विज्ञसँग साथ खोज्दै प्रधानमन्त्रीले भने- विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु – Nepal Press

विज्ञसँग साथ खोज्दै प्रधानमन्त्रीले भने- विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताएका छन् ।

शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका विज्ञसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले विश्वविद्यालयलाई राजनीतिक भागबन्डाको थलो बन्न नदिन खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न लागिएको स्पष्ट पारे ।

‘देश बनाउन सबभन्दा ‘बेष्ट ब्रेन’ केन्द्रित हुनुपर्छ, विश्वविद्यालयलाई राजनीतिक भागबन्डाको थलो बनाउनु हुँदैन भनेर विगतको परम्परामा ‘ब्रेक थ्रु’ गर्न लागिएको छ, यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरिएको छ’, प्रधानमन्त्री दाहालले भने ।

उनले आफू प्रधानमन्त्री भएदेखि नै उज्यालो र समुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा अनवरत काम गरिरहेको उल्लेख गर्दै आमजनतालाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले यसमा बौद्धिक समुदायको पनि महत्वपूर्ण भूमिका रहने बताए ।

‘देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको हो’, उनले भने, ‘अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा रुपान्तरणको खाँचो छ । यसका लागि राज्यका साथै सबैले जिम्मेवारी लिनुपर्छ ।’

छलफलमा डा. केदारभक्त माथेमा, डा. पीताम्बर शर्मा, डा. विद्यानाथ कोइराला, डा. चैतन्य मिश्र, प्रा. कृष्ण खनालसहित प्रबुद्ध व्यक्तित्व सहभागी थिए ।

उनीहरुले हालै विश्वविद्यालयमा भागबन्डा नगर्ने र ‘मेरिटोक्रेसी’बाट उपकुलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको बताएका थिए । उनीहरुले समग्र शिक्षा क्षेत्रसहित विश्वविद्यालयको पुनर्संरचना गर्नेगरी सुधार थाल्न सुझाव दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर