सामूहिक हत्या प्रकरणमा फरार कैली तामाङ २० वर्षपछि पक्राउ – Nepal Press

सामूहिक हत्या प्रकरणमा फरार कैली तामाङ २० वर्षपछि पक्राउ

विराटनगर । संखुवासभाको चैनपुरमा २० बर्ष अघि भएको सामूहिक हत्यामा संलग्न मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तत्कालिन सिद्धकाली गाबिसका योगेन्द्र दाहाल र मंगल लिम्वूको हत्यामा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले कैली तामाङलाई पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा अदातलबाट दोषी ठहर भएपनि तामाङ फरार थिइन् । सजाय भुक्तान नगरिकन भागिरहेकी उनलाई मोरङको केराबारीबाट प्रहरीले पक्राउ गरेको हो ।

केराबारी गाउँपालिका–१० स्थित मोहन नेपालको घरबाट तामाङलाई बुधबार पक्राउ गरेर संखुवासभास्थित इलाका प्रहरी कार्यालय चैनपुरको जिम्मा लगाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

आठ जना मिलेर लिम्वू र दाहालको सामूहिक हत्या गरेपछि उनीसहित केही अभियुक्तहरु फरार बनेका थिए । २०६० फागुन १० गते सामूहिक हत्या भएको थियो । खानेपानीको पाइप हराएको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा ८ जना मिलेर उनीहरुको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

मंगल र योगेन्द्रको हत्यामा कैली तामाङसहित राजेन्द्र तामाङ, राजेन्द्रकी पत्नी निर्मला पाण्डे (तामाङ), गोपाल तामाङ, देवीमाया तामाङ, गणेश तामाङ, धनमाया तामाङ एवं लोकबहादुर तामाङलाई अदालतले दोषी ठहर गरेको थियो ।

मोरङबाट पक्राउ परेकी तामाङलाई बिहीबार संखुवासभाको चैनपुर पुर्याइएको छ । प्रहरीले उनलाई अदालतमा बुझाउने तयारी गरेको छ । प्रहरीले पेस गरेपछि तामाङलाई सजाय भुक्तानका लागि कारागार चलान गरिने संखुवासभा जिल्ला अदालत चैनपुरका स्रेस्तेदार रामचन्द्र केसीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *