सुदूरपश्चिममा खगराजलाई हटाउन माओवादीका यी ६ सांसदको साथ, सरकारको काम-कारवाहीमा प्रश्न – Nepal Press

सुदूरपश्चिममा खगराजलाई हटाउन माओवादीका यी ६ सांसदको साथ, सरकारको काम-कारवाहीमा प्रश्न

कैलाली । सुदूरपश्चिम प्रदेशमा माओवादीका बहुमत प्रदेशसभा सदस्यहरूले संसदीय दलको नेता परिवर्तन गरेका छन् । आज बसेको संसदीय दलको बैठकले संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाउने निर्णय गरेको हो ।

भट्ट यहाँका सिनिअर नेता हुन् । केही समयअघि सम्म प्रदेश इन्चार्जको जिम्मेवारीमा समेत रहेका भट्ट हाल स्थायी कमिटी सदस्य छन् । सुदूरपश्चिममा माओवादीका एकजना मात्रै स्थायी कमिटी सदस्य हुन् भट्ट ।

आज संसदीय दलका नेताको जिम्मेवारी पाएका मानबहादुर धामी यसअघि पनि प्रदेश सभा सदस्य थिए । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत भइरहेका धामी सुदूरपश्चिम प्रदेश अध्यक्षमा झिनो मतले पराजित व्यक्ति हुन् ।

खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाउँदा ६ जना प्रदेशसभा सदस्यहरूले निर्णय गरेका छन् । ११ जना प्रदेशसभा सदस्य रहको सुदूरपश्चिममा एकजना सभामुख छन् ।

मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट सरल, गीता देवीमाल लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णयमा हस्ताक्षर गरेका छन् । आजको बैठकमा खगराज भट्ट, झपट साउद, रमेश धामी र जनकी देवी कुवर भने उपस्थित भएनन् ।

सबैलाई बैठकमा उपस्थित हुन खबर गरिएको तर, चारजना उपस्थित नभएको दलका नेता तोकिएका धामीले नेपाल प्रेसलाई जानकारी दिए । उनले केन्द्रका शीर्ष नेताहरूलाई जानकारी दिएरै प्रदेशमा दलको नेता हेरफेर गरिएको बताए ।

‘सुदूरपश्चिममा माओवादी दोस्रो ठूलो दल हो सरकारमा पनि सहभागी छ तर, कुनै प्रभावकारी काम नभएको देखिन्छ ’ उनले भने ‘संसद् र सरकार बलियो बनाउन दलको नेता हेरफेर गरिएको हो ।’

उनले हाल दलको नेतामात्रै फेरिएको र सरकारलाई दिएको समर्थन यथावत् रहेको भन्दै मन्त्री फिर्ता बोलाउने विषयमा थप छलफल हुने बताए । यहाँ अहिले कांग्रेस नेतृत्वको सरकार छ ।

उनले भने, ‘सरकार बलियो हुन सकेन र प्रभावकारी काम गर्न सकेन भन्ने हाम्रो ठहर हो । गठबन्धनको मर्म अनुसार अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने होइन तर, मन्त्रीहरूको विषयमा हामी फेरी छलफल गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर