धमाधम कालोपत्रे हुँदै सहजपुर-बोगटान-दिपायल सडक – Nepal Press

धमाधम कालोपत्रे हुँदै सहजपुर-बोगटान-दिपायल सडक

डोटी । चार दशकदेखि चुनावी मुद्दा बन्दै आएको सहजपुर-बोगटान-दिपायल सडक निर्माणले पछिल्लो समयमा गति लिएको छ । सडकको जिरो प्वाइन्ट सहजपुर र गन्तव्य स्थान दिपायल दुवैतर्फबाट कालोपत्रे भइरहेको छ ।

सडकको गन्तव्य स्थान दिपायल राजपुरदेखि केआई सिंह गाउँपालिका- ४ को वायलसम्म करिब २० किलोमिटर सडक गत आर्थिक वर्षमै कालोपत्रे भइसकेको छ । वायलदेखि बोगटान फुड्सिल गाउँपालिका- ६ को मट्घरसम्मको सडक कालेपत्रे तीव्र गतिमा भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा २७ किलोमिटर सडक कालोपत्रे भइरहेको पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्राविधिक अञ्जु कुँवरले जानकारी दिइन् ।

‘वायलदेखि केआई सिंह गाउँपालिका- ३ को बासुदेवीसम्म ७ किलोमिटर सडक कालोपत्रेको एउटा ठेक्का छ’, कुँवरले भनिन्, ‘बासुदेवीदेखि मट्घरसम्म २० किलोमिटरको अर्को ठेक्का छ ।’

दुइटै काम तीव्र गतिमा भइरहेको कुँवर बताउँछिन् । २२ करोड ७६ लाख ७५ हजार रुपैयाँ लागतमा बासुदेवीसम्मको ७ किलोमिटर सडक कालोपत्रे भइरहेको प्राविधिक कुँवरले बताइन् । सो कार्यका लागि राजेन्द्र-दुनिला जेभीसँग २०७९ साल असार २२ गते सम्झौता भएको थियो । २०८१ साल बैशाख मसान्तसम्म सम्पन्न हुनुपर्ने उक्त कार्यको हालसम्म ७५ प्रतिशत काम भइसकेको उनले बताइन् ।

उनका अनुसार प्रदेश सरकारकै ६५ करोड ७८ लाख ३७ हजार रुपैयाँ लागतमा बासुदेवीदेखि मट्घरसम्म २० किलोमिटर सडक कालोपत्रे भइरहेको छ ।

‘गत असार २२ गते राजेन्द्र-तेज-दुनिला जेभीसँग सम्झौता भई काम अघि बढिसकेको छ’, कुँवरले भनिन्, ‘हालसम्म १० प्रतिशत प्रगति भएको छ ।’

उनले यो खण्डको काम २०८३ असार मसान्तसम्म सक्नुपर्ने गरी सम्झौता भएको बताइन् ।

उता, कैलालीको सहजपुर (जिरो प्वाइन्ट) देखि बडीकेदार गाउँपालिका- ५ को अत्तरकाँडासम्म ५२ किलोमिटर सडक संघीय सरकारको कार्यक्रमअन्तर्गत कालोपत्रे भइरहेको छ । सडक कालोपत्रे कार्यको २०७५ साल फागुन ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । अढाई वर्षमा काम पूरा हुनुपर्नेमा पाँच वर्ष बित्दासमेत काम सम्पन्न भएको छैन ।

यस्तो छ सहजपुर-बोगटान दिपायल सडकको कथा

२०४३ सालमा कैलालीका पहाडी क्षेत्रका सहजपुर र निङालीसहित डोटीका साबिकका १० गाविस जोडेर दिपायल पुग्ने गरी यो सडक निर्माण सुरु भएको थियो । उक्त सडकको तत्कालीन जिल्ला विकास समिति डोटीका सभापति भरतबहादुर खड्काले शिलान्यास गरेका थिए ।

तर, काम ढिलो गतिमा अगाडि बढ्यो । २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट डोटी जिल्ला निर्वाचन क्षेत्र २ मा उम्मेदवार बनेका सिद्धराज ओझाले यही सडकलाई प्रमुख चुनावी एजेण्डा बनाए । सडककै नाराले ओझाले २०५१ र २०५६ मा चुनाव जिते । ओझा दुई पटक मन्त्री पनि भए । तर, सडक निर्माणले गति लिएन ।

त्यसपछिका निर्वाचनहरुमा पनि यो सडक उम्मेदवारहरुको मुख्य चुनावी एजेण्डा बन्दै गयो । २०६४ सालमा तत्कालीन नेकपा माओवादीका तर्फबाट संविधानसभा सदस्यमा विजयी खेम बमलाई पनि यही सडकको नारा फलिफाप भएको थियो । उनको कार्यकालमा न संविधान बन्यो न त बोगटान सडक निर्माण नै भयो ।

२०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा ५० लाख पावर बजेट हाले पनि सडक निर्माण पूरा भएन । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा यो सडक फेरि डोटी क्षेत्र नं २ का उम्मेदवारहरुको साझा र प्रमुख एजेण्डा बन्यो । नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर आलेमगरले यही एजेन्डा उठाएर कार्यकालभर जसरी पनि सडक बनाउने कसम खाए ।

२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि यो सडक चुनावी एजेन्डा बन्यो । तत्कालीन वाम गठबन्धनका उम्मेदवारहरूले यही सडकको एजेन्डा उठाए । प्रतिनिधिसभामा विजयी आलेमगर दुई पटक संघीय सरकारका मन्त्री भए भने प्रदेशसभा ‘ख’ मा विजयी उम्मेदवार त्रिलोचन भट्ट पाँच वर्षसम्म सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भए ।

सहजपुरबाट निर्माण सुरु भएको सडकले गति नलिएपछि २०५६ सालतिर दातृ निकायहरुको लगानीमा दिपायल राजपुरबाट उक्त सडक निर्माण प्रारम्भ भयो ।

२०३८ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलो पटक सहजपुरदेखि बोगटान हुँदै दिपायल जोड्ने सडकको चर्चा सुरु भएको थियो । निर्माण सुरु भएको ३५ वर्षपछि सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा २०७८ साल असोजमा ट्र्याक खोल्ने काम भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर