दलित बिहे गरेका कारण पुरोहित नआउँदा रोकियो तिथिको श्राद्ध – Nepal Press

दलित बिहे गरेका कारण पुरोहित नआउँदा रोकियो तिथिको श्राद्ध

चितवन । काभ्रेमा एक परिवारले दलित बुहारी भित्र्याएको कारण पुस्तेनी पुरोहितले इन्कार गर्दा तिथिको श्राद्ध नै रोकिएको छ ।

काभ्रेको भुम्लु गाउँपालिका- २, सिम्थलीको धर्मध्वज भण्डारीले दलित महिलासँग विवाह गरेको कारण पण्डित माधव न्यौपानेले इन्कार गरेपछि बाबुको श्राद्ध नै रोकिएको हो ।

धर्मध्वजका बाबुको श्राद्ध गर्ने तिथि बिहीबार थियो । धर्मध्वज र उनकी श्रीमती देवकीले एक साताअघि नै श्राद्ध गर्न आइदिन पुरोहित न्यौपानेलाई अनुरोध गरेका थिए । तर, हिजो श्राद्धको सामग्री ठीक पारेर बसेको परिवारकहाँ श्राद्ध गर्न पण्डित न्यौपाने गइदिएनन् ।

धर्मध्वजकी आमा गंगादेवी भण्डारीले बेलुका ९ बजेसम्म केही नखाइ आफूहरु कुरेर बसेको बताइन् । ‘एकै दिन धेरै ठाउँमा श्राद्ध गर्ने तिथि पर्ने भएकाले ढिला होला भनेर आमाछोरा कुरिरह्यौं’, गंगादेवीले नेपाल प्रेससँग भनिन्, ‘ढिलो भयो, गुरुलाई फर्किंदा साधनको व्यवस्था गर्नुपर्छ भनेर तयारी गरेका थियौं । तर, गुरु आउनुभएन ।’

धर्मध्वजका बुबा रामबहादुर भण्डारीको २०७७ साल माघ ३० गते निधन भएको हो । पुस्तेनी पुरोहित भएकोले रामबहादुरको किरिया, वार्षिक तिथिलगायतका सबै काम न्यौपानेले नै गर्दै आएका थिए ।

अघिल्लो वर्ष पनि उनैले श्राद्ध गराएका थिए । ‘हाम्रो परिवारको पुरोहित नै उहाँ हो’, गंगाले भनिन्, ‘तर, खबर गर्दा पनि मैले दलित बुहारी भित्र्याएको भएर उहाँ आउनुभएन ।’

धर्मध्वजकी श्रीमती देवकीले एक साताअघि नै भेटेर श्राद्धको मिति सम्झाउँदा ‘तिमीहरुकोमा आएर श्राद्ध गरिदिन सम्भव छैन । बरु भाइको घरमा गरिदिने भए आउँछु’ भनेको बताइन् ।

‘उहाँले अब यो सम्भव छैन भन्नुभएको त थियो । तर, हामीले उहाँबाहेक अरु पुरोहितलाई कहिल्यै नलगाएको भएर हजुर नै आएर बुबाको श्राद्ध गरिदिनुपर्छ भनेर अनुरोध गरेका थियौं, आउनुहुन्छ भन्नेमा ढुक्क पनि थियौं । तर, आउनुभएन’, देवकीले भनिन् ।

देवकी काभ्रेको भुम्लु- २ मै रहेको बालउन्नति आधारभूत विद्यालयकी प्राथमिक तह स्थायी शिक्षक हुन् ।

२०७९ साल असार २२ गते देवकी र धर्मध्वजले परिवारको स्वीकृतिमा विवाह गरेका थिए । पशुपतिमा विवाह भए पनि आमा गंगादेवीले बुहारीलाई खुशीखुशी घर भित्र्याएकी थिइन् ।

दलित बुहारी भित्र्याएपछि गाउँबाटै एक्लो बनाएको उनको भोगाइ छ । ‘गाउँलेले नानाथरि कुरा काटे पनि मेरा यिनै हुन्, दलित बुहारी भनेर मेरो केही गुनासो छैन’, गंगादेवीले भनिन्, ‘तर, मेरो श्रीमानको श्राद्ध गर्न पाइन नानी !’

दलित बुहारी भित्र्याएपछि उनलाई गाउँलेले खुट्टा भाँच्नेसम्म धम्की दिएको बुहारी देवकीले बताइन् । घर र विद्यालय अलि टाढा पर्ने भएकोले धर्मध्वज र देवकी स्कुल नजिकै बस्छन् ।

उनीहरुले स्कुल नजिकै २५ रोपनी जमिन भाडामा लिएर बाख्रापालन पनि गर्दै आएका छन् । १६ वर्षदेखि शिक्षण पेशामा रहेकी देवकीले भनिन्, ‘म विद्यार्थीलाई जातीय छुवाछूत गर्नु हुँदैन भनेर पढाउँछु । तर, आज आफैंले गैरदलितसँग विवाह गर्दा बहिस्कृत हुनुप¥यो ।’

पुरोहित माधव न्यौपानेले भने दलित भनेर श्राद्ध गर्न नगएको भन्नु गलत भएको दाबी गरेका छन् । उनले आफू अधिकांश समय काठमाडौं हुने भएकोले श्राद्ध गर्न जान नसक्ने पहिल्यै जानकारी गराएकोले नगएको बताए ।


प्रतिक्रिया

One thought on “दलित बिहे गरेका कारण पुरोहित नआउँदा रोकियो तिथिको श्राद्ध

  1. केही भन्नुछ अब धर्मशास्त्रीहरुलाई २१ औ शताब्दीमा छुवाछूतको पराकाष्ठा अझैसम्म बिध्यामान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर