नेपाली कांग्रेस गुल्मीले सडक र पुल निर्माणका लागि गरायो पाल्पा सडक डिभिजनको ध्यानाकर्षण – Nepal Press

नेपाली कांग्रेस गुल्मीले सडक र पुल निर्माणका लागि गरायो पाल्पा सडक डिभिजनको ध्यानाकर्षण

रुपन्देही । नेपाली कांग्रेस गुल्मीले सडक र पुल निर्माणका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले गुल्मी जिल्लाको रुद्रवेणी–वामीटक्सार सडक निर्माण, सडक स्तरोन्नति र ठाउँ–ठाउँमा पुल निर्माण गर्ने कार्य समयमा नभएकाले त्यस क्षेत्रका आमजनता समस्यामा परेको भन्दै सडक डिभिजन कार्यालय पाल्पालाई ध्यानाकर्षण गराएको हो ।

बुधबार पार्टी सचिव जगदीश भट्टराई, काँग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति पारिश्वर ढकालले संयुक्तरुपमा सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख इं.बाबुराम सापकोटालाई सडक र पुल निर्माणका विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

उनीहरूले कार्यालयमै गएर डिभिजन प्रमुख सापकोटालाई रुद्रवेणी–वामीटक्सार सडक निर्माण, सडक स्तरोन्नति र ठाउँ–ठाउँमा पुल निर्माण गर्ने कार्य रोकिएका कारण सडक अस्तव्यस्त हुनुको साथै पुल नहुँदा स्थानीयले सास्ती खेप्नु परेकाले तत्काल काम अगाडि बढाउनका लागि विभागमा पहल गरिदिन भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

रुद्रवेणी–वामीटक्सार हुँदै ढोरपाटनसम्मको सडक यस क्षेत्रकै सबैभन्दा धेरै सवारी र मालवाहक यातायातका साधनहरू चल्ने पुरानो सडक भएकाले प्रत्येक वर्ष बजेट परेर ठेक्का समेत हुने तर निर्माण कार्य समयमा नहुँदा जनताले सास्ती भोग्नु परेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

रुद्रवेणी–वामीटक्सार सडक अन्तर्गत विभिन्न ठाउँहरूमा गएका पहिराहरू र कज्बेहरुको समयमा मर्मत सम्भार नहुँदा कठिनाइ भएकाले तत्काल काम अगाडि बढाई दिन पार्टी सचिव जगदीश भट्टराईले डिभिजन प्रमुख सापकोटालाई आग्रह गरे ।

उनले रुद्रवेणी–वामीटक्सार सडक अन्तर्गत बादरे पहिरो, जोहाङ्ग–खैरेनी बजारको साँघुरो बाटोको वैकल्पिक व्यवस्थाका लागि आवश्यकता अनुसार पहल गरी कार्यान्वयन गर्न पनि माग गरेका छन् । यस्तै सो सडक खण्डा अन्तर्गतको नादेवा खोला, डहरे खोला, भार्से खोला, गेदी खोलामा पक्की पुल निर्माणको लागि ठेक्का भइसकेको तर काम समयमा सुरु नभएका कारण समस्या भएकाले सो तत्काल गर्नु÷गराउनुहुन क्षेत्रीय सभापति ढकालले डिभिजन प्रमुखसँग आग्रह गरे ।

उनले सिँचाइ अन्तर्गत रहेको कुलोका लागि सडक डिभिजन कार्यालयले समेत समन्वय गरिदिन आवश्यक रहेको बताए । क्षेत्रीय सभापति ढकालले स्थलगत अवलोकन गरेरै भए पनि यथाशक्य छिटो काम अगाडि बढाउन डिभिजन प्रमुख सापकोटालाई आग्रह गरे ।

ध्यानाकर्षणपत्र बुझ्दै डिभिजन प्रमुख सापकोटाले सडक र पुल निर्माणका विषयमा भएको ध्यानाकर्षणलाई आफूले सक्दो पहल गर्ने बताए । उनले ती योजनाहरूको स्थलगत अवलोकनपछि मात्र कामका बारे बोल्ने पत्रकारलाई प्रतिक्रिया दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर