धनगढीका मेयर हमालको घरमा कालो ब्यानर टाँस्ने क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे चेतावनी – Nepal Press

धनगढीका मेयर हमालको घरमा कालो ब्यानर टाँस्ने क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे चेतावनी

कैलाली । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको घरमा कालो झन्डा गाड्ने चेतावनी दिएको छ । क्रान्तिकारी युवा सङ्गठनले सोमबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले यस्तो चेतावनी दिएका हुन् ।

कैलाली संयोजक अनमोलले जारी गरेको प्रेस विज्ञप्ति वाचन गर्दै उनले आफूहरू सङ्घर्षमा उत्रिन बाध्य भएको बताए । उक्त विज्ञप्तिमा मेयरको घरमा कालो ब्यानर टाँस्नेदेखि कार्यालय समय र सम्बन्धित व्यक्तिबाहेक सवारीसाधन चलाएको पाइएमा कालोमोसो दल्नेसम्मको चेतावनी उल्लेख गरिएको छ ।

उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदासमेत समाधानतर्फ ध्यान नदिएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको उपाध्यायले पत्रकार सम्मेलनमा जानकारी गराए ।

‘धनगढी उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे मागपत्र १५ दिने अल्टिमेटमसहित हुलाकमार्फत पठाइएको र उक्त मागहरू सम्बन्धमा कुनै सुनुवाइ नभएकोले समस्याहरूको समाधानका लागि केही भएनन्’, उनले भने ।

विज्ञप्तिमा माघ १० गते वडा कार्यालयहरूमा मागपत्र बुझाउने, मेयरको घरमा कालो ब्यानर टाँस्ने, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कैलाली, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मागपत्र बुझाउने, १० गतेदेखि कार्यालय समय र सम्बन्धित व्यक्तिबाहेक सवारीसाधन चलाएको पाइएमा कालोमोसो दल्ने चेतावनी दिइएको छ ।

माघ १२ गते कार्यपालिकाका शाखाहरूमा र माघ १५ गते सम्पूर्ण शैक्षिक संस्थाहरूमा मागपत्र बुझाउने कार्यक्रम रहेको छ । २० गतेसम्म वाल पेन्टिङ गर्ने, सरकारी शैक्षिक संस्थाले १ देखि १२ सम्मको शुल्क फिर्ता गर्नुपर्ने, निजी स्वास्थ्य संस्थाहरूले राज्यले तोकेकोभन्दा बढी सेवा शुल्क हटाउनु पर्ने, वडा नम्बर ११ मा रहेको बहिरा विद्यालयमा तत्काल उचित गाँस, बास र कपासको लागि २० लाख उपमहानगरपालिकाले व्यवस्था गर्नुपर्ने माग राखिएको छ ।

क्रान्तिकारी युवा संगठन सुदूरपश्चिम प्रदेश कमिटीका संयोजक दीपेन्द्र ऐरी र इन्चार्ज भुवन रम्तेलले पनि एक विज्ञप्ति जारी गरेका थिए । प्रधानमन्त्रीलाई २० बुँदे मागपत्र पेस गरेको भन्दै प्रदेशमा माग सम्बोधनका लागि सङ्घर्षका कार्यक्रम घोषणा गरिएको जनाइएको छ ।
त्यसमा प्रदेश सरकारलाई सहकारी उद्योग खोल्न दबाब दिने, भ्रष्टाचारीहरुलाई आवश्यक कारबाही गर्ने, सार्वजनिक सवारीसाधनको दुरुपयोग गर्नेलाई कारबाही गर्ने उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर