जनआन्दोलनमा ‘झण्डै मारिएका’ भट्टको राष्ट्रियसभा यात्रा – Nepal Press

जनआन्दोलनमा ‘झण्डै मारिएका’ भट्टको राष्ट्रियसभा यात्रा

कैलाली । ०६२ चैत २८ मा जनआन्दोलन उत्कर्षमा थियो । धनगढीमा ठुलो सङ्ख्यामा आन्दोलनकारीहरूको उपस्थिति थियो । चैत २४ मा धनगढीमै होरीलाल राना थारुको ज्यान गएपछि आन्दोलन थप सशक्त बनेको थियो ।

चैत २८ मा हजारौँको सङ्ख्यामा आन्दोलनकारी जुलुससहित धनगढीको क्याम्पस चोकबाट चौराहातिर आउँदै थिए । जिल्ला प्रहरी कार्यालय नजिकैको पुलमा प्रहरीले काँडे तार तेर्स्याएर बाटो अवरुद्ध पारेको थियो । त्यहाँ पुगेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भयो । झडपमा परी १ सय ८२ जना घाइते भए ।

त्यो दिनको स्मरण गर्दै केही दिन अघिसम्म जन-आन्दोलनका घाइते नारायणदत्त भट्ट भन्थे, ‘मलाई त मार्ने उद्देश्यले नै आक्रमण भएको थियो तर पत्रकार मानवअधिकारवादीहरूसँगै भएकाले प्राण मात्रै लिन सकेनन् ।’

चैत २४ मा ज्यान गुमाएका धनगढीका होरीलाल रानालाई हत्या गरिएको भन्दै भएको प्रदर्शनीमा भट्ट पनि सहभागी थिए । १८ वर्ष अघि देशमा परिवर्तन ल्याउन आन्दोलनमा होमिएर घाइते भएका भट्ट आज राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

अपाङ्ग तथा अल्पसङ्ख्यक तर्फबाट कांग्रेसका भट्ट निर्वाचित भएका हुन् उनले ४ हजार ४१९ मत पाए । उनका प्रतिस्पर्धी एमालेका रामचन्द्र जोशीले १ हजार ५७१ मत प्राप्त गरे । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहेडीमा बस्दै आएका भट्ट अहिले कैलाली कांग्रेस पार्टी सभापति पनि छन् । प्रहरीको आक्रमणबाट भट्टको दायाँ खुट्टा फ्याक्चर छ ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि १८ वर्ष पहिलेको घटना सम्झँदै उनले भने, ‘इमानदारिता र लगनशीलताको मैले उपहार पाएको छु ।’

उनले थप जिम्मेवारी आएको भन्दै कुशलतपूर्क ढङ्गले निभाउने प्रयत्न गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर