लो प्रोफाइल रुक्मिणी हाई प्रोफाइल जित – Nepal Press

लो प्रोफाइल रुक्मिणी हाई प्रोफाइल जित

विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा मनोनयन दर्ता गर्न विराटनगर पुगेकी रुक्मिणी कोइरालालाई धेरैले भने सारै लो प्रो फाइल उम्मेदवार भयो । एक त गठबन्धन त्यसमाथि लो प्रोफाइल उम्मेदवार । के कारणले उनलाई एमालेले उम्मेदवार बनाउने निर्णय गर्यो ? एमालेका नेताहरू नै कुरा गर्थे ।

राष्ट्रिय सभामा मतदान गर्ने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उप प्रमुखको सङ्ख्या एमालेको भन्दा धेरै थियो । प्रदेश सभामा ९३ मध्ये ४० जना एमालेका थिए भने २७४ जना स्थानीय तहका प्रमुख उप प्रमुख मध्ये एमालेको सङ्ख्या ११२ थियो । यस्तो अवस्थामा चुनाव जित्ने गाह्राे हुने धेरैले अनुमान गरेका थिए ।

६ जना प्रदेश सभा सदस्य र ४ जना प्रमुख उप प्रमुख रहेको राप्रपासँग अन्य कोटा साटेर महिला तर्फ रुक्मिणीलाई मतदान गर्ने राप्रपासँग सहमति गरेपछि भने एमालेका नेताहरू उनको जीतको आधार तय भएको एमाले नेताहरू दाबी गर्थे । यस्तो दाबी गर्नेमा पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्की पनि एक थिए । उनले भनेका थिए महिला कोटामा हामी जित्छौं ।

उनको दाबीअनुसार आज भएको मत परिणाममा कोइरालाले बाजी मारिन् । उनले सत्तारुढ गठबन्धनको तुलनामा एमाले र राप्रपा गठबन्धनको मत भार करिब ८ सय कम रहेको अवस्थामा नतिजा एमालेको पक्षमा ल्याइन । उनी आज भएको निर्वाचनमा एमालेबाट विजयी हुने एक मात्रै उम्मेदवार बन्न सफल भइन् ।

कोइराला ५ हजार ८६ मत भार प्राप्त गरिन् । उनलाई सत्ता गठबन्धनका ३ जना प्रदेश सभा सदस्य र १६ जना पालिकाका प्रमुख उप प्रमुखले मत हाले । उनकी प्रतिस्पर्धी माओवादीकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी छन् । उनी माओवादी केन्द्रका तर्फबाट उम्मेदवार भएकी थिइन् ।

प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । तर, उनले आफ्नो गठबन्धनभन्दा बाहिरको मत ल्याएकी हुन् । उनलाई ४९ सांसदले मत दिएका छन् ।देशैभर सत्ता गठबन्धनका उम्मेदवार विजयी हुँदा एमालेबाट चुनाव जित्ने उनी एक्ली उम्मेदवार हुन् ।

लो प्रोफाइल राजनीति

रुक्मिणी कोइरालाको १७ वर्षको उमेरमा इटहरीका केदारनाथ कोइरालासँग विवाह भयो । उनको राजनीति भने केदारनाथ कोइरालासँग विवाह भएपछि सुरु भएको हो । उनका जेठाजु स्व.ओम कोइराला सुनसरीका पुराना वामपन्थी नेता हुन् । विद्यार्थी राजनीतिबाट रातो झन्डा समूह उनी वामपन्थी राजनीतिमा होमिएका थिए ।

स्व. कोइराला को आर्डीनेशन कमिटी हुँदै एमालेको राजनीतिमा सक्रिय भएपछि कोइरालाको सङ्गतमा उनी पनि वामपन्थी भएको माधव कोइराला सम्झन्छन् । स्व ओम कोइरालाका कारण रुक्मिणीको घरमा नेताहरू आउने जाने क्रम चलिरहन्थ्यो । भूमिगत कालमा उनले सेल्टर दाताको रूपमा नेताहरूलाई खान पकाएर खुवाउने काम गरिन् । उनका श्रीमान् केदारनाथ पनि राजनीतिमा थिए ।

देवर माधव कोइराला पनि एमालेको राजनीतिमा सक्रिय छन् । उनी इटहरी वडा नम्बर २ को वडाध्यक्ष समेत हुन् । मदन भण्डारी, केपी ओली लगायतका नेताहरूलाई भूमिगत कालमा सेल्टर दिने रुक्मिणी २०५४ सालको नगरपालिकाको निर्वाचनमा वडा सदस्यको रूपमा निर्वाचित भइन् । ५ वर्ष जनप्रतिनिधिको रूपमा काम गरेकी कोइरालाले त्यसपछि भने उम्मेदवार बन्ने अवसर पाइनन् ।

उनी पटक पटक इटहरी उप महानगरको उप मेयरको उम्मेदवार बन्न चाहान्थिन् । तर उहाँले अवसर पाउनु भएन, वडाध्यक्ष तथा रुक्मिणीका देवर माधव भन्छन्,  ‘यस पटक भने पार्टीले पत्यायो । ‘भाउजूको शालीनताले जितेर पनि देखाउनु भयो । पारिवारिक रिलेसन पनि थियो । यो बाहेक पार्टीले पनि सहयोग गर्यो ।

रुक्मिणी लामो समय महिला स्वास्थ्य स्वयमसेवीका भएर समेत काम गरिन् । केही अघिबाट महिला स्वास्थ्य स्वयंसेवीकाबाट पनि राजीनामा दिएकी कोइराला अनेमसंघ केन्द्रीय सदस्य हुन् । उनी अनेमसंघ सुनसरीको इन्चार्जको जिम्मेवारीमा रहेर काम गर्दै आएकी छन् । रुक्मिणी २०३६ साल देखि पार्टीको सम्पर्क रहेको थिइन । ४० पछाडि भने निरन्तर पार्टीमा रहेर काम गर्दै आएकी हुन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा विजयी भएपछि पार्टीमा कुरा चलेपनि उम्मेवार होइन्छ भन्ने नलागेको बताइन् ।

उनले भनिन् ‘ करेसावारीमा काम गरिरहेको समयमा स्थानीय पार्टी नेतृत्वबाट नागरिकता लिएर आउनु भन्नुभयो । किन रहेछ भनेर लिएर गएँ । राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउन रहेछ ।’ राष्ट्रियसभा सदस्य उम्मेदवार बनाएपछि चुवा जित्छु की जस्तो लागेको थियो । आज परिणाम मैले सोचे जस्तै आयो उनले भनिन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर