अयोध्या मन्दिर : धार्मिक कलेवरमा मोदीको ‘राजनीतिक परियोजना’ – Nepal Press

अयोध्या मन्दिर : धार्मिक कलेवरमा मोदीको ‘राजनीतिक परियोजना’

काठमाडौं । दशकौं लामो भारतको राम मन्दिर विवाद अब चरमोत्कर्षमा पुग्दैछ । कुनै समय मुस्लिम धर्मावलम्बीहरुको घर (मस्जिद) रहेको भारतको उत्तरी शहर अयोध्यामा हिन्दू मन्दिर (राम मन्दिर) मा हिजो प्राण प्रतिष्ठा गरियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी -जसको हिन्दू-राष्ट्रवादी सरकारले मुस्लिम र अन्य धार्मिक अल्पसंख्यकहरूमाथि दमन बढाइरहेको आरोप लाग्दै आएको छ- को प्राण प्रतिष्ठा समारोहमा मुख्य भूमिका रहेको थियो । मोदीको यस सक्रियतालाई धेरैले लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने उनको अभियानको अनौपचारिक सुरुवात भएको बताएका छन् ।

मोदी उपस्थित रहेको यो समारोहमा विपक्षी कांग्रेस पार्टीका नेताहरू भने अनुपस्थित रहे । कांग्रेसी नेताहरूले यसलाई स्पष्ट रूपमा चुनावी लाभको निम्ति अगाडि बढाइएको राजनीतिक परियोजना भनेर वर्णन गरेका छन् । त्यसैगरी, मन्दिर निर्माण नसकिइँदै नै चुनावी फाइदा हेरेर शिलान्यासमा लागेको भन्दै कतिपय पण्डितहरुले पनि मोदीको आलोचना गरिरहेका छन् ।

मन्दिर निर्माणको सम्पूर्ण काम नसकिँदै भारतको लोकसभा चुनावअघिको ठूलो काम भनी देखाउन मोदी तथा आदित्यनाथको टीमले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गराएको भनेर केही सन्त-महन्तले आलोचना गरेका हुन् । शास्त्रको उल्लंघन गर्दै आयोजना गरिएको कार्यक्रममा आफूहरु सरिक नहुने उनीहरुले बताएका थिए । हिन्दू शास्त्रले शंकराचार्यलाई हिन्दू धर्मगुरुहरुको सर्वोच्च पदमा राख्छ । धर्मप्रचारका लागि बदि शंकराचार्यले चार वटा मठ स्थापना गरेका थिए । ती चार वटै मठका शंकराचार्यहरुको तर्फबाट प्राण प्रतिष्ठामा सहभागी नहुने विज्ञप्ति जनवरी ८ मै निकालिएको थियो ।

शंकराचार्य अविमुक्तेश्वरानन्दले भनेका थिए, ‘शास्त्रको पालना गरेर प्राण प्रतिष्ठालाई पूर्णता दिने हाम्रो जिम्मेवारी हो । मन्दिर अपूरो रहेको अवस्थामा अचानक प्रतिष्ठा गर्नुपर्ने कारण देखिँदैन । हामी आशक्ति वा घृणाका कारणले नभएर शास्त्रको पालना नभएका कारण त्यहाँ नजाने भएका हौं ।’

तीन तले राम मन्दिरको निर्माणले पूर्णता भने आगामी डिसेम्बरमा मात्रै पाउनेछ । यसरी काम नै नसकिएको परियोजनामा बीचैमा आफ्नो फाइदाका लागि प्राण प्रतिष्ठा गराउँदा धर्मको अपमान हुने भन्दै पुरी र जोशी मठका शंकराचार्यहरुले मोदी सरकारबाट मूर्ख प्रयास भएको दाबी गरेका छन् । मन्दिरमा रामको भन्दा ठूलो तस्बिर (कटआउट) नरेन्द्र मोदीेको लगाइएको छ । यस विषयलाई लिएर पनि एकथरिले विरोध गरिरहेका छन् ।

जनवरी २२ लाई भारत सरकारदेखि अधिकतम हिन्दू धर्मावलम्बीहरुसम्मले विशाल राष्ट्रिय तथा धार्मिक महत्वको उत्सवको रूपमा प्रचार गरेका थिए । तर, यो घटनाले भारतको धर्मनिरपेक्षतालाई आर्यघाटमा पुर्‍याउने गैरहिन्दूहरुको विश्लेषण छ ।

‘समकालीन भारतमा धर्म र समाजको कुरामा राम मन्दिर धेरै विभाजनकारी मुद्दाहरूको वरिपरि घुम्छ’, वासिङ्गटनमा अवस्थित विल्सन सेन्टरमा रहेको साउथ एसिया संस्थाका निर्देशक माइकल कुगेलम्यान भन्छन्, ‘मन्दिरले भारतको इतिहासमा अविश्वसनीय दर्दनाक र भारी विवादित घटनाहरू लेखेको छ ।’

हिन्दूहरूका लागि अयोध्या भगवान राम (हिन्दू धर्ममा सबैभन्दा आदरणीय देवताहरूमध्ये एक) को जन्मस्थल हो । अयोध्या हिन्दू धर्मावलम्बीहरुको लागि जति पवित्र छ, त्यति नै महत्वपूर्ण मुस्लिम सम्प्रदायको लागि पनि छ । १६औं शताब्दीमा अयोध्यामा बाबरी मस्जिद निर्माण भएको थियो । यो मस्जिद शताब्दीयौंसम्म अयोध्यामै थियो । जसका कारण अयोध्या मुस्लिमहरुको लागि सम्मानित र आस्थाको स्मारक हो । यही स्मारकलाई सन् १९९२ मा हिन्दू राष्ट्रवादीको भीडले ध्वस्त पारे, जसका कारण साम्प्रदायिक दंगा भयो र हजारौं मानिसहरू मारिए ।

अयोध्या राम मन्दिर र बाबरी मस्जिदमध्ये कसको आधिकारिकस्थल भनी विगतमा लामो समयसम्म विवाद थियो । अन्ततः भारतको सर्वोच्च अदालतले सन् २०१९ मा यो स्थान हिन्दूहरुको भएको ठहर गरिदियो । भारतको सत्तारुढ भारतीय जनता पार्टीको प्रभावमा अदालतले यस्तो फैसला सुनाएको मुस्लिम समुदायको आरोप छ ।

राम मन्दिरबारे ३ सवालजवाफ

१. प्राण प्रतिष्ठाका अवसरमा आयोजित समारोहमा के के थियो ?

राम मन्दिर निर्माण भइरहेको पवित्र शहर अयोध्यामा दशौं हजार भक्तजन भेला भएका थिए । केही हिन्दू राष्ट्रवादी नेताहरूले अयोध्यालाई ‘हिन्दू भ्याटिकन’ भनेर समेत सम्बोधन गरेका थिए ।

अपेक्षाअनुसार प्राण प्रतिष्ठाको आधिकारिक संरक्षकको रूपमा मुख्य भूमिका निर्वाह गर्ने मोदीबाहेक कार्यक्रममा थुप्रै राजनीतिज्ञ, धार्मिक व्यक्तित्व, चलचित्र स्टार र सेलिब्रेटीहरूको उपस्थिति रह्यो । प्राण प्रतिष्ठाका दिन अयोध्यालगायत धेरैजसो ठाउँमा माछामासु प्रयोग वर्जित गरिएकोे थियो । सरकारी निर्णयलाई पछ्याउँदै अन्यत्रका कतिपय सरकारले समेत सार्वजनिक बिदा घोषणा गरेका थिए ।

यसरी बिदा घोषणा गर्नेमा नेपालका विभिन्न स्थानीय सरकार पनि रहेका छन् । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा दीप प्रज्ज्वलनसमेत गरिएको थियो । भारतमा स्टक मार्केटदेखि अरु थुप्रै वित्तीय निकायहरु पनि बन्द भएको भारतको एक पोर्टलले बताएको छ । भारतमा रेल्वे सेवा निःशुल्क गराइएको थियो भने कतिपय ठाउँहरुमा बिजुली काट्ने निर्णयहरु पनि गरिएको थियो ।

निर्माणाधीन राम मन्दिरको निर्माण डिसेम्बरअघि पूरा हुने छैन । तर, यी बीचमा भने विभिन्न समारोह र कार्यक्रम भने भइरहनेछन् । आयोजना हुने समारोह र कार्यक्रम अयोध्यामा मात्र सीमित रहने छैनन् । उत्सवहरू राष्ट्रव्यापी रूपमा मनाइने छन् ।

२. मोदीका लागि अयोध्या र राम मन्दिरको महत्व के हो ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि राम मन्दिरको निर्माणको विशेष महत्व छ । राम मन्दिरको पुनर्निर्माण गर्नु मोदीको सत्तारुढ भारतीय जनता पार्टीको मुख्य परियोजना हो । मोेदी कट्टर हिन्दूवादी भारतीय जनता पार्टीका नेता हुन् । अयोध्यामा राम मन्दिरको निर्माणले मोदीको विरासतलाई देशको सबैभन्दा परिणाममुखी नेताहरूमध्ये एकको रूपमा पनि जोड दिनेछ । विशेषगरी उनीहरुको लागि जसले भारतलाई धर्मनिरपेक्ष लोकतन्त्रबाट स्पष्ट रूपमा हिन्दू राष्ट्रमा रूपान्तरण गर्न चाहिरहेका छन् ।

राम मन्दिर आन्दोलन मोदीको करियरको ‘गाइडलाइन’ भएको भारतकी चर्चित पत्रकार राणा अयुब बताउँछिन् ।

‘उनको सम्पूर्ण करियर अयोध्यामा आधारित छ । उनले समयमै राम मन्दिर आन्दोलनको माध्यमबाट जनताको मनपर्ने पात्र बन्न सकिन्छ भन्ने बुझे’, अयुब भन्छिन्, ‘हिन्दू राष्ट्रवादी नेताको रूपमा मोदीको यो अन्तिम आन्दोलन हो । साथै भारतीय मुस्लिमहरुलाई दोस्रो दर्जाको नागरिकको रूपमा सिर्जना गर्ने पनि यो अन्तिम क्षण हो ।’

उनी थप भन्छिन्, ‘धेरै भारतीय मुस्लिमहरूका लागि (जो जनसंख्याको १५ प्रतिशत छन्) बाबरी मस्जिद विनाशको खुला घाउ बनेको छ । अब मस्जिदको ठाउँमा बनेको यो मन्दिरलाई सिंगो राष्ट्रले भव्य रुपमा मनाउनु भनेको उनीहरुका लागि घाउमा नून छर्किनु जस्तै हो ।’

सन् १९९० मा आफ्नो जन्मभूमि गुजरातमा स्थानीय भाजपाका नेताको रूपमा चुनिएका मोदीले बाबरी मस्जिदको ठाउँमा भगवान रामको मन्दिर निर्माणको लागि समर्थन जुटाउने उद्देश्यले धार्मिक र्‍याली आयोजना गरेका थिए । मस्जिद ध्वस्त हुनुभन्दा लगभग एक वर्षअघि सन् १९९२ जनवरीमा मोदीले राम मन्दिर पूरा नभएसम्म अयोध्या नफर्कने वाचा गरेका थिए । लगभग तीन दशकपछि मोदीले मन्दिरको शिलान्यास गरे र यसलाई ‘भारतले स्वतन्त्रता प्राप्त गरेको दिन’ बताए ।

३. यसले भारतको आगामी निर्वाचनमा कस्तो प्रभाव पार्नसक्छ ?

सन् २०२४ भारतदेखि लिएर विश्वभरका देशहरूका लागि चुनाव परिणामको वर्ष हो । भारतमा लोकप्रिय रहेका मोदीले लगातार तेस्रो कार्यकाल जित्न सक्ने जनमत सर्वेक्षणले देखाएको छ । कुगेलम्यान जस्ता विज्ञहरूले राम मन्दिर उद्घाटनलाई उनको अभियानको प्रमुख तत्वको रूपमा विश्लेषण गरेका छन् ।

‘त्यस अर्थमा उनले हिन्दू राष्ट्रवादलाई समाज कल्याणसँग जोड्दैछन् । उनका दुई एजेन्डाहरु यस चुनावमा मात्र होइन, बृहत राजनीतिमा पनि छन् । यो एक संयोजन हो, जुन उनका लागि फलदायी बनेको छ । मोदीले अयोध्यामा राम मन्दिरको निर्माणलाई छिमेकी पूर्वाधार र कल्याणकारी परियोजनाहरूको श्रृंखलासँग जोडेका छन् । तर, मन्दिरको निर्माण मोदीको अभियान रणनीतिको शक्तिशाली प्रतिविम्ब हो’, उनी भन्छन् ।

(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा)


प्रतिक्रिया

One thought on “अयोध्या मन्दिर : धार्मिक कलेवरमा मोदीको ‘राजनीतिक परियोजना’

  1. मस्जिद बन्नु अघि त्यहां राम मन्दिर थियो। सोर्हौं शताब्दीमा मुस्लिमले राम मन्दिर भत्काएर मस्जिद बनाएका हुन् । अब फेरी त्यहां राम मन्दिर बन्यो र अयोध्याले न्याय पायो। जय श्री राम !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर