कांग्रेसले अहिल्यै गठबन्धनको साथ छाड्न मिल्दैन: सिंह – Nepal Press

कांग्रेसले अहिल्यै गठबन्धनको साथ छाड्न मिल्दैन: सिंह

हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले अहिल्यै कांग्रेसले गठबन्धनको साथ छाडन नमिल्ने बताएका छन् ।

नेपाली कांग्रेसको ७८औं स्थापना दिवसको अवसरमा हेटौंडामा भएको कार्यक्रममा पूर्वमहामन्त्री सिंहले संविधान जारी गर्दा र संविधान बचाउनसँगै हातेमालो गरेका दलहरुको साथ तुरुन्तै छाडन नहुने बताए ।

‘हामीले समस्या पर्दा उहाँहरूको साथ लिएर मुलुकलाई निकास दिएका छौं, अब अहिले आफूहरुको अवस्था सहज हुँदै गयो भन्दैमा दुःखमा साथ दिने दलहरुलाई एक्लै छाडेर हिँड्नु भएन नि’, उनले भने ।

नेता सिंहले नेपाली राजनीतिमा विश्वासको वातावरण भने कमजोर भएको आफूले महसुस गरेको उल्लेख गरे ।

उनले राजनीतिक दलहरुमा यस्ताखाले समस्या भए मुलुकले दुःख पाउने बताए ।

‘संविधान कार्यान्वयन र संघीयतालाई थप बलियो बनाउन संघले छिटोभन्दा छिटो ऐन-कानून बनाएर प्रदेश र स्थानीय तहलाई दिनुपर्छ’, उनले भने, ‘केही नयाँ भनिएका दलहरुले आममानिसमा व्यवस्था परिवर्तन हुँदा पनि अवस्था परिवर्तन नभएको भन्दै जनतामा भ्रम छर्ने काम गरेका छन् । ती दललाई २०६४ को व्यवस्थाअघि नेपाली जनताको अवस्था र २०४७ सालपछिको नेपालीको अवस्थाबारे बुझेर बोल्न अनुरोध गर्छु ।’


प्रतिक्रिया

One thought on “कांग्रेसले अहिल्यै गठबन्धनको साथ छाड्न मिल्दैन: सिंह

  1. साथ छोड्यो भने त मालिक दिल्ली रिसाउँछ नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर