प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: आर्मीले निकाल्यो चौथो जीत – Nepal Press

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: आर्मीले निकाल्यो चौथो जीत

रुपन्देही । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा चौथो जीत निकालेको छ । आर्मीले लुम्बिनी प्रदेशलाई पराजित गर्दै चौथो जीत निकालेको हो ।

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधबार खराब मौसमका कारण २६ ओभरमा झारिएको खेलमा त्रिभुवन आर्मीले लुम्बिनीमाथि ६५ रनको जीत निकालेको छ । यस जीतसँगै आर्मी ६ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । लुम्बिनी भने १ जीतका साथ नवौं स्थानमा छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २६ ओभरमा ७ विकेटको नोक्सानीमा १७० रनको योगफल बनायो । आर्मीका लागि ओपनर इमरान शेखले ७० बलमा ७ चौका र १ छक्कासहित नटआउट ६७ रन जोड्दै टीमलाई बलियो स्कोरसम्म पुर्‍याउन योगदान दिए ।

इमरानलाई कप्तान विनोद भण्डारीले २५ बलमा ३४ रन जोड्दै साथ दिए । उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए । भीम सार्कीले ४० बलमा १ चौका र १ छक्कासहित २४ रन जोड्न सफल भए ।

बलिङमा लुम्बिनीका नर सार्की र मोहम्मद हुसेनले समान २-२ विकेट लिए ।

जवाफमा मैदानमा उत्रिएको लुम्बिनी प्रदेश २६ ओभरमा ८ विकेट गुमाएर १०५ रनमै समेटियो । उसका लागि कृष्ण कार्कीले नटआउट ३५ रन जोड्दै लुम्बिनीको इनिङ सम्हाले ।

यस्तै मिर्नाल गुरुङले १८, मोहम्मद हुसेनले १५ र अभिशेक गौतमले नटआउट ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

आर्मीका कुशल मल्लले ६ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ तथा अभिनाश कर्ण र साहव आलमले समान १-१ विकेट लिए । आर्मीका इमरान शेख प्लेयर अफ द म्याच भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर