दलको नेता फेर्न सुदूरपश्चिमका बहुमत सांसदले त्यसै दिन प्रधानमन्त्रीलाई गरेका थिए संकेत (पत्रसहित) – Nepal Press

दलको नेता फेर्न सुदूरपश्चिमका बहुमत सांसदले त्यसै दिन प्रधानमन्त्रीलाई गरेका थिए संकेत (पत्रसहित)

कैलाली । माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा आज संसदीय दलको नेता परिवर्तन गरेको छ । खगराज भट्टलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले मानबहादुर धामीलाई दलको नेता चयन गरेका हुन् ।

धामीलाई दलको नेता बनाउने निर्णयमा हस्ताक्षर गर्नै धामीसहित अक्कल रावल, ओमविक्रम भाट सरल, गीता देवी माल लक्ष्मी विक र शिव सिंह ओलीले करिब एक महिनादेखि यो पहल गरेको खुलेको छ ।

यस विषयमा ६ जनाले प्रधानमन्त्रीसहित माओवादी शीर्ष नेतालाई जानकारी समेत गराइसकेका थिए । पुस १९ गते काठमाडौँमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेतालाई भेटेर संसदीय दलका नेता तथा सरकारको कामबारे बहुमत प्रदेश सभा सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका थिए ।

पुस १९ गते सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, मानबहादुर धामी, राज्यमन्त्री गीता मालसहित सात जना प्रदेश सभा सदस्यहरूले प्रधानमन्त्रीलाई सुदूरपश्चिम सरकार हेरफेर गर्न आग्रह गरेका थिए । भण्डारी, धामी र मालसहित माओवादीका सांसद अक्कल रावल, ओम विक्रम भाट सरल,शिवसिंह ओली र लक्ष्मी विकसहितले सरकारको काम प्रभावकारी नभएको गुनासो गर्दै प्रधानमन्त्रीलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाइएको थियो ।

उक्त ज्ञापन पत्रमा सरकारको कामले जनताको विश्वास घटिरहेको, बजेट पारित गर्दा सरकारसँग गरिएको सहमति कार्यान्वयन नगरेको जसका कारण सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्र पनि जान समस्या भएको उल्लेख गरिएको छ ।

सरकारमा माओवादीको हैसियत अनुसार मन्त्रीहरूको वरीयता नदिएको भन्दै ज्ञापन पत्रमा संसदीय दलको नेताको कमजोरी पनि उल्लेख गरिएको थियो ।

‘सरकार र संसदीय दलको बीचमा समन्वय गर्ने प्रभावकारी नेतृत्व गर्ने सक्षम संसदीय दलको नेता हुनुपर्नेमा वर्तमान दलको नेताबाट उक्त भूमिका निर्वाह गर्न उदासीनता तथा अकर्मण्यता देखिएको छ’, प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘जसबाट दलभित्र नेतृत्व प्रति व्यापक असन्तुष्टि एवम् अविश्वास बढिरहेको छ ।’

याे पनि पढ्नुस् : सुदूरपश्चिममा माओवादीका मन्त्री हेरफेर गर्न शीर्ष नेताको ‘ग्रीन सिग्नल’

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा समयमै प्रभावकारी कार्य गर्ने गरी मन्त्रीहरूको नयाँ सेट पठाउन पनि जोड दिइएको थियो । उक्त ज्ञापन पत्रमा नै संसदीय दलका बहुमत सदस्यहरूको भावना अनुसार अगाडि नबढेमा दलको विधान र संसदीय परम्पराअनुसार अगाडि बढ्ने भन्दै संसदीय दलको नेता परिवर्तन गर्ने सङ्केत बहुमत प्रदेश सभा सदस्यहरूले प्रधानमन्त्रीलाई दिएका थिए ।

उक्त विज्ञप्तिमा ६ जना प्रदेश सभा सदस्यहरूले हस्ताक्षर गरेका थिए । आज दलको नेता परिवर्तन गर्दा ती ६ जनानै सहमत भए ।

अहिले सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीको तर्फबाट २ मन्त्री र १ जना राज्यमन्त्री छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी र सामाजिक विकास मन्त्रीमा झपट साउद छन् । राज्यमन्त्रीमा गीता माल नै छिन् ।

दुई मन्त्री दलको नेता हटाउने निर्णयमा सहभागी छैनन् भने राज्यमन्त्री दलको नेता हटाउने लबिङमा काठमाडौँ सम्म पुगेकी थिइन् ।

बहुमत प्रदेश सभा सदस्यहरूले अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, सचिव डिलाराम आचार्यलगायतलाई भेटेर संसदीय दलका नेताबाट प्रभावकारी काम नभएको गुनासो गरेका थिए । काठमाडौँमा प्रधानमन्त्री सहितको शीर्ष नेताबाट ग्रिन सिंग्नल पाएपछि आज दलको नेता हटाइएको माओवादी नेताहरुले बताएका छन् ।

‘काठमाडौँबाट फर्किएपछि बैठक राख्न पटक पटक आग्रह गर्दा पनि उहाँ(खगराज भट्ट)ले बैठक नराखेपछि आज हामीले बैठक राखेर दलको नेता हेरफेर गरेका हौँ’, उपनेता अक्कल रावलले भने ।

अब सरकारसँग पनि विकास निर्माण र सरकारको सक्रियताका विषयमा छलफल गर्ने उनले बताए । मन्त्री हेरफेर प्रमुख सचेतक नियुक्त लगायतको विषयमा अर्काे बैठकमा छलफल हुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर