रवि मिश्रको कार्टुन प्रदर्शनीमा रवि लामिछानेदेखि रवीन्द्र मिश्रसम्मको लर्को – Nepal Press

रवि मिश्रको कार्टुन प्रदर्शनीमा रवि लामिछानेदेखि रवीन्द्र मिश्रसम्मको लर्को

काठमाडौं । युवा पुस्ताका उम्दा कार्टुनिष्ट रवि मिश्रले पत्रपत्रिकामा प्रकाशित आफ्ना कार्टुनहरुलाई प्रदर्शनीमा राखेका छन् । नयाँ बानेश्वरको ‘एनबी सेन्टर’ को पहिलो तलामा उक्लेर उनका कार्टुनहरु नियाल्न सकिन्छ ।

‘डिपिक्शन’ नाम दिएर मिश्रले तीन दर्जन हाराहारीका कार्टुन प्रदर्शनीमा सजाएका हुन् । उनका कार्टुनहरुमा खासगरी राजनीतिकर्मीहरुमाथि खरो कटाक्ष भेटिन्छन् । उनका कार्टुनहरु हेर्नलाई थुप्रै राजनीतिकर्मीको लर्को लागेको छ । रास्वपा सभापति रवि लामिछाने पहिलो दिन नै पुगेका थिए । आफैंलाई व्यङ्ग्य गरेर बनाएको कार्टुन हेरेर फिस्स हाँस्दै लामिछानेले भने, ‘यो कार्टुन मलाई याद छ, वाह ! गजब लाग्यो ।’

कार्टुनिस्टलाई फुर्क्याएर ‘गजब’ प्रतिक्रिया दिए पनि उनले बाहिर हामीसँग खुसुक्क कुरा गर्दा आफूलाई अझै चोट नपुगेको स्वीकारे ।

‘मेरो एक्सपेक्टेन्स एकदमै हाइ छ । अझै योभन्दा कडा भइदिएको भए राम्रो हन्थ्यो’, लामिछानेले भने, ‘यहाँ मेरा कमजोरीहरु जति देखिनुपर्थ्यो, त्यति देखिएको छैन । मेरोे अपेक्षा भनेको अझै पेचिलो कार्टुनहरु बनोस् भन्ने होे ।’

लामिछानेसँगै कार्टुनिस्ट मिश्रले सबैभन्दा बढी आलोचना गर्ने नेता रवीन्द्र मिश्र पनि प्रदर्शनीमा पुगे । यस्तै नेकपा एसका महासचिव घनश्याम भुसाललगायत केही युवा राजनीतिकर्मीहरु पनि देखिएका थिए ।

‘एनबी सेन्टर’ को पहिलो तलामा रहेको ‘उमोजा क्याफे’ मा ‘ब्ल्याक अमेरिकानो’ पिउँदै मिश्रका कार्टुनका विषयमा गफ मार्न सकिन्छ । मिश्र आफैं अवलोकनकर्ताहरुलाई आफ्नो कार्टुनको पृष्ठभूमि, प्रसंग र कार्टुन सृजनाका आयामहरु बुझाइरहेका भेटिन्छन् ।

मिश्रका प्रायः कार्टुनहरु राजनीतिक हुन्छन् । त्यसमा पनि उनी बढीजसो एमाले अध्यक्ष केपी ओलीलाई पेल्छन् भन्ने आरोप छ । सायद मिश्रले कार्टुनबाट सबैभन्दा बढी व्यंग्य हानेका पात्र ओली नै हुन् ।

ओलीको विषयमा मिश्र भन्छन्, ‘म आफैं केपी ओलीको फ्यान हो । ओली सबैभन्दा सान्दर्भिक पात्र लाग्छ मलाई । उनी आफैंमा एक मजाकी पात्र पनि हुन् । उनको मजाक गर्ने शैलीप्रति म पहिलेदेखि आकर्षित हुने गरेको थिएँ ।’

कार्टुनहरु नेताप्रति मात्रै किन केन्द्रित हुन्छन् भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘कार्टुन समय सान्दर्भिक हुने हुँदा नेताहरु बढी देखिन्छन् । राजनीतिक विषयवस्तुले पाठकलाई बढी तान्नसक्ने भएकाले पनि नेताहरुलाई निशाना बनाउनुपर्ने हुन्छ ।’

यस कार्टुन प्रदर्शनीमा मिश्रले पछिल्ला ५ वर्षमा बनाएका कार्टुनहरु प्रदर्शनीमा राखेका छन् । प्रदर्शनी शुक्रबार सकिँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर