माघ २६ गते रिलिज हुँदै ‘हात्तीछाप’, के भन्छन् कलाकारहरु ? – Nepal Press

माघ २६ गते रिलिज हुँदै ‘हात्तीछाप’, के भन्छन् कलाकारहरु ?

काठमाडौं । यही माघ २६ गते रिलिज हुने चलचित्र हो- ‘हात्तीछाप’। यतिबेला चलचित्रको टीम प्रोमोसनमा व्यस्त छ । रिलिज मिति नजिकिएकाले गर्दा चलचित्रका कलाकारहरु मिडिया अन्तरक्रिया कार्यक्रममा दौडधुप गरिरहेका छन् ।

चलचित्रका मुख्य पात्र नाायक सौगात मल्ल र नायिका उपासनासिंह ठकुरी चलचित्रलाई लिएर उत्साहित छन् । मिडिया कुराकानीका क्रममा सौगात र उपासनाले चलचित्रले दर्शकलाई २ घन्टा पूर्ण रुपमा मनोरञ्जन दिने बताए ।

चलचित्रमा सौगात मल्ल ‘बोत्तल राजा’को भूमिकामा देखिएका छन् । यो चलचित्रकै लागि सौगातले कपाल लामो पालेका थिए ।

‘हामीले राम्रो चलचित्र बनाएर दर्शकलाई मनोरञ्जन दिने कोसिस गरेका छौं । यसका लागि चलचित्रका सबै टीमको धेरै मेहनत छ । आशा छ, दर्शकले यो चलचित्रलाई मन पराउनुहुनेछ’, सौगातले भने ।

चलचित्र ‘२ नम्बरी’मा एकसाथ काम गरेपछि नायिका उपासनाले नायकद्वय दयाहाङ राई र सौगातको साथमा ‘हात्तीछाप’मा काम गरेकी छन् ।

उपासना पनि चलचित्रलाई लिएर निकै नै उत्साहित छिन् । चलचित्रले सामाजिक कथावस्तुलाई उठाएको उनको भनाइ छ ।

उपासना भन्छिन्, ‘म प्रायः चलचित्रको स्क्रिप्ट मन परेपछि मात्र काम गर्न अग्रसर हुन्छु । यस पटक पनि कथा पढ्दा मज्जा लाग्यो । त्यसमाथि दया र सौगात दाइ भएपछि चलचित्रमा यसै रमाइलो भइहाल्छ ।’

चलचित्र ‘२ नम्बरी’मा उपासना र सौगातको प्रेम देखाइएको थियो । यसपटक भने दया र उपासनाको प्रेम देखाइएको छ ।

यस विषयमा उपासना भन्छिन्, ‘यो चलचित्रमा दया दाइ र मेरो ल्वाङ गाउँको अर्गानिक प्रेमकथालाई प्रस्तुत गरिएको छ । दर्शकले दया दाइ र मेरो जोडीलाई पनि मन पराउनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु।’

चलचित्रका निर्देशक सिमोस सुनुवारसँग काम गर्न निकै सहज भएकाले नयाँ कुराहरु चलचित्रमा आफैले जोड्न पाएको सौगातले बताए ।

उनले ठट्टा गर्दै भने, ‘सिमोसजीसँग काम गर्न त एकदमै सजिलो छ । उहाँलाई यसो गरौं भन्नेबित्तिकै गर्न पाइन्छ । त्यसैले केही संवादहरु मैले आफैं थपेको छु । निकै रमाइलोसँग काम गर्‍यौं ।’

चलचित्रमा भूकम्पको कथा पनि उठाइएको उपासनाले खुलासा गरेकी छन् । उनले भनिन्, ‘हाम्रो चलचित्रले समाजमा भइरहेको घटनालाई नै प्रस्तुत गरेको छ । कतिपय कुराहरु हामीले देखेर पनि बेवास्ता गरिरहेका हुन्छौं । ती विषय चलचित्रमा छन् । चलचित्रले भूकम्पको कथालाई पनि उठान गरेको छ । समसामयिक विषयलाई रोचक तरिकाले उठान गरिएकाले हात्तीछाप विशेष छ ।’

किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रमा कलाकारहरुको लाइनअप पनि लामो छ । चलचित्रको टिजर सार्वजनिक भइसकेको छ । निर्माण पक्षले ट्रेलर पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।

मंसिरदेखि चिसिएको चलचित्रको व्यापारलाई ‘हात्तीछाप’ले तताउने अपेक्षा निर्माण टीमको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर