१५ दिनभित्र छाउगोठ नहटाए र बालविवाह नरोके जोरायल गाउँपालिकाले कारबाही गर्ने – Nepal Press

१५ दिनभित्र छाउगोठ नहटाए र बालविवाह नरोके जोरायल गाउँपालिकाले कारबाही गर्ने

डोटी । जिल्लाको जोरायल गाउँपालिकाले छाउगोठ हटाउन र बालविवाह रोक्न वडा कार्यालयहरुलाई निर्देशन दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले पत्र लेख्दै १५ दिनभित्र छाउगोठ हटाउन भनेका छन् ।

गाउँपालिकाभित्र रहेका छाउगोठ हटाउन र बालविवाह रोक्न पटक पटक सरोकारवालाहरुबीच छलफल भएको भए पनि हालसम्म बालविवाह र छाउगोठ कायमै रहेको पत्रमा उल्लेख छ ।

पालिकाभित्रका विभिन्न ठाउँबाट छाउगोठ र बालविवाह भइरहेकोबारे जनगुनासो आइरहेको हुँदा गाउँपालिकाले ६ वटै वडा कार्यालयलाई आवश्यक पहल गर्न भन्दै पत्र पठाएको हो । पत्रमा तोकिएको अवधिभित्र छाउगोठ नहटाइएमा गाउँपालिकाले आवश्यक कारबाही गर्नेसमेत उल्लेख छ ।

सरकारले २०७६ सालमा छाउगोठ भत्काउने अभियान सञ्चालन गरेको थियो । सो अभियानका क्रममा जोरायल गाउँपालिकामा समेत केही छाउगोठ भत्काइए पनि अझै विभिन्न ठाउँमा छाउगोठ कायमै रहेको भन्दै गुनासो आउन थालेपछि गाउँपालिकाले विभिन्न सरोकारवालासँग यस विषयमा पटक पटक छलफल गर्दै आएको थियो । यति हुँदासमेत छाउगोठ भत्काउने र बालविवाह पूर्ण रुपमा नरोकिएपछि गाउँपालिकाले सबै वडालाई पत्राचार गरेको हो ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख तुलक्षी पाण्डेले गाउँपालिकाबाट १५ दिनभित्र छाउगोठ हटाउन र बालविवाह रोकथामका लागि पहल गरिदिन भन्दै पालिकाबाट ६ वटै वडालाई पत्राचार गरिएको बतायन् । सो अवधिमा छाउगोठ नहटाइए प्रहरीसमेतको सहाभागितामा गाउँपालिकाले आफैं छाउगोठ भत्काउने तयारी रहेको पाण्डेको भनाइ छ ।

छाउपडी प्रथा र बालविवाह दुइटैलाई नेपालको कानूनले फौजदारी अपराध करार गरेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १६८ (४) अनुसार महिनावारी भएका बेला छाउगोठमा राख्ने वा अन्य कुनै किसिमको भेदभाव वा अमानवीय व्यवहार गर्नेलाई तीन महिनासम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । संहिताको दफा १७३ (३) मा २० वर्ष नपुगी विवाह गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *