राप्रपा आन्दोलनका ५ एजेण्डा, सम्पादक बोलाएर अध्यक्ष लिङदेनले गरे ब्रिफिङ – Nepal Press

राप्रपा आन्दोलनका ५ एजेण्डा, सम्पादक बोलाएर अध्यक्ष लिङदेनले गरे ब्रिफिङ

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले अघि सारेका राजनीतिक एजेण्डाको बारेमा गलत ढंगले नबुझ्न र समयको माग बुझिदिन सम्पादकहरुसँग आग्रह गरेका छन् ।

काठमाडौंमा मंगलबार प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफलका क्रममा अध्यक्ष लिङदेनले आफूहरु मुलुकलाई पछि फर्काउन होइन अघि बढाउन प्रस्ट एजेण्डासहित आन्दोलनमा जान लागेको बताए ।

आन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका महामन्त्री धवलशमशेर जबरा, कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ताद्वय मोहनकुमार श्रेष्ठ र ज्ञानेन्द्र शाहीसहित सम्पादकहरुसँग छलफलमा जुटेका लिङदेनले देशको अवस्थाले अब २०८४ सम्म पर्खिने स्थिति नभएकाले आन्दोलनमा जान लागिएको बताए ।

उनले राप्रपाको आन्दोलन मुख्यतः ५ वटा एजेण्डा जनताले बुझ्ने र सुन्नेगरी हुन लागेकोसमेत बताए । उनका अनुसार राप्रपाले शान्तिपूर्ण आन्दोलनमार्फत जनतालाई परिवर्तनको पक्षमा उभिन अपिल गर्नेछ ।

आन्दोलनको एजेण्डा मुख्यतः पाँच वटा हुने उनले बताए । जसमा १) प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, २) अभिभावकीय भूमिकामा राजसंस्था, ३) सनातन हिन्दू सापेक्ष राज्य, ४) प्रदेश खारेजी र स्थानीय तह बलियो बनाउने र ५) वडादेखि केन्द्रसम्म जनप्रतिनिधिको संख्या घटाउने ।

राप्रपाको एजेण्डामा जनता सहभागी हुने दाबी गर्दै उनले विदेशीको सहयोगमा राजसंस्था फर्काउने आफूहरुको चाहना र उद्देश्य नरहेको बताए ।

अध्यक्ष लिङदेनले अहिले नेपाल भूराजनीतिक दबाबमा परेको र सत्तामा टिक्न विदेशीको समर्थन लिने प्रवृत्ति खुलेआम बढेको दाबीसमेत गरे ।

उनले विगत ३४ वर्षदेखि एउटै प्रणाली र प्रवृत्तिका नेताहरुले शासन गर्दा जनतामा निराशाबाहेक केही नदेखिएको भन्दै अब चौतर्फी संकटका संकेतहरु देखिएकाले राप्रपाले नियमित प्रक्रियाभन्दा बाहिर गएर जनतालाई आन्दोलित गर्न खोजेको बताए ।

राप्रपामा पछिल्लो समय देखिएको मतभेद सामान्य रहेको र अब विगतमा जस्तो पार्टी विभाजन नहुने दाबीसमेत लिङदेनले गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर