निरन्तर टकरावमा उपेन्द्र र सीकेः किन एक-अर्कालाई देखिसहन्नन् ? – Nepal Press

निरन्तर टकरावमा उपेन्द्र र सीकेः किन एक-अर्कालाई देखिसहन्नन् ?

काठमाडौं । सप्तरीको राजविराजस्थित मधेस कृषि विश्वविद्यालय भवनको शिलान्यासको विषयलाई लिएर जसपा उपेन्द्र यादव र जनमतका अध्यक्ष सीके राउत फेरि आमनेसामने भए । आफैंले हराएको उपेन्द्रले आफ्नै निर्वाचन क्षेत्रमा भवन शिलान्यास गर्ने कार्यक्रम तय भएपछि सीकेले रोक्ने धेरै प्रयास गरेका थिए । तर सकेनन् ।

जनमतका नेता कार्यकर्ताको अवरोध छिचोलेर सोमबार एक कार्यक्रममाबीच उपेन्द्रले भवनको शिलान्यास गरे। तर, कार्यक्रम तनावग्रस्त रह्यो। उपेन्द्रलाई रोक्न कार्यक्रमस्थल पुगेका मधेसका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवलगायतका नेता-कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको थियो ।

सीकेले आफ्नो पार्टीले पारेको योजनामा उपेन्द्रलाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाएपछि आफूलाई कार्यक्रमको प्रमुख अतिथि बन्ने कुनै इच्छा नभएको प्रष्ट्याएका छन् ।

तर, मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले सो योजनामा जनमतको कुनै भूमिका नरहेको दाबी गरे । भवनको शिलान्यास समारोहमा बोल्दै उनले भने, ‘मधेश कृषि विश्वविद्यालयमा दुई वर्षअगाडि प्रदेश सरकारले ३० करोड बजेट विनियोजन गर्‍यो । जतिबेला जनमत पार्टीको जन्म पनि भएको थिएन ।’

उनले जनमतका अध्यक्ष राउतले आफ्नो प्रयासमा ३० करोड बजेट आएको फेसबुकमा लेखेको कुरा झूटाे रहेको दाबी गरे। ‘मेरो नेतृत्वको सरकारले पनि विश्वविद्यालयका लागि ३० करोड विनियोजन गरेको छ । म चाहन्छु छिटोभन्दा छिटो काम होस्’, उनको भनाइ थियो ।

मुख्यमन्त्री यादवको अभिव्यक्तिप्रति जनमतका प्रवक्ता डा. शरद यादव सहमत छैनन् ।

उनी भन्छन्, ‘त्यहाँ कुनै भौतिक संरचना बन्ने अवस्था थिएन। ६ महिनासम्म हाम्रो पार्टी अध्यक्षको पहलमा ३० करोड छुट्याइएको हो । तर, त्यहाँ जसपाका साथीहरूले सरकारको दम्भ देखाए। सेना, सशस्त्र र नेपाल प्रहरी उतारियाे । मन्त्रीलाई कुटिएको छ यो राज्यविहीनताको अवस्था देखियो ।’

जनमतका अध्यक्ष राउतले पनि संघीय सरकार तथा मधेस सरकारबाट जसपाको निर्देशनमा दमन गरेको आरोप लगाए । जसपाले नरसंहार मच्याउन नजिकका गाउँहरूमा लडाकू र लठैत, बाँसको भाटाहरू ठूलो संख्यामा बनाएर राखेको तथा हातहतियार पनि तयार अवस्थामा राखेको सूचना प्राप्त भएको आफूले पाएको उल्लेख गरेका छन् ।

गौरमा नरसंहार गरी दर्जनौंको हत्या गरेको र सप्तरीमा पनि नरसंहारको घटना मच्चाउन सक्ने आँकलन गर्दै अप्रिय घटना घट्न नदिन आफूहरुले कार्यक्रम रोक्ने खोजेको उनले प्रष्टीकरण दिएका छन् ।

विज्ञप्तिमा भनेका छन्, ‘सरकार र जसपा नेत्तृत्वको प्रदेश सरकारले लोकतन्त्रको न्यूनतम मर्यादा पनि कायम नराख्दै मन्त्री, प्रदेश सभासद् तथा आमजनतामाथि बल प्रयोग गरी दमन गर्दै, लाठी चार्ज गर्दै, घाइते बनाउँदै फासीवादी प्रवृत्ति देखाउने मात्रै होइन, मधेसमा गुण्डाराज र जंगलराजको पक्षपोषण गर्दै आएको कुरा साबित भएको छ ।’

जसपा र जनमत अहिले सत्ता साझेदार दल हुन्। तर, अहिले गठबन्धनबाट जनमतलाई हटाउने तयारी हुँदैछ। तर, प्रवक्ता यादव जतिसमय जनतम सरकारमा बस्छ त्यति समयसम्म जनताको पक्षमा काम गर्ने दाबी गर्छन् ।

उनी थप्छन्, ‘गठबन्धन बस्ने वा नबस्ने भन्ने उहाँहरुकै कुरा हो हामी जहिलेसम्म रहन्छौं जनताको पक्षमा राम्रो काम गर्छौ। गठबन्धनमा रहिँरहँदा नराम्रो कामको विरुद्ध उभिएका छौं ।’

यद्यपि, यादव र राउतको मधेसमा देखिएको टकराब यो पहिलो पटक होइन। त्यसका लागि २०७५ सालमा फर्किनुपर्छ ।

उपेन्द्र भर्सेस सीके !

उपेन्द्र यादव मधेस आन्दोलनबाट स्थापित भएका नेता हुन् । उनले आफूलाई मधेस आन्दोलनको एक्ला हस्तीको रूपमा अगाडि ल्याउँदैथे । तर, अमेरिकाको बसाई छाडेर किसान आन्दोलनबाट उदायका सीके राउतले धक्का दिए ।

गएको निर्वाचनबाट राष्ट्रिय मान्यता प्राप्त दल बनेपछि मधेसमा उपेन्द्रको स्पेश सीकेले लिन खोज्दैछन् । त्यसैले व्यक्तिगत तहमा पनि उनीहरुबीच दुश्मनीको अवस्था छ । तर, उनीहरूबीच अर्को रोचक पाटो – जिल्ला मात्रै होइन, उनीहरूको पालिका पनि एउटै हो ।

अमेरिकाबाट फर्केर मधेसमा सीकेले ‘स्वतन्त्र मधेस गठबन्धन’को नाममा विभिन्न मुद्दा उठाए । किसान आन्दोलनका क्रममा पनि सुरुआतदेखि नै सीकेले उपेन्द्रलाई नै टार्गेट गरिरहेका हुन्थे । ०७५ भदौ ७ मा यादव बर्दिया जाँदैगर्दा सीके राउतका कार्यकर्ताले कालो झण्डा देखाएर प्रर्दशन गरे । त्यही आरोपमा राउतका कार्यकर्ता राममनोहर यादवलाई प्रहरीले पक्राउ गर्यो । पक्राउ परेको यादवको शंकास्पद मृत्यु भएपछि उनीहरुबीच दूरी झन् लम्बियो ।

आन्दोलनको दौरानमा रहेका राउतलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग ११ बुँदे सहमति गरेर ०७५ फागुन २४ गते शान्तिपूर्ण मूलधारको राजनीतिमा ल्यायो । त्यसबेला ओली नेतृत्वको सरकारमा यादव स्वास्थ्य थिए । तर, राउतलाई ओलीले मधेसमा शान्तिपूर्ण राजनीतिमा ल्याएपछि रिसाएर उपेन्द्रले सरकार समेत छाडेका थिए ।

जसपाले संघीयता, समावेशी, समानुपातिक लोकतन्त्रदेखि संविधान संशोधनलाई मुद्दा उठाउँदै आइरहेको छ । मधेसका एजेण्डामा भूलेको आरोप छ । तर, राउतले जनतासँग बसेर भ्रष्टाचारविरोधी अभियान, किसान आन्दोलनको बिषयलाई मात्रै बोकेका छन् ।

गएको निर्वाचनमा सप्तरी २ बाट उपेन्द्रलाई हराएका झस्का दिएका सीकेले अहिले पनि निरन्तर विरोधमा छन् । तर, उपेन्द्र नै गौर घटनाको मुख्य योजनाकार भएको दाबी गर्दै पक्राउ गरी कारबाही गर्नुपर्ने राउतको माग छ ।

एउटै गठबन्धनमा हुँदा पनि जसपालाई उपराष्ट्रपति दिने सहमतिको विपक्षमा उभिए । जसपाका रामसहायप्रसाद यादवलाई रोक्न ममता झालाई मैदानमा उतार्‍यो । यादव उपराष्ट्रपति बनेपछि बारा २ मा गठबन्धनबाट उपेन्द्र उम्मेदवार बने ।

तर, उनलाई संसद छिर्नबाट रोक्न सीके मैदानमा निरन्तर खटे । माओवादीका शिवचन्द्रप्रसाद कुसवाहालाई ल्याएर उपेन्द्रविरुद्ध भिडाए तर, उनको प्रयास सफल भएन ।

अहिले राष्ट्रियसभाको निर्वाचनमा मधेस र लुम्बिनीमा गठबन्धनविरुद्ध जनमतले आफ्नो उम्मेदवार अघि सारेको छ । यो बीचमा जसपा नेतृत्वको मधेस सरकारमाथिको समर्थन फिर्ता लिएर २ मन्त्री बाहिरिसकेका छन् । यसअघि जसपाका लालबाबु राउत मुख्यमन्त्री हुँदा जनमतले भण्डाफोर अभियान चलाएको थियो ।

हालै भारतका विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा उपेन्द्र र सिकेलाई एक साथ राखेर मेलमिलाप गराउने प्रयत्न गरे । तर, उनको मध्यस्थताले पनि नेताद्वयबीचको दूरी घटाउन सफल भएको देखिँदैन ।

‘जनमत आफैं नांगिँदैछ, हामी वैरभाव राख्दैनौं’

तर, जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनमत पार्टी नांगिएर जसपालाई लाज नहुने टिप्पणी गर्छन् । उत्तेजना र सस्तो लोकप्रियताले राजनीति थेग्न नसक्ने उनको भनाइ छ ।

बस्नेतले भने, ‘जनमत र उसको नेतृत्व अमुक व्यक्तिलाई देख्न नसक्ने अत्यन्त घृणा र द्वेषको राजनीति गर्न थालेको छ। जसपा परिवर्तनको नेतृत्व गरेर स्थापित भएको दल हो, जनमतजस्तो च्याँखे दाउ थापेर जन्मिएको दल हैन । जसपाले अहिले प्राप्त उपलब्धि र परिवर्तनलाई संस्थागत गर्ने सवालमा जनमत र जनमतजस्ताको हर्कतलाई परास्त गरेरै अगाडि बढ्छ ।’

मुलुकमा भएका आन्दोलन, संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीताजस्ता महत्वपूर्ण उपलब्धि र परिवर्तनसँग जनमत पार्टीलाई कुनै सरोकार नभएको उनको आरोप छ ।

जसपाका प्रवक्ता मनिष सुमन जनमतको व्यवहारलाई अन्यथा नलिएको तर्क गर्छन् ।

उनी भन्छन्, ‘उहाँहरूको विचार के छ भन्ने अहिलेसम्म प्रष्ट भएको छैन । बेलाबेलामा मात्रै जय मधेस भन्दै आउनुहुन्छ त्यसैले हामीले भाइ पार्टीको रूपमा बुझेका छौं । राजनीतिमा हामीप्रति रिस र आवेग देखाउनुहुन्छ । हामीले नकारात्मक रुपमा लिएका छैनौं ।’

उनले जनमतले राष्ट्रियसभाको निर्वाचनमा जसपालाई मत दिने निर्णय गरेर कांग्रेसका विरुद्ध उम्मेदवारी दिएको उनको भनाइ छ ।

प्रवक्ता सुमनले थपे, ‘कांग्रेससँग उहाँहरूको शत्रुता होला तर जसपा उनीहरूप्रति कुनै वैरभाव राख्दैन । गठबन्धनमा रहेर उहाँहरूले जस्तो कूव्यवहार देखाएपनि हामीले मन्त्री पदबाट निकालेका छैनौं मधेस प्रदेशबाट । त्यसैले हामीले उनीहरुको आवेशलाई चासो दिएका छैनौं । समय आएपछि आफैं सच्चिन्छन् ।’

‘जनमतले जसपाको स्थान लिइसक्यो’

मधेसको राजनीतिमा जनमतले जसपाको स्पेश लिइसकेको प्रवक्ता डा. शरद यादव दाबी गर्छन् ।

उनी भन्छन्, ‘हामीले जसपाको स्थान लिइसकेका छौं । समानुपातिक मत हेर्दा पपुलरमा हामी पहिलो स्थानमा छौं । जसपालाई हामीले टेकओभर गरिसक्यो । सीटमा मात्रै चारवटा फरक हो । उहाँहरूको १६ वटा छ हाम्रो १२ वटा मधेसमा ।’

उनले राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनु सामान्य भएको उल्लेख गर्दै आउने चुनावमा जनताले निर्णय गर्ने बताए ।

उनले थपे, ‘गएको निर्वाचनमा पनि उपेन्द्र यादवलाई १८ हजार मतले हाम्रो अध्यक्षले हराउनुभएकै हो । उपराष्ट्रिपतिको निर्वाचनमा पनि हामी लडेका छौं । पुरुष राष्ट्रपति भइसकेपछि महिला उपराष्ट्रपति हुन्छ भनेर हामीले महिला अगाडि सारेकै थियौं । तर, षड्यन्त्र गरेर उपेन्द्रलाई सीट खाली गराउन रामसहायलाई ल्याइयो ।’

गठबन्धनमा सरकार सञ्चालनको लागि गरिएको उनको बुझाइ छ ।

प्रवक्ता यादव भन्छन्, ‘यो कुनै चुनावी गठबन्धन त होइन तर जवजस्ती उपनिर्वाचनमा पनि उपेन्द्रलाई नै गठबन्धनको उम्मेदवार भनियो । त्यहाँ पनि हामी लड्यौं । बजेट पनि चार जिल्लामा लुटेर लगिएको छ भनेर हाम्रो अध्यक्षले संसदमै भन्नुभएको छ। त्यो विषयमा अरु कुनै मधेसका दल बोल्न सकेनन् ।’

विश्लेषक भन्छन्- वर्चश्वको लडाइँ

राजनीतिक विश्लेषक रोशन जनकपुरी उपेन्द्र यादव र सीके राउतबीच मधेसमा वर्चश्वको प्रतिस्पर्धा चलेको तर्क गर्छन् ।

उनी भन्छन्, ‘पहिला मधेसमा जसपा र लोसपाबीचको प्रतिस्पर्धा थियो । अहिले लोसपा कमजोर बन्दै गइरहेको छ । अहिले सीके राउतको पार्टीलाई प्रतिस्पर्धीको रुपमा हेरिरहेका छन् । उहाँको पनि ट्याक्टिस हुनसक्छ अलि बलियोसँग जुधेपछि नै मान्छेको नजरमा पर्न सकिन्छ भन्ने हुनसक्छ ।’

उनले मधेसकेन्द्रित मात्रै नभएर नेपालको राजनीतिक दलहरूमा बाह्य शक्तिको हस्तक्षेप स्वाभाविक रहेको उनको भनाइ छ ।

उनी थप्पछन्, ‘हिजो जसपा होस् या लोसपा दुवैलाई प्रो इन्डिया पार्टी भनिन्थ्यो । अहिले भारतीय विदेशमन्त्री आउँदा सबै एउटै लाइनमा उभिएका थिए । स्थानीय राजनीतिमा जो बलियो हुन्छ त्यसलाई नै शक्तिकेन्द्रहरुले बढी महत्व दिन्छ ।’

उनले सक्रिय राजनीतिमा उपेन्द्र यादव स्थापित व्यक्ति भएपनि सीके राउतले महत्वाकांक्षी पार्टीको विकास गरिरहेको बताए । त्यसैले उपेन्द्रसँग प्रतिस्पर्धा गरेपछि माथि जान सकिन्छ भन्ने नीति सीकेले लिएको हुनसक्ने उनको बुझाइ छ ।

उपेन्द्रको राजनीतिक यात्रा

मधेस आन्दोलनबाट स्थापित उपेन्द्र यादव पृष्ठभूमि कम्युनिष्ट हो । उनका अहिले पनि नेकपा माओवादी केन्द्र, नेकपा एस विप्लव नेतृत्वको नेकपा सारथि (समाजवादी मोर्चा) छ ।

झापा आन्दोलन चर्किरहेको बेलामा पुष्पलाल समूहको अनेरास्ववियुबाट उपेन्द्रले राजनीति थाले । त्यतिबेला अखिल प्रतिबन्धित थियो तर, भूमिगत रूपमा काम गरे। पछि जनमत संग्रहसँगै अखिल विभाजित भएपछि प्रगतिशील विद्यार्थी युनियनको दुई कार्यकाल उपाध्यक्ष बने ।

नेकपा माले र मार्क्सवादीबीच एकता भएर एमाले बनेपछि ०४८ सालमा यादवलाई सुनसरी ४ बाट उम्मेदवार बनाइयो। तर हारे। पार्टीभित्र मधेसको कुरा उठाएपछि साम्प्रदायिक व्यक्ति भएको आरोप लगाएपछि राजीनामा दिए ।

उनी ०५४ सालमा नै गठन भएको मधेसी जनअधिकार फोरममा क्रियाशील भए । ०५९ असोज १८ मा राजा ज्ञानेन्द्रले शासन सत्ता लिएपछि माओवादीसँग पनि सहकार्य गरे तर, सदस्यता लिएनन् । त्यही क्रममा मधेस आन्दोलनकै आलोकमा उपेन्द्र यादव नेताका रूपमा स्थापित भए । मधेसी जनअधिकार फोरमलाई पार्टीको रुपमा विकास गरे । त्यसपछि संघीय समाजवादी हुँदै अहिले जसपाको नेतृत्वमा छन् । तर, उपेन्द्रको शक्ति अहिले घटेको छ अहिले सत्तालिप्त बनेको आरोप खेप्दै आइरहेका छन् ।

सीकेको राजनीतिक यात्रा

सीके राउत अमेरिकाबाट फर्केर स्वतन्त्र मधेसको अभियान चलाए । मधेसी जनताका लागि देश स्थापना गर्न स्वतन्त्र मधेस गठबन्धनमा सक्रिय थिए । तर, ०७५ मा मूलधारको राजनीति रोजे । मधेसलाई छुट्टै राज्य बनाउने भन्दै हिँडेका राउतलाई तत्कालीन ओली सरकारले ०७५ फागुन २४ मा ११ बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा ल्यायो ।

त्यसपछि पनि भ्रष्टाचारविरोधी र मधेसका जनताको आवाज उठाउँदै आएका राउत गएको निर्वाचनमा सांसद बने । पार्टीलाई पहिलो निर्वाचनमै राष्ट्रिय दलमात्रै बनाएनन् मधेसमा नयाँ शक्तिको रूपमा स्थापित गराउने रेसमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *