नेपाली प्रतियोगी लोयाङ शेर्पाले जिते जर्जियाको ‘वर्ल्ड राइजिङ स्टार २०२४’को उपाधि – Nepal Press

नेपाली प्रतियोगी लोयाङ शेर्पाले जिते जर्जियाको ‘वर्ल्ड राइजिङ स्टार २०२४’को उपाधि

काठमाडौं । जर्जियामा भएको बालबालिकाको प्रतियोगिता ‘वर्ल्ड राइजिङ स्टार २०२४’मा नेपाली प्रतियोगी लोयाङ शेर्पाले शीर्ष उपाधि जितेका छन् । कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै शीर्ष उपाधि जितेका हुन् ।

प्रतियोगिताको ट्यालेन्ट राउन्डमा ‘रेशम फिरिरी’ बोलको गीत गाएका उनले विधातर्फ ‘ट्यालेन्ट राउन्ड’को अवार्ड पनि आफ्नो नाममा पारेका छन् ।

त्यसैगरी प्रतियोगितामा सहभागी एन्जलबाबु कट्टेलले ‘ट्यालेन्ट अवार्ड’ र सनिस्ता रेग्मीले ‘युरोसिया’ अवार्ड जितेका छन् ।

उनीहरु प्रतियोगितामा सहभागी भई मंगलबार बिहान काठमाडौं फर्किएका छन् । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लोयाङले शीर्ष उपाधि जित्दा खुशी लागेको बताए ।

‘मैले धेरै ठाउँहरुको स्टेजमा उपस्थिति जनाइसकेको छु । त्यसकारण जर्जियाको प्रतियोगितामा स्टेजमा उभिँदा डर लागेन । शीर्ष उपाधि जित्छु भन्नेमा म ढुक्क थिएँ’, उनले भने ।

शेर्पाले प्रतियोगिताको ‘कल्चरल राउण्ड’मा शेर्पा जातिको पोसाक ‘बख्खु’ लगाएका थिए । उनले आफूले त्यहाँ धेरै साथीहरु बनाएको र उनीहरुलाई नेपाल आउन निम्तो पनि दिएको खुलाए ।

लोयाङका पिता जाङ्बु शेर्पाले प्रतियोगिताको शीर्ष उपाधि छोराले नै जित्छ भन्नेबारे नसोचेको बताए ।

‘सानोदेखि नै नृत्य र गायनमा चासो राख्थ्यो । धेरै स्टेज कार्यक्रममा नाचेर र गीत गाएर पुरस्कार पनि जितेको थियो । तर, अन्तर्राष्ट्रिय प्रतियोगितामा नै शीर्ष उपाधि जित्दा मेरो खुशीको सीमा छैन’, उनले भने ।

प्रतियोगितामा ‘वर्ल्ड राइजिङ स्टार २०२३’ का विजेता प्रसुनजंग पोखरेल विशेष अतिथिका रुपमा गएका थिए । उनले यस पटक पनि नेपालले शीर्ष उपाधि ल्याउँदा खुशी लागेको बताए ।

प्रतियोगीलाई जर्जिया पठाउने व्यवस्थापन गरेकी ‘परिवर्तन इभेन्ट हाउस’की प्रमुख सोनिया जीआरले पनि लोयाङ शेर्पाले प्रतियोगितामा शीर्षसहित विधागत अवार्ड जितेकोमा आफूलाई गौरव लागेको जनाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर