्ने निर्णय लिएको थियो । तर, डा. लोहनीको निर्देशनले पार्टी पंतिमा खैलाबैला भयो । यद्यपि, निर्णय परिवर्तन हुने सम्भावना थिएन ।

अहिले यो विषयलाई लिएर अध्यक्ष राजेन्द्र लिङदेन डा. लोहनीप्रति आक्रोशित देखिएका छन् । एकपछि अर्को अन्तर्वार्ता दिँदै उनले लोहनीमाथि तीव्र प्रहार गरिरहेका छन् । निर्देशन समितिको निर्देशन नै अनधिकृत रहेको उनको ठम्याइ छ ।

‘निर्देशन समितिले पार्टीको महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई निर्देशन दिने हैसियत राख्दैन,’ उनी भन्छन्, ‘डा. लोहनीलाई निर्देशन समितिको अध्यक्ष बनाएकै मैले हो । यो समितिसँग पार्टीलाई सरकारमा जाने-नजाने र राजनीतिक नियुक्तिका विषयमा सल्लाह सुझाव दिनेबाहेक अरु अधिकारै छैन । समितिले दिएको निर्देशनमा कुनै छलफल हुँदैन ।’

पछिल्लो एक टेलिभिजन अन्तर्वार्तामा लिङदेन पार्टी उपाध्यक्ष रवीन्द्र मिश्रमाथि पनि खनिएका छन् । मिश्रले राप्रपालाई बुझ्नै बाँकी रहेको उनको टिप्पणी छ ।

लिङदेन भन्छन्, ‘उहाँले राप्रपालाई के बुझ्नुभएको छ र ? आउनुभएको एक-डेढ वर्ष त भयो । पार्टी सरकारमा जानु ठीक थियो कि थिएन, कोशीको सभामुख लिनु ठीक हो कि होइन भन्नेमा उहाँले आफ्नो विचार राख्नुभयो होला । त्यो ठूलो कुरा होइन ।’

राप्रपाभित्र कडा राजावादी र नरम राजावादीको दुई धार छ । कडा राजावादीहरू कुनै पनि तहको सरकारमा जाने विषयमा राप्रपाले सोच्नु पनि नहुने र निर्णायक आन्दोलनमा उत्रिहाल्नुपर्ने अडानमा छन् । नरम राजावादीहरू चाहीँ मौका पाए सरकारमा जानुपर्ने पक्षमा छन् । यद्यपि, पार्टीले फागुनबाट राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनमा होमिने आधिकारिक निर्णय लिइसकेको छ ।

आन्दोलनमा जाने निर्णय गरिसकेको पार्टीले सानातिना नियुक्तिहरूमा र्‍याल काढिरहन नहुने असन्तुष्ट समूहको भनाइ छ । यो समूहको नेतृत्व डा. लोहनी र मिश्रले गर्छन् । महामन्त्री डा. धवलशम्शेर राणा पनि यही लाइनमा छन् । अध्यक्ष लिङदेन पक्षधर भने आन्दोलन पनि गर्ने र आएको मौका उपयोग पनि गर्न पक्षमा देखिन्छन् । यही विषयले विवाद बढाएको हो ।

लिङदेनको कडा अभिव्यक्तिपछि डा. लोहनीले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । नेपाल प्रेसले उनीसँग यस विषयमा प्रश्न राख्दा खासै बोल्न चाहेनन् ।

उनले भने, ‘हामीले निर्देशन दिएका छौं । निर्णय गर्नका लागि पार्टीमा विभिन्न कमिटीहरू छन् । उनीहरूले छलफल गर्लान् ।’

तर, लिङदेनले निर्देशन समितिले दिएको निर्देशन नै अनधिकृत भन्नुभएको छ नि भन्ने प्रश्नमा डा. लोहनीले जवाफ दिए, ‘मेरो थप भन्नु केही छैन ।’

उपाध्यक्ष मिश्रले भने लिङदेनले आफूमाथि लगाएको आरोपमा निकै नरम प्रतिक्रिया दिएका छन् । हिजो सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लिङदेनको भनाइ ठीकै भएको बताए ।

मिश्रको भनाइ यस्तो थियोः

‘राप्रपामा ३० वर्षं, ३३ वर्ष काम गरेका वरिष्ठ नेताहरू हुनुहुन्छ । उहाँहरूले म १५ महिनाअगाडि आएको व्यक्तिलाई राप्रपा बुझ्नुभएको छैन भन्नु अत्यन्त स्वाभाविक हो । तर, मैले देशभरि व्यापकरूपमा भ्रमण गरेको छु । राप्रपाका सामान्य सदस्यदेखि स्थानीय र वरिष्ठ नेताहरूले मलाई राप्रपा चिनाउने, बुझाउने कुरामा प्रशस्त सहयोग गर्नुभएको छ । अध्यक्षले पनि सहयोग गर्नुभएको छ । त्यसैले… हो त… मैले बुझेको छैन । मैले नबुझ्नु स्वाभाविक हो । मलाई सबैले सहयोग गरिदिउँ । म बुझेर अगाडि बढ्न चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर