आईसिसी यू-१९ विश्वकपमा नेपालसँग स्तब्ध हुने पाचौँ टेस्ट टोली बन्यो अफगानिस्तान – Nepal Press

आईसिसी यू-१९ विश्वकपमा नेपालसँग स्तब्ध हुने पाचौँ टेस्ट टोली बन्यो अफगानिस्तान

काठमाडौं। नेपालले दक्षिण अफ्रिकामा जारी आईसिसी यू-१९ विश्वकप क्रिकेटमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले हराएर सुपर सिक्सको यात्रा तय गर्यो। अघिल्ला दुई खेलमा पाकिस्तान र न्युजिल्यानसँग हार ब्यहोरेको नेपालले टेस्ट टोलीलाई हराएर दोस्रो चरण पुगेको हो। नेपाल रहेको समूहमा बाँकि तीनवटै टोली टेस्ट मान्यताप्राप्त थिए। त्यही कारण नेपालको दोस्रो चरण यात्रा त्यति सहज थिएन।

नेपाल प्रतियोगिताको इतिहासमा केवल तेस्रोपटक मात्र पहिलो चरण पार गर्न सफल भएको हो। सन् २००० र २०१६ को विश्वकपमा नेपाली टोली दोस्रो चरण पुगेका थियो।

अफगानिस्तान विश्वकपमा नेपालसँग पराजित हुने पाचौँ टोली बन्यो। नेपालले विश्वकपमा टेस्ट टोलीलाई हराएको भने यो सातौँपटक हो। नेपालले हालसम्म दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड र बंगलादेशलाई हराएको छ। सन् २००२ मा नेपालले पाकिस्तान र बंगलादेशलाई हराएको थियो। समूहगत चरणमा पाकिस्तानलाई हराएको नेपाल तीन टोलीको समान अंक भएपनि नेटरनरेटमा पछाडि रहेर अगाडि बढ्न सकेन। तर प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशलाई पाखा लगाएर नेपालले फेरी सनसनी मच्चायो। बंगलादेशले तीन वर्षअघि मात्र टेस्ट मान्यता पाएको थियो। यी दुई टोली सन् १९९९ मा एसिसी यू-१९ कपको फाइनलमा भिडेका थिए।

सन् २००४ मा आयोजित विश्वकपमा पनि नेपालले टेस्ट टोलीलाई हराएको थियो। यसपटक हार्ने पालो दक्षिण अफ्रिकाको थियो। तर फेरी नेपाल नेटरनरेट आधारमा पछाडि परेर अगाडि बढ्न सकेन। २ वर्षपछि आयोजित अर्को संस्करणमा नेपालले दुई टेस्ट टोलीलाई हरायो।

प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा दक्षिण अफ्रिका र फाइनलमा न्युजिल्यान्डलाई हराएको थियो। त्यसयता नेपालले विश्वकपमा टेस्ट टोलीलाई हराउन १० वर्ष लाग्यो। सन् २०१६ मा नेपालले न्युजिल्यानडसमेतलाई हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको थियो। त्यसको एकवपछि नेपालले भारतलाई एसिसी यू-१९ एसिया कपमा हराएको थियो।

नेपालले शुक्रबार हराएको अफगानिस्तानले टेस्ट मान्यता पाएको धेरै भएको छैन। सन् २०१७ मा अफगानिस्तानले टेस्ट मान्यता पाउनुअघि एसियाली एसोसिएट क्रिकेटमा यी दुई टोली चिरप्रतिद्धन्द्धी थिए। सन् २००७ पछि अफगानिस्तानले नेपाललाई प्राय दबाबमा राख्ने गरेको थियो। सन् २०११ मा आयोजित यू-१९ विश्वकप छनोटमा नेपालले अफगानिस्तानलाई हराएको थियो। सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले सन् २०१४ मा मात्र आएर अफगानिस्तानलाई हराएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर