स्थानीय तहमा पराजित सापकोटा राष्ट्रिय सभामा सुरक्षित – Nepal Press

स्थानीय तहमा पराजित सापकोटा राष्ट्रिय सभामा सुरक्षित

रुपन्देही । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ पुष्पा भुसालले पाएको टिकट फुत्काएर नेपाली कांग्रेस इतर समूहबाट उम्मेदार बनेकी गुल्मीकी महिला नेतृ विष्णुकुमारी सापकोटा विजयी भएकी छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजित भएकी उनी संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको यात्रा तय गरेकी हुन् । लुम्बिनी प्रदेशको महिलातर्फबाट राष्ट्रियसभामा कांग्रेसले नै भाग पाउने भएपछि उम्मेदार छान्न अन्तिम अवस्थासम्म पनि सापकोटाको नाम पछाडि नै थियो ।

संस्थापन समूहमा बलियो मानिएकी अर्घाखाँचीकी पुष्पा भुसाललाई सभापति शेरबहादुर देउवासहितको टीमले अगाडि सारिसकेको थियो । भुसाल निकटस्थहरुले केही संचार माध्यमलाई यो समाचार पनि लेखाइसकेका थिए भने सामाजिक सन्जालमा पनि शुभकामना आइसकेको थियो ।

भुसाल पछिल्लो प्रतिनिधि सभामा अर्घाखाँचीबाट पराजित भएकी थिइन् भने त्यसअघि समानुपातिकबाट छनौट भएर अन्तिम कार्यकालमा उपसभामुख बनेकी थिइन् । सापकोटाको उम्मेदारी कायम गराउन कांग्रेस नेता चन्द्र भण्डारीको पनि विशेष भूमिका रहेको थियो ।

उम्मेदार छनौटको टुंगो लागेकी भुसालको उम्मेदारी खोसेर पार्टीका लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनको पहलमा सापकोटाले उम्मेदारी पाएकी हुन् । मनोनयन गर्ने अघिल्लो दिन रातभरी बैठक बसेर बिहान ५ बजे मात्रै सापकोटाको पक्षमा निर्णय भएको थियो । उनै सापकोटा बिहीवार सम्पन्न निर्वाचनमा ५ हजार ४३५ मतभारसहित विजयी भएकी हुन् ।

सापकोटा ०७४ सालको स्थानीय तहको निर्वाचनमा मुसिकोट नगरपालिकामा उपप्रमुखको उम्मेदवारसमेत बनेपनि नेकपा एमालेकी कमला शर्मासँग पराजित भएकी थिइन् । स्थानीय तहको चोटलाई भुलाउने गरी संसद्को माथिल्लो सदनमा पुगेपछि उनलाई गुल्मीमा बधाई दिनेको ओइरो लागेको छ ।

सापकोटाले प्रजातन्त्र र लोकतन्त्रको पक्षमा काम रहेको बताउँदै सापकोटाले राष्ट्रियसभामा पनि सोही अनुसारको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टीले दिएको अवसरलाई राष्ट्रियहितमा उपयोग गर्ने जनाएकी छन् ।

सरल जीवनशैली अपनाउन रुचाउने सापकोटा विसं २०२३ असार १० गते मुसिकोट नगरपालिका–८ मा जन्मिएकी हुन् । कांग्रेसभित्र मात्र होइन बाहिर पनि बौद्धिक र क्षमतावानको पहिचान बनाएकी नेतृ हुन् उनी । शारदा विद्या मन्दिर माविमै कक्षा ४–५ मा पढ्दैबाट जुनियर रेडक्रस सर्कलहरूमा आवद्ध भएर नेतृत्वको विकास गरेकी थिइन् उनले ।

महेन्द्र आदर्श माविबाट नेपाल विद्यार्थी संघमा आवद्ध भएर औपचारिक रुपमा विद्यार्थी राजनीति सुरु गरेकी उनी पद्मकन्या क्याम्पसमा नेविसंघ सदस्य, पाटन संयुक्त क्याम्पसको इकाई समापति हुँदै २०५५ सालमा सोही क्याम्पसकीे स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सदस्यमा निर्वाचित भएकी थिइन् ।

२०५८ सालमा नेविसंघको छात्रा विभागअन्तर्गत केन्द्रीय सदस्य भएको केही समयपछि गृहजिल्लाको राजनीतिमा फर्किएकी हुन् । ०६३ देखि ०७४ सम्म जिल्लामा महिला संघको सभापति, ०७४ सालमै नेपाली कांग्रेसको १३ महाधिवेशनबाट जिल्ला सचिव बनेकी सापकोटा १४ औं महाधिवेशनबाट कांग्रेस लुम्बिनी प्रदेशको कार्यसम्पादन समिति सदस्य छन् ।

सत्तारुढ गठबन्धन दलको बलियो मतभार भएका कारण यहाँबाट उम्मेदार बन्नेको जीत निश्चित भएकाले पनि टिकट फुत्काउन धेरै जनाले मेहनत गरेका थिए ।


प्रतिक्रिया

One thought on “स्थानीय तहमा पराजित सापकोटा राष्ट्रिय सभामा सुरक्षित

  1. जनताबाट तिरस्कृतहरु घुमाउरो चोर बाटोबाट फेरी सत्ता र सासन गर्ने ठाउमा पुगेको कुरालाई यसरी उत्साही भएर प्रस्तुत गर्दा कत्ति लाज लाग्यो र यसो गर्नेहरु कुन उन्नति र प्रगति अनि परिवर्तनको लागि योग्य छन् भन्ने प्रस्न आयो मनमा !!!
    देशको लागि अभिसाप, लोकतन्त्र र परिवर्तनको लागि खतरा : “गठबन्दन” !!
    तिनीहरुको विचार यौटै : जालसाजी र भुलभुलैया !!!
    तिनीहरुको यौटै धेय : स्वार्थपूर्ति !!
    तिनीहरुको यौटै धुन : लुट !!
    तिनीहरुको यौटै उदेस्य : नेपाललाई कम्जोर बनाउने, आफै चल्ने नसक्ने, लथालिङ्ग बनाउने अनि मालिकलाई बुझाउने !!!
    अनि बुज्रुखारू तिनैको लठुवा र चतुरे दाउपेचलाई चर्चाको सिखरमा पुर्याउञ्छन !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर