लुम्बिनीमा सुरु भयो मोन्लम पूजा, हलिउड स्टार जेट्लीसमेत सहभागी (फोटाे फिचर) – Nepal Press

लुम्बिनीमा सुरु भयो मोन्लम पूजा, हलिउड स्टार जेट्लीसमेत सहभागी (फोटाे फिचर)

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक गतिविधि प्रवर्द्धन गर्दै बौद्धमार्गीहरुलाई आमन्त्रण गर्ने गरी बिहीबारदेखि प्राणीधान मोन्लम पूजा सुरु भएको छ ।

महायाना अन्तर्गत महागुरूको स्मृतिमा विश्व शान्तिको कामना गर्दै लुम्बिनीस्थित मायादेवी मन्दिर अगाडि ५ दिने पूजा सुरु भएको हो । पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले शुभारम्भ गरे ।

उनले कोभिडपछि लुम्बिनीमा बौद्ध धार्मिक गतिविधि शून्यजस्तो भएको अवस्थामा आफू नेतृत्वमा आएपछि मोन्लम पूजालाई प्राथमिकता दिएको बताए । उनले यो वर्षमा मात्रै ५ वटा मोन्लम पूजा गरिएको बताउँदै अर्को वर्ष यसलाई बृद्धि गर्ने बताए ।

लुम्बिनी पूण्य भूमि भएकाले महायाना परम्पराका बौद्धिष्टहरु पूजा गर्न इच्छुक हुने भएकाले कोषका तर्फबाट वातावरण बनाउने काम भइरहेको छ ।

पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगतको भलाको कामना गरिने उनले बताए । महागुरु बुमटस्क फर वल्र्ड पिसको आयोजनामा सुरु भएको मोन्लम पूजामा उपाध्यक्ष डा. लामासहित प्रख्यात रिम्पोछेहरु छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छे सहभागी छन् ।

यसका साथै रिपोछेहरुसहित विभिन्न गुम्बाहरुका लामा, आनी एकै ठाउँमा भेला भई मन्त्रोच्चारण र पाठ गर्दा लुम्बिनी गुञ्जायमान भएको छ । मायादेवी मन्दिर परिसरमा आयोजित पूजाले लुम्बिनीको वातावरणमा एक प्रकारको आध्यात्मिक तरंग ल्याएको छ ।

मोल्नम पूजामा चिनियाँ चर्चित चलचित्रकर्मी समेत रहेका हलिउड स्टार जेट्लीसमेत सहभागी छन् । उनी मोल्नम पूजा अवधिभर सहभागी हुनेछन् । भगवान बुद्धका उपदेशहरु पाठ गर्दै बोद्धिसत्व र विश्व शान्तिको कामना गरी गरिएको पूजाको महायान परम्परामा निकै ठूलो महत्व छ ।

लुम्बिनी विकास कोषले मोन्लमजस्ता पूजाहरुलाई नीतिगत रुपमा प्रोत्साहन गर्दै आएको छ । लुम्बिनीमा आयोजना हुने यस्ता पूजाले लुम्बिनीमा धार्मिक पर्यटकहरु आर्कषित हुने र यसले बुद्धका उपदेश र सन्देश थप फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मायादेवीको पश्चिमपटिटी नयाँ दियो सेड संचालनमा

लुम्बिनी विकास कोषले दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो सेड’ सञ्चालनमा ल्याएको छ । उपाध्यक्ष डा. लामाको पहलमा मायादेवी प्रवेश द्वारको पश्चिमपट्टी एकैपटकमा ८ हजार दियो बाल्न मिल्ने गरी स्थापना गरिएको सेडको विहीबार उद्घाटन गरिएको हो ।

उपाध्यक्ष डा. लामासहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छेले दियो सेडको उद्घाटन गरे ।

लामाले संसारभरका बौद्धमार्गीहरुले लुम्बिनी आएर बत्ती बाल्न इच्छुक हुने भएकाले दियो बाल्ने सेडले सुविधा थप्ने बताए । ‘दियो बाल्ने अठोटसहित दियो बाल्ने सेड बनाइएको हो, अझै चार वटा यस्तै सेड बनाउने योजना छ, व्यवस्थित रुपमा दियो सेडक स्थापना गरिएकाले शुल्क तिरेर सेवा लिन आग्रह छ’, उनले भने ।

उपाध्यक्ष लामाले मायादेवी मन्दिरको अशोक स्तम्भ नजिकै दियो बाल्दा त्यसले असर पारेको गुनासो आएकाले मन्दिर परिसर बाहिर दियो सेड निर्माण गरिएको बताए ।

बौद्धमार्गीहरुले मायादेवी मन्दिरमा आएर बत्ति बाल्न इच्छुक भएपनि त्यसको व्यवस्थापन हुन नसकिरहेको अवस्थामा आफूले अठोट गरे अनुसार काम गरेको लामाको भनाइ छ । उनका अनुसार अन्यत्र लाखौं दियो बाल्नु र लुम्बिनीमा थोरै दियो बाल्नु बराबर हुने बौद्धिष्टहरुमा मान्यता छ ।

महायानी बौद्धिष्टहरुले आफ्नो परिवारको स्मृतिमा प्रायः दियो बाल्ने प्रचलन रहन्छ । बौद्धमार्गीहरुको आस्था र विश्वासलाई मध्यनजर गरी दियो सेडक स्थापना गरिएको हो । दियो सेडले धार्मिक एकता र साँस्कृतिक सम्बन्धसँगै कोषको आन्तरीक आम्दानीसमेत बृद्धि गर्ने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए ।

उद्घाटनलगतै उपाध्यक्ष लामासहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छेले दियो बालेर शुरुवात गरेका छन् । पहिलो ८ हजार सेडको १ लाख ३४ हजार रुपैयाँ रिपोन्छेहरुबाट प्राप्त भएको थियो । शुभारम्भकै दिन दियोबाट ३ लाख १३ हजार २ सय रुपैयाँ आम्दानी भएको कोषका लेखा प्रमुख भिम बस्नेतले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *