उपेन्द्र यादवलाई छेक्न पुगेका जनमतका कार्यकर्तामाथि प्रहरी हस्तक्षेप, मन्त्री नै घाइते – Nepal Press
मधेस कृषि विश्वविद्यालय विवाद

उपेन्द्र यादवलाई छेक्न पुगेका जनमतका कार्यकर्तामाथि प्रहरी हस्तक्षेप, मन्त्री नै घाइते

जनकपुरधाम । सप्तरीको राजविराजस्थित मधेस कृषि विश्वविद्यालय भवनको शिलान्यासमा उपेन्द्र यादवलाई रोक्न पुगेका जनमत पार्टीका मन्त्री र नेताहरू घाइते भएका छन् ।

प्रदर्शनको क्रममा प्रहरीले लाठीचार्ज गर्दा मधेसका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवलगायतका नेता-कार्यकर्ता घाइते भएका हुन् । मन्त्री यादवको टाउको फुटेको छ । यस्तै जनमतका प्रदेश सांसदहरू सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी पनि घाइते भएको जनमतका केन्द्रीय सचिव बीपी साहले जानकारी दिए ।

जनमतको अवरोधका बाबजुद जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वविद्यालय भवनको शिलान्यास गरेका छन् । शिलान्यास स्थलमा जसपा अध्यक्ष यादवलाई लग्ने बेलामै जनमतका मन्त्री र सांसदहरूमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।

विश्वविद्यालयका सहकूलपति समेत रहेका मन्त्री यादवले भवन शिलान्यास अवैधानिक रहेको दाबी गरे । प्रहरीको घेराभित्र गरिएको शिलान्यास अमान्य रहेको भन्दै सर्वदलीय बैठक बसेर पुनः शिलान्यासका गर्ने पनि बताए ।

आफ्नो पार्टीले पारेको योजनामा उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएको भन्दै सीके राउत र जनमतका नेता-कार्यकर्ताले सुरूदेखि नै विरोध गर्दै आएका छन् ।


प्रतिक्रिया

One thought on “उपेन्द्र यादवलाई छेक्न पुगेका जनमतका कार्यकर्तामाथि प्रहरी हस्तक्षेप, मन्त्री नै घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर