राष्ट्रपति र प्रधानमन्त्रीलाई भगवती जात्रामा निम्तो गर्न पाल्पाको टोली काठमाडाैंमा – Nepal Press

राष्ट्रपति र प्रधानमन्त्रीलाई भगवती जात्रामा निम्तो गर्न पाल्पाको टोली काठमाडाैंमा

रुपन्देही । पाल्पामा प्राचीन कालदेखि मनाउँदै आएको ऐतिहासिक भगवती जात्रा (खट यात्रां)लाई राष्ट्रिय कार्यक्रममा समावेश गर्न माग गर्दै उक्त विशेष कार्यक्रममा राष्ट्रपति तथा प्रधानमन्त्रीसहितको उच्च पदस्थ व्यक्तिहरुलाई निम्तो गर्न पाल्पाका जनप्रतिनिधिसहितको टोली काठमाडौं पुगेको छ ।

पाल्पाबाट प्रतिनिधि सभामा निर्वाचित ठाकुर गैरेको नेतृत्वमा गएको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस्तो आग्रह गरेको हो ।

टोलीले कर्णेल उजिरसिंह थापा नेतृत्वको पाल्पाली सेना र ब्रिटिश सेनाबीच वि.स. १८७१ १८७२ मा पाल्पाको नुवाकोट र रुपन्देहीको जितगढी क्षेत्रमा युद्ध भएको र त्यो युद्ध मैदानमा जानेबेला देवी भगवतीसँग आशिर्वाद लिएर गएका कर्णेल उजिरसिंहको नेतृत्वको सेनाले अङ्ग्रेज सेनालाई पराजित गर्न सफल भएपछि उक्त खुसियालीमा तानसेनमा तिन तले श्री ७ रणउजेश्वरी भगवती मन्दिर निर्माण गरी वि.स. १८७७ को कृष्ण जन्माष्टमी तिथि पारेर विजयउत्सवका रुपमा मनाइँदै आइएको भगवती जात्रा (खट यात्रा)लाई राष्ट्रिय पर्व बनाउन माग गरेको छ ।

अंग्रेज सेनालाई पराजित गर्न सफलता प्राप्त भएको गौरवपूर्ण इतिहाससँग जोडिएको विजयउत्सवको रुपमा स्थापित, धार्मिक रुपले जनताको आस्थासँग जोडिएको साथै धार्मिक पर्यटनको दृष्टिले समेत अत्यन्तै महत्वपूर्ण रहेको भगवती जात्रालाई राष्ट्रिय उत्सवका रुपमा अझ भव्य र प्रभावकारी बनाएर सरकारले यो समारोहलाई औपचारिक पर्व, महोत्सवको रुपमा कार्यतालिकामा समावेश गरिदिन र सम्माननीय राष्ट्रपति, प्रधामन्त्रीज्यू एवं उच्च पदस्थ व्यक्तित्वहरूको सहभागिता हुने व्यवस्था मिलाईदिन अनुरोध गरिएको सांसद गैरेले बताए ।

टोलीमा पाल्पाका सबै राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *