राष्ट्रियसभा निर्वाचन: कोशीमा तीन जना अनुपस्थित – Nepal Press

राष्ट्रियसभा निर्वाचन: कोशीमा तीन जना अनुपस्थित

विराटनगर । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशीमा ३ जना अनुपस्थित भएका छन् । यहाँ स्थानीय तहका ३ जना प्रमुख मतदानमा सहभागी भएनन् ।

कोशीमा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २७४ मतदाता रहेका छन् । जसमा स्थानीय तहतर्फ २७१ जनाले मात्रै मतदान गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ भट्टराईले जानकारी दिए ।

उनका अनुसार धरान उपमहानगरका मेयर हर्क साम्पाङ, ग्रामथान गाउँपालिका मोरङका अध्यक्ष जयप्रकाश थारु र झापा गाउँपालिका झापाका अध्यक्ष जयनारायण साहा मतदानमा सहभागी भएनन् ।

झापा गाउँपालिकाका अध्यक्ष साहा भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका छन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत अध्यक्ष निर्वाचित भएका थिए । अघिल्लो कार्यकालमा भएको बाटो निर्माणका विषयमा अख्तियारले उनलाई भ्रष्टाचार गरेको माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले दोषी ठहर गरेपछि उनी निलम्बनमा परेका छन् ।

ग्रामथान गाउँपालिकाका अध्यक्ष चौधरी भने बिरामी भएर अस्पताल भर्ना भएका कारण निर्वाचनमा सहभागी हुन सकेनन् । उनी हिजो साँझ अचानक बेहोस भएका थिए । नेपाली काङ्ग्रेसबाट निर्वाचित चौधरीको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । साहा पनि काङ्ग्रेसबाटै निर्वाचित भएका हुन् ।

हर्क साम्पाङले भने कार्य व्यस्तताको कारण देखाउँदै मतदान गरेनन् । उनी स्वतन्त्र मेयर हुन् ।

मतदान सकिएपछि अहिले सर्वदलीय बैठक जारी छ । बैठकले मतगणनाको तयारी गर्ने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर