मुख्यमन्त्री केदार कार्कीद्वारा सय दिनको उपलब्धि सार्वजनिक – Nepal Press

मुख्यमन्त्री केदार कार्कीद्वारा सय दिनको उपलब्धि सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्री भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रदेशमा सर्वसम्मत सभामुख चयन भएको विषयलाई समेत उपलब्धि मानेका छन् । उनले भने, ‘प्रदेशमा राजनीतिक स्थिरताका लागि लामो समयदेखि नेतृत्वबिहिन बनेको प्रदेशसभामा सहमतीय संस्कार अनुसार सभामुख सर्वसम्मत निर्वाचित गरी जनताको आवाज मुखरित गराउन सफल भएका छौँ ।’

विराटनगरमा शैलजा आचार्य हृदय रोग केन्द्रको सञ्चालन, सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ पकलीमा एक सय शय्याको जलन अस्पताल निर्माणका लागि जनस्वास्थ्य सरोकार ट्रस्टसँग सम्झौता, प्रदेश सरकार मातहतका प्रादेशिक अस्पतालका साथै चार वटा निजी अस्पतालबाट १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु लगायतका विषयलाई उनले सय दिनको उपलब्धिमा राखेका छन् ।

यस्तै प्रदेशको नामकरण भएदेखि आन्दोलनरत पहिचान पक्षधरको समस्या समाधानका लागि वार्ता समिति गठन भएको विषयलाई समेत सफलताको रूपमा लिएको मुख्यमन्त्री कार्कीले बताए ।

‘अनुशासित चालक, सुरक्षित सडक’ अभियानको सुरुवात, उद्योग, व्यापारको दर्ता र नवीकरण सेवा अनलाइनबाट सुरु, मोरङको लेटाङ–बुधबारे २९.६० किलोमिटर रणनीतिक महत्वको सडक शिलान्यास गरी निर्माण काम सुरु, भूकम्पपीडितका लागि कर्णाली प्रदेश सरकारलाई एक करोड रुपैयाँ र राहत सामग्री हस्तान्तरण, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयद्वारा मोरङको विराटनगर, सुनसरीको इटहरी र झापाको सुरुङ्गा बजारमा ३ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालन लगायतका विषय उपलब्धिमा समेटिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर