एलिनाको तीतो अनुभूति- महोत्सवका आयोजकले कलाकारमाथि रवाफ जमाउन खोज्छन् – Nepal Press

एलिनाको तीतो अनुभूति- महोत्सवका आयोजकले कलाकारमाथि रवाफ जमाउन खोज्छन्

गलामा माला लगाएका स्वयमसेवकले फोटो खिच्ने बहानामा अंगालो मार्न खोजेपछि एलिनाले थर्काइन्

काठमाडौं । अहिले स्टेज शोहरुमा सर्वाधिक व्यस्त कलाकारहरुको नाम लिनुपर्यो भने अग्रपंतिमा आउँछिन् गायिका एलिना चौहान । ‘धोकेवाज…’ गीत भाइरल भएदेखि त उनलाई देश तथा विदेशका कार्यक्रमहरुमा भ्याइनभ्याइ नै छ ।

एलिनाको जादुमयी आवाजका पारखी लाखौं छन् । स्टेज कार्यक्रममा जाँदा उनलाई छुन, तस्बिर खिच्न तँछाडमछाड नै हुन्छ । सरल र शालिन स्वभावकी एलिना फ्यानका रुपमा नजिकिन खोज्नेहरुको सकेसम्म मन राखिदिने प्रयास गर्छिन् । तर, यदाकदा गलत नियतका मानिसहरु पनि भेटिन्छन् । जस्तो कि पछिल्ला तीन दिनमा उनले दुईवटा नमिठो अनुभुति संगालिन् ।

दुई दिनअघि उनी पोखरामा आयोजित महोत्सवमा सांगीतिक प्रस्तुति दिन गएकी थिइन् । आफ्नो गाउने पालो पर्खिरहेका बेला आयोजकमध्येका एकजना उनीसामु आए । उनले उक्त महोत्सवस्थलभन्दा केही पर आयोजना भइरहेको एउटा खेलकुदसम्बन्धी कार्यक्रममा पनि गीत गाउन एलिनालाई अह्राए ।

‘त्यहाँको कार्यक्रममा एउटा–दुईटा गीत गाएर आउ, अनि यहाँ गाउने बेला ठिक्क हुन्छ’, ती व्यक्तिको कुरा सुन्दा एलिनालाई उदेक लाग्यो । उनी यो महोत्सवमा मात्र गीत गाउनलाई आएकी थिइन् । आयोजकसँगको समझदारी त्यति मात्रै थियो । तर, सजिलैसित ‘एउटा–दुईटा’ गीत गाएर आउनु भन्दा उनले स्वीकार गरिनन् । आफू थकित अवस्थामा रहेकाले अर्को कार्यक्रममा जान नसक्ने बताइन् ।

‘म हिजो पनि रातभरि गाएर थाकेको छु । जुन कार्यक्रमका लागि आएको हुँ, त्यसमा मात्रै गाउँछु’, उनले सहजरुपमा जवाफ दिइन् ।

तर आयोजकका अरु मान्छेहरु पनि आएर उनलाई दबाब दिन थाले । एलिनाले अस्वीकार गरिन् । यत्तिकैमा एकजना चिरपरिचित दोहोरी गायक आए । उनी लोकदोहोरी प्रतिष्ठानका पदाधिकारी हुनुको साथै महोत्सवहरुमा कलाकार र आयोजकबीच मध्यस्थकर्ताको कामसमेत गर्छन् । कलाकारसँग थोरै रकममा सम्झौता गर्ने, आयोजकसँग धेरै माग्ने र बीचमा कमिसन खाने उनको धन्दा हो ।

उनले आदेश दिए, ‘त्यो प्रोग्राममा नगाउने हो भने हाम्रो प्रोग्राममा मैले रोक नभनुञ्जेल दुई घण्टासम्म गाइरहनु ।’

त्यसपछि भने एलिनालाई पनि झोंक चल्यो । हम्मेसी नरिसाउने उनी आयोजकहरुसामू बम्किइन् । जबरजस्ति नै गर्ने हो भने गीतै नगाइकन काठमाडौं फर्किने अडान लिइन् । स्टेज नै चढ्न मानिनन् । त्यसपछि आयोजकहरु हच्किए । सबैले ‘सरी’ भनेपछि मात्रै उनी स्टेज उक्लिइन् र आफ्नो प्रस्तुति दिइन् । सँधैजस्तो करिब ४५ मिनेटसम्म आफ्ना चर्चित गीतहरुमार्फत दर्शकहरुको मनोरञ्जन गराएर फर्किइन् ।

यो घटनाका सन्दर्भमा एलिनाले नेपाल प्रेससँग भनिन्, ‘हामीजस्तो नाम चलेका कलाकारमाथि त मेला÷महोत्सवका आयोजकहरुले यसरी रवाफ जमाउन खोज्छन् भने नयाँ कलाकारहरुलाई कति हेप्दा हुन् ?’
उनले भोगेको अर्को घटना बर्दियाको हो ।

स्टेजमा उनीसँग भेट्न र तस्बिर खिच्न खोज्नेहरुको घूईंचो थियो । यत्तिकैमा गलामा माला लगाएका एकजना व्यक्तिले उनलाई फोटो खिच्ने बहानामा झ्याप्पै अंगालो हाले । उनको नियत सही थिएन भन्ने एलिनाले बुझिहालिन् । ठाउँको ठाउँ उनलाई मारसँग थर्काइन् ।

ती व्यक्ति आमदर्शक नभएर उक्त कार्यक्रमका स्वयमसेवक थिए । एलिनाले तत्काल प्रतिकार गरेपछि उनी लज्जित बने । आयोजकहरुले उनलाई तानेर लगे ।

एलिना भन्छिन्, ‘यस्ता घटनाहरु मैले धेरै भोगेकी छु । भिडभाड भएको बेलामा विभिन्न बहानामा कम्मरमा हात लैजाने, अंगालो मार्ने गर्न खोज्छन् । तर, म यस्तो सहन्नँ । नयाँ कलाकारहरुसँग भने उनीहरुको प्रतिवाद गर्ने आत्मविश्वास हुँदैन । कतिपय आयोजककै मान्छेहरु यस्तो खाले हर्कतमा उत्रिन्छन् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर