मधेस सरकारबाट बाहिरिँदै जनमत पार्टी, राजीनामा बुझाउँदै दुई मन्त्री – Nepal Press

मधेस सरकारबाट बाहिरिँदै जनमत पार्टी, राजीनामा बुझाउँदै दुई मन्त्री

जनकपुरधाम । मधेश सरकारबाट जनमत पार्टी बाहिरिने भएको छ । मधेश सरकारमा जनमत पार्टीको तर्फबाट महेशप्रसाद यादव शिक्षा तथा संस्कृतिमन्त्री र चन्दन सिंह श्रम तथा यातायातमन्त्री छन् ।

उनीहरुले राजीनामा लिएर प्रदेश प्रमुख कार्यालय जान लागेको जनमतका एक नेताले बताए । उनका अनुसार सरकारबाट समर्थन फिर्तासहित मन्त्री पदबाट यादव र सिंहले राजीनामा दिनेछन् ।

मधेश प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । केही दिनदेखि मधेशमा जसपा र जनमत पार्टीबीच टकरावको स्थिति सृजना भएको छ ।

माघ ३ मा मधेश स्वाभीमान दिवसको अवसरमा मुख्यमन्त्री यादवले एक वर्षे प्रगति विवरण सुनाउँदै गर्दा जनमत पार्टीले भ्रष्टाचार काण्डहरुको छानबिनको माग गर्दै प्रदर्शन गरेको थियो ।

हिजोमात्रै सप्तरीको राजविराजमा जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री सरोजकुमार यादवले मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास गर्दा विरोध प्रदर्शन गर्ने क्रममा शिक्षामन्त्री यादव र जनमतका नेता कार्यकर्ताहरुमाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।

विश्वविद्यालयको सहकुलपति शिक्षामन्त्री यादव छन् । आफूसँग समेत सहकार्य नगरी शिलान्यास गरेको उनको आरोप छ ।

सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै जनमतका अध्यक्ष डा. सीके राउत विजयी भएका थिए । तर, उपेन्द्र यादवबाट विश्वविद्यालय भवनको शिलान्यास गराएपछि जनमतका मन्त्री र नेताहरु विरोधमा उत्रिएका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र लोसपा सरकारमा सहभागी छन् । १३ सांसद भएको जनमत पार्टी सरकारबाट बाहिरिए पनि सरकारलाई कुनै असर पर्ने देखिँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर