भिजिट तथा पर्यटक भिसामा गएका नेपाली निर्धारित समयमा नफर्किए के हुन्छ ? – Nepal Press

भिजिट तथा पर्यटक भिसामा गएका नेपाली निर्धारित समयमा नफर्किए के हुन्छ ?

अध्यागमन विभागका डीजी भन्छन्- कारबाहीभन्दा पनि नैतिक विषय हो

काठमाडौं । भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपालीलाई सहजीकरण गर्दै अध्यागमन विभागले मंगलबार यात्रा परामर्श जारी ग¥यो । विभागले भिजिट तथा पर्यटक भिसामा गएर अन्य काम नगर्न भन्दै तोकिएको समयमा स्वदेश फर्कन आग्रह गरेको छ ।

यात्रा परामर्शअनुसार ६ वटा शर्त पूरा गरेर नेपालीहरु पर्यटक तथा भिजिट भिसामा सहजै विदेश जान पाउनेछन् ।

विभागका अनुसार कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, सम्बन्धित देशको भिसा वा अन-अराइभल मुलुक भए भिसा नचाहिने, दुईतर्फी हवाई टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र, भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण पेश गर्नुपर्नेछ ।

यस्तै संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरबमा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वघोषणा गर्नुपर्नेछ । स्वघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा हुने भनिएको छ ।

भिजिट तथा पर्यटक भिसामा गएका नेपालीहरु विदेशमा अप्ठेरो र समस्यामा पर्ने घटना बढेपछि सरकारले यसअघि कडाइ गरेको थियो । तर, पछिल्लो यात्रा परामर्शपछि नेपालीलाई भिजिट तथा पर्यटक भिसामा जान सजिलो हुनेछ ।

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भिजिट तथा पर्यटक भिसामा विदेश गएका व्यक्तिहरु तोकिएको समयमा नफर्किएमा त्यस्तो कुनै कारबाही हुने व्यवस्था भने नरहेको बताए ।

‘यो त कारबाहीभन्दा पनि नैतिक विषय हो । नफर्किएमा के हुने भन्ने त्यस्तो कारबाहीको व्यवस्था भने हामीले गरेका छैनौं’, महानिर्देशक तामाङले भने ।

विगतमा भिजिट तथा पर्यटक भिसामा गएकाहरु त्यही काम गरेर बस्ने गरेको पाइएको थियो । महिलाहरुलाई त्यस्तो भिसामा लगेर यूएई, बहराइन, कुवेत, साउदी र ओमान जस्ता देशमा घरेलु कामदारका रुपमा लगाउने गरेको पनि विगतका घटनाहरुबाट देखिएका छन् । अन्य देशमा जान पनि यी देशलाई गिरोहले प्रयोग गर्ने गरेको पाइएको छ ।

‘हामीले स्वघोषणा गर्न लगाएको अर्थ भनेको तिमी आफैं जिम्मेवार हुनुपर्छ है भनेर हो’, महानिर्देशक तामाङले भने ।

एक वर्षमा २ लाखभन्दा बढी नेपाली भिजिट तथा पर्यटक भिसामा १५६ देश पुगे

अध्यागमन विभागले सन् २०२३ मा २ लाखभन्दा बढी नेपाली १५६ देशमा भिजिट तथा पर्यटक भिसामा पुगेको जनाएको छ ।

विभागले हालै जारी गरेको तथ्यांकअनुसार ७३ हजार ५७५ महिला, एक लाख ३० हजार ९२६ पुरुष र १७ अन्यसहित २ लाख ४ हजार ५१८ जना नेपाली पछिल्ला १२ महिनामा यी भिसामा विदेश पुगेका हुन् ।

विभागको तथ्यांकअनुसार सबैभन्दा बढी भारत र यूएईमा नेपाली भिजिट तथा पर्यटक भिसामा पुगेका छन् । त्यस अवधिमा भारतमा ७१ हजार ६९८ र यूएईमा ५५ हजार ६१८ जना नेपाली उक्त भिसामा पुगेका छन् ।

तेस्रोमा थाइल्यान्ड रहेको छ । थाइल्यान्डमा २१ हजार २६० नेपाली पछिल्लो १२ महिनामा भिजिट तथा पर्यटक भिसामा पुगेका छन् । अस्ट्रेलियामा ५ हजार ८०१ र अमेरिकामा ४ हजार १५ जना भिजिट तथा पर्यटक भिसामा नेपाली पुगेका छन् ।

साउदी अरबमा एक हजार ८१४, कतारमा एक हजार ९७४, ओमानमा २ हजार ४९६ नेपाली उक्त भिसामा पुगेको विभागको तथ्यांक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर